गृह मन्त्रालयले कारागारमा विपश्यना ध्यान शिविर चलाउने

काठमाडौं । गृह मन्त्रालयले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ । विपश्यना ध्यान शिविर ललितपुरको नख्खु कारागारबाट सुरु हुनेछ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठको सचिवालयले पठाएको प्रेस नोटमा लेखिएको छ, ‘एक महिना भित्रै नख्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिनेछ ।

गृह मन्त्रालयका अनुसार नेपालमा केन्द्रीय कारागारसहित ७४ वटा कारागारहरु छन् । ती सबै कारागारहरुमा नेपाल विपश्यना केन्द्रको व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । धर्मसेवक सुशील शाहका अनुसार एक पटकमा ६०–७० जनाले विपश्यना ध्यान गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइनेछ ।

यसअघि गृह मन्त्रालयले अधिकृतदेखि माथिका कर्मचारीहरुलाई ध्यान विज्ञान कार्यक्रम सञ्चालन गरेको थियो। लगत्तै सबै महाशाखाहरुलाई परिपत्र गरेर बिहान १०ः१५ बजेभन्दा अगाडि अनिवार्य १५ मिनेट योगाभ्यासरध्यान गर्न मन्त्रालयले भनेको थियो । यसो गर्दा कर्मचारीहरुको कार्यक्षमता बढ्ने मन्त्रालयको विश्वास छ ।

कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने निर्णय गर्नुअघि मंगलबार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह रानाको बैठक बसेको थियो । सोही बैठकले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठको अभियानअन्तर्गत विपश्यना ध्यान शिविर सञ्चालन हुन लागेको प्रेस नोटमा उल्लेख छ।