ललितपुरको यूएन हाउस क्षेत्रमा ६ महिनासम्म निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक आसपासका क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

ललितपुर प्रशासनले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवास आसपास प्रदर्शन गर्न नपाउने गरी ६ महिनाका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा जारी आदेशमा मंगलबारदेखि सो निषेधाज्ञा लागू हुने बताइएको छ।

आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.३ पुल्चोक स्थित यु।एन। हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आदेशमा भनिएको छ, ’स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।

मन्त्री क्वार्टर आसपासको क्षेत्रमा यसअघि पनि निषेधाज्ञा कायम रहँदै आएकोमा यसपटक सो दायरालाई केही थपमात्र गरिएको हो ।

निषेधाज्ञा जारी भएको ठाउँमा ५ जना भन्दा बढी व्यक्ति भेला भइ नारा, जुलुश, प्रदर्शन, धर्ना, घेराउ, अनशन जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने पण्डितले निकालेको सूचनामा उल्लेख छ।

पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय र मन्त्री निवासको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरेको छ ।