जनआक्रोश व्यवस्था कि कार्यशैली ?

काठमाडौं । वंशीय शासनको अन्त्य विभिन्न किसिमका विद्रोह, राजनीतिक आन्दोलन,तत्कालीन माओवादीले गरेको १० वर्षे सशस्त्र युद्ध २०६२/०६३ को जनआन्दोलनले ग-यो।

राजतन्त्रको अन्त्य भएपनि झिनो पक्ष राजसंस्थाको वकालत भनि गरि नै रह्यो। राजसंस्था,हिन्दु राज्य र संघीयताको विपक्षमा आवाज उठेपनि निर्णायक मोड भने आउन सकेको छैन्।

राजतन्त्रको अन्त्य गर्न युद्धको नेतृत्व गर्ने प्रचण्डले सरकारको नेतृत्व गरेको बेला सडकमा मानिस फेरि व्यवस्थाविरोधी आन्दोलनमा सडकमा देखिन थालेका छन्। सरकारले प्रदर्शनमा भन्दै आएकालाई काठमाडौंको तीनकुनेबाट पक्राउ नै ग-यो।

पक्राउ गर्नुको पछाडीको कारण दुर्गा प्रसाईँ हुन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्थानीय स्तरमा अशान्ति फैलिने शंकापछि प्रदर्शनमा रोक लगाएको र शान्ति स्थापनामा तल्लिन रहेको जवाफ नै दियो भने, गैरकानूनी हर्कत चल्न नदिने चेतावनी नै दिएको छ।

प्रसाईले बल्खु प्रदर्शनमा दिएको उत्तेजक र हिंसात्मक अभिव्यक्तिलाई सरकारले गम्भीरतापूर्वक लिएको देखिन्छ। जसका कारण सरकारले धरपकड शुरु गरेको छ। तर, बाटोमा हिड्ने सर्वसाधारणलाई समेत धरकड गरेर सरकारले अनावश्यक त्रास भने फैलाइरहेको आक्षेप पनि लाग्न थालेको छ।

सडकमा निस्किएका सर्वसाधारणमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लागिरहेको छ भने, प्रसाईँको घरमा प्रहरीले पहरा दिएइहेको भन्दै सर्वोच्चमा बन्दिप्रत्यक्षिकरणको मुद्दा नै दायर भएको छ।

यसरी चलिरहेको प्रदर्शनमा निराशा, बैंक तथा वित्तिय संस्थाको ऋण मिनाहको आश्वासन, राजावादी र अन्य विषयले काम गरेको कतिपयको विश्लेषण छ। तर, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भने व्यवस्था भन्दा पनि नेतृत्वको कार्यशैलीविरुद्धको आक्रोश सडकमा देखिएको दाबी गर्छन्।

सरकार व्यवस्थाविरोधी प्रदर्शनलाई दबाउने रणनीतिमा देखिएपनि प्रदर्शन भने विभिन्न तरिकाले भइ नै रहेका छन्।

राजतन्त्रको माग बलियो हुने देखेरै प्रसाईँ पछिल्लो समय त्यता केन्द्रित बनेपछि क्रोधमा रहेका एमाले अध्यक्ष केपी ओलीले राजतन्त्र र राजाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

राजसंस्था जनताले काम नलाग्ने भनेर फालिसकेको र मरेको प्रेत भइसकेको ओलीको टिप्पणी छ। १८ वर्षमा प्रवेश गरेको गणतन्त्रमाथि अनेक प्रश्न उठिरहेको बेला व्यवस्था सुदृढीकरणको सट्टा मौलाएको भ्रष्टाचार, कुशासन, सत्ताको दुरुपयोगदेखि सबैखाले अराजकताले प्रशय पाउँदा समस्या थप बल्झिन पुगेको छ।

रोग, भोग, गरिबी, अशिक्षा र अनास्थालाई पार लगाउने योजना सार्वजनिक नगरेसम्म यस्ता विद्रोह रोकिने भने देखिन्नन्।