मार्क्सद्वारा द्वन्द्वात्मक भौतिकवादको विकास

कार्ल मार्क्स (१८१८- १८८३ ) वैज्ञानिक साम्यवादका सिध्दान्तकार हुनुहुन्छ । र ,भौतिकवादी दार्शनिक हुनुहुन्छ । द्वन्द्वात्मक भौतिकवादको सिध्दान्त कार्ल मार्क्सवादीको सम्पूर्ण चिन्तनको केन्द्रविन्दु हो । मार्क्सले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई आफ्नो सिध्दान्तको आधार बनाउनु भएको छ।

मार्क्सका दार्शनिक विचारहरु द्वन्द्वात्मक भौतिकवादमा आधारित छन् । मार्क्सले आफ्ना सबैभन्दा दार्शनिक विचारहरुलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा आधारित बनाएका छन् र यही दृष्टिकोणबाट उहाँले संसार , यसको विकास तथा विकासको गतिलाई निर्धारण गर्ने तत्व र नियमहरु पनि पत्ता लगाउनु भएको छ।

उहाँको यो दृष्टिकोणका केही विशेषताहरु पनि छन्। सबैभन्दा महत्त्वपूर्ण विशेषता के हो भने संसार भौतिक मात्र होइन , द्वन्द्वात्मक प्रणालीबाट विकसित भएको हो । त्यसैले यसलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । द्वन्द्वात्मकता यसको विकासमा सक्रिय सिध्दान्त हो। 

के हो द्वन्द्वात्मक भौतिकवाद ? 
 
द्वन्द्वात्मक पध्दति मार्क्सको आधारभूत सिध्दान्त होइन । यो हेगेलको दर्शनबाट शुरु भएको हो ।हेगेल एक आदर्शवादी जर्मन दार्शनिक थिए ।उनलेे द्वन्द्वात्मक विकासको सिध्दान्त स्थापित गरि विश्वासलाई केन्द्रमा  राखेका थिए।
   
द्वन्द्वात्मक शब्द ( Dialecties ) को नेपाली अनुवाद हो।यसको अर्थ हो – वाद- विवाद ( तर्क ) गर्नु ,तर यहाँ यसको अर्थ विरोधाभास ( अन्तर्विरोध ) हो ,सबै कुरा अन्तर्विरोधको परिणाम हो। भौतिक संसारमा हरेक वस्तुले जीवनको लागि  अन्य धेरै तत्वहरुसंग संघर्ष गर्दछ , यो द्वन्द्वावाद हो । हेगेलले द्वन्द्वात्मक विधिबाट विकास कसरी हुन्छ भन्ने व्याख्या गरेका छन् ।
 
यो वाद ( Thesis ) , प्रतिवाद ( Antithesis) र संवाद ( Synthesis) को रुपमा आन्तरिक विरोधद्वारा शासित हुन्छ । प्रत्येक विचार ( वाद, तर्क ) मा अन्तर्विरोध हुन्छ र यो अपूर्ण पनि हुन्छ।
 
त्यस कारण  स्वाभाविक रुपले विरोधी विचार ( प्रतिवाद ) उत्पन्न हुन्छ र अन्तमा यी दुईबाट सत्य ( संवाद) निस्कन्छ । तर यो क्रम यहीँ रोकिदैन ,वाद र प्रतिवादबाट निस्कने संवाद फेरि थप विकासको लागि वाद बन्दछ र फेरि त्यही प्रक्रिया शुरु हुन्छ । यो  क्रम  निरन्तर चलिरहन्छ ।
     
इतिहासको प्रगति द्वन्द्वात्मक विधिबाट हुन्छ भन्ने हेगेलको कुरासंग मार्क्स पूर्णरूपमा सहमत हुनुहुन्थ्यो  तर विकास वा  प्रगतिको मूल तत्वको रुपमा विचार ( चेतना ) ले नियमक तत्वको रुपमा काम गर्छ भन्ने कुरा स्वीकार गर्ने मार्क्स तयार हुनुहुन्थ्यो । मार्क्सका अनुसार वास्तवमा विकासको मूल तत्व  विचार होइन , अपितु पदार्थ हो । मार्क्सले भन्नुभएको छ , ” हामी आत्मा ( चेतना ) वा विचारलाई प्रत्येक्ष देख्न सक्तैनौं।
 
यसको विपरीत हामी भौतिक पदार्थ देख्न सक्छौ , त्यसैले तिनीहरू  हाम्रो लागि अनन्त सत्य हुन् । यसरी मार्क्सले हेगेलको द्वन्द्वात्मक आध्ययत्मिक (  Dialectical Spiritualism ) को स्थानमा द्वन्द्वात्मक भौतिकवाद ( Dialectical  meterialism ) लाई आफ्नो दर्शनको आधार बनाउनु भयो ।
 
हेगेलको सिध्दान्तलाई झूटो र असत्य सावित गर्दै र त्यसबाट आफ्नो प्रक्रियालाई छुट्याएर मार्क्सले पुँजीको दोस्रो जर्मन संस्करणको परिशिष्टमा लेख्नुभएको छ ,मेरो द्वन्द्वात्मक विधि हेगेलको विधि भन्दा फरक मात्र होइन , त्यसको ठिक विपरीत छ।
 
हेगेलका लागि मानव मनको जीवन – प्रक्रिया अर्थात् सोच्ने प्रक्रिया , जसलाई उनलेे ” विचार ” को बाह्य , इन्द्रियग्राह्य रुपमा मात्र हो ।
 
यसको विपरीत , मेरो लागि विचार मानव मस्तिष्कमा प्रतिविम्बित र चिन्तनको रुपमा परिवर्तित भौतिक संसार भन्दा बढी केही होइन। मार्क्सले थप लेख्नुभएको छ , ” हेगेलको द्वन्द्ववाद आफ्नो टाउकोको भरमा उभिएको छ।
 
मार्क्सले टाउकोको भरमा उभिएको द्वन्द्ववादलाई पल्टाएर खुट्टाको भरमा उभिएको बनाउनु भएको हो। लेनिनले द्वन्द्वात्मक भौतिकवादलाई विकासको सिध्दान्त मान्नु भएको छ । यसलाई गतिको सिध्दान्त पनि भन्न सकिन्छ। 
       
यसरी मार्क्सले द्वन्द्वात्मक भौतिकवादको विकासले दार्शनिक फाँटमा ठूलो क्रान्ति ल्यायो । यसैक्रममा मार्क्सले समाज विकासका नियमहरु पत्ता लगाउनु भयो र समाज विकासको ऐतिहासिक भौतिकवादी अवधारणा अगाडि सार्नु भयो। र , राज्यसत्ता , वर्गीय अधिनायकत्व , सर्वहारा वर्गको मुक्तिको एक मात्र बाटोको रुपमा सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको सिध्दान्त आविस्कार गर्नुभयो।
 
यसरी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण बन्न पुग्यो। मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यस दर्शनको सिध्दान्त भौतिकवाद हो भने पध्दति द्वन्द्ववाद हो ।