बर्बादीतर्फ दौडिरहेको मुलुकलाई नेपाली जनताले जोगाउन सक्लान्?
-अनुसा थापा
आफ्नो जन्मथलोको माया सबैलाई हुन्छ, चाहे त्यो पशु नै किन नहोस्। खसीबोका नै भएपनि तिनीहरु आफू पालिएको ठाउँ छोडेर जानुपर्दा आँखाबाट आँशु झार्छन्। तर, मानव नै भएपनि नेपाली कठ्ठर छन्। उनीहरुलाई आफ्नो मातृभूमि र जन्मथलोको अलिकति पनि माया छैन्। राजनीतिक दलहरुले देश सकाइसकें। मुलुक बर्बादीतर्फ दौडिरहेको छ। यद्यपि, कुनै राजनीतिक दलको त कुनै राजाको कार्यकर्ता भएर बसेका छन्।
सबैको नागरिकतामा नेपाली उल्लेख छ। कसैको नागरिकतामा पार्टीको कार्यकर्ता भनेर लेखिएको त छैन्। भूपू राजा ज्ञानेन्द्र, राजनीतिक दलका नेताहरु पुष्पकमल दाहाल, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत सबैले नेपाली लेखिएको नागरिकता नै लिएका छन्। जति पनि सरकारी कर्मचारी छन्, तिनले पनि नेपाली नागरिक भएकै आधारमा जागिर खाएका छन्।
यिनीहरु नेपाली हुँदा देशलाई ठूलो ‘घात’ भएको छ । नेता र सरकारी जागिरे भनाउँदा यिनीहरुले देश बेच्न लागे । देश सकिसक्यो भन्ने कुरा नेपाली जनतालाई थाहा छ । तर, कार्यकर्ता बनेर हिँडेकाले यो कुरा देख्दैनन् । महाबौद्ध, इन्द्रचोकमा भारी बोकेर हिँड्नेहरु देश सकिसकेको दुःखेसो पोख्छन्। देशलाई तहसनहस बनाएको भन्दै उनीहरु भक्कानिन्छन् । कार्यकर्ता र सरकारी जागिरेलाई त के छ ? जति चुप लाग्यो, त्यति खान पाइने।
देश लुट्न पाइने। श्रीलंकाको अवस्था सबैले देख्यौं। त्यहाँ आर्थिक मन्दी भएपछि सबै जनता सडकमा ओइरिए। कोही पनि पार्टीको कार्यकर्ता भएर बसेनन्। राष्ट्रपतिलगायतका उच्च पदस्थलाई देशबाट लखेटें। आज श्रीलंका माथि उठ्दै छ। श्रीलंकाका लागि आर्थिक मन्दी परिवर्तन बन्यो। नेपालको अवस्था नाजुक बनिसकेको छ। तर, कोही चुइक्क बोल्दैनन्।
मंसिर ७ गते एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ सडकमा आयो। युवासंघको एजेण्डा मँहगी, भ्रष्टाचार, बेतिथि थियो। तर, आन्दोलनमा आम नागरिक सहभागी भएनन्। किन कि महेश बस्नेत आफैं भ्रष्टाचारी हो। भ्रष्टाचारीले भ्रष्टाचारको विरोधमा बोल्न सक्छ ? उनको चर्चामा आउने यो ‘स्टण्टबाजी’ सबैले बुझेका थिए। दुर्गा प्रसाईंले आन्दोलनको आह्वान गरे।
उनले शुरुमा उठाएका विषयहरु ठिकै थियो। सबैले उनको आन्दोलनले केही परिवर्तन ल्याउला, राज्यको आँखा खुल्ला भनेर सोचेका थिए। तर, अन्तिममा उनी पनि पूर्वराजा ज्ञानेन्द्रको झोले बनिदिए। उनको आन्दोलनको आगो सल्किन नपाउँदै निभ्यो। यहाँ सबै जना आफ्नो फाइदा हेर्ने मात्रै हुन् । जता फाइदा हुन्छ, त्यतै ढल्किन्छन्। देशमा यत्रा बुद्धिजीवी छन्।
नागरिक समाज छ, उपभोक्तावादीहरु छन्। आफूलाई राष्ट्रप्रेमी भन्दै हिँड्नेहरु यहाँ असख्य छन्। तिनीहरु अहिले कहाँ छन् ? किन केही बोल्दैनन् ? वास्तवमा भन्ने हो भने, नागरिक समाज, उपभोक्तावादी, राष्ट्रप्रेमी भनिएकाहरु पनि राजनीतिक पार्टीका झोले हुन्। देश कुन अवस्था छ ? आम सर्वसाधारण कति पीडामा छन् ? कसैलाई थाहा छ। माइतीघर मण्डलामा दिनहुँ आन्दोलन भइरहन्छ।
मीटरब्याज पीडितदेखि लिएर सहकारी पीडित माइतीघर मण्डलामा अनशन बसे । राष्ट्रपतिले आममाफी दिएका ‘हत्यारा’ लाई पुनः थुनामा पठाउन माग गर्दै माइतीघरमा धर्ना दिए। डाक्टर गोविन्द केसी पनि पटकपटक अनशन बसे। तर, देशको लागि अनशन बस्नेचाँहि कोही भेटिएनन् । नेताहरु त आफ्नो व्यक्तिगत स्वार्थको पछाडि लागे भने जनताको हकमा पनि त्यही नै छ।
देश बेच्न पाइँदैन् भनेर किन कोही बोल्दैनन् ? विदेशी ऋण २७ खर्ब रुपैयाँ नाघिसकेको छ। एक जना नेपालीको टाउकोमा लाख रुपैयाँ ऋणको भारी छ। नपढेकालाई पनि विदेशी ऋण तिर्न नसक्नेबित्तिकै नेपाल विदेशीले लिन्छ भन्ने कुरा थाहा छ। नत्र नेपाललाई कालोसूचीमा हालिदिन्छ। २७ खर्ब ऋण कहाँ गयो ? कहीँ–कतै विकास भएको छैन्। जनताको अवस्था ज्यूँको त्यू छ।
विदेशीबाट ऋण ल्याउँदै ‘मोजमस्ती’ गर्ने त नेता र सरकारी कर्मचारी हुन्। अहिले पनि कतिपय ठाउँमा अस्पताल पुगेको छैन्। उपचार नपाएर ज्यान फाल्नुपर्ने पीडादायी अवस्था अझैपनि छ। सरकारले यत्रो ऋण ल्याएर के गर्यो ? जनतालाई कुनै अत्तोपत्तो छैन्। खाने बेलामा नेता र सरकारी कर्मचारीले खाए, ऋण बोकिदिनुपर्नेचाँहि जनता ! जनताहरुले यसको प्रतिरोध गर्न आवश्यक भइसकेको छ।
अभिभावकले घरमा पालेको खसीबोका बेच्न लाग्यो भनेपनि बालबच्चा रुन्छन्। केही महिना पालेको खसीबोकाको त त्यति माया हुन्छ भने यो त देशको कुरा हो। नेपालीहरु यही जन्मे, हुर्के, बढें। नेताहरुले देश बेच्न लागिसकें। तैपनि सबै मौनधारण गरेर बसेका छन् । जनता कर तिर्न नसक्ने अवस्थामा पुगिसकेका छन्। राज्यको ढुकुटीमा राजश्व आउन कम भइसकेको छ।
यता, सरकारी खर्च भने बढेको बढ्यै छ। सरकार खर्च कटौती गर्दैन्, आम्दानी हेर्यो भने शून्य छ। विदेशी ऋण अब घट्ने होइन्, बढ्दै जान्छ। एकाध वर्षमा ऋण दोब्बर हुन्छ। मुलुकमा कलकारखाना, उद्योग केही छैन्। भएको पनि कमिशनका लागि बन्द गरिहालें। रोजगारी छैन्। अहिले सबै पार्टी मिसन ८४ को अभियानमा लागेका छन्। पहिलो कुरा त २०८४ सालमा नेपाल रहन्छ कि रहँदैन् ? यो हेर्नुपर्यो नि।
बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्न नसकेर नेपालीहरुले आत्महत्याको बाटो रोजिरहेका छन्। सम्बन्धविच्छेद गर्नेहरुको संख्या बढेको छ। सरकारले नेपाली जनशक्तिलाई धमाधम विदेश पठाइरहेको छ। माध्यमिक शिक्षा पूरा गरेकाहरु ३० लाख रुपैयाँ खर्च गरेर अमेरिका र अष्ट्रेलिया पुगेका छन्। अलिक कम पढलेख भएका र आर्थिक अवस्था कमजोर भएकाहरु खाडी छिरिरहेका छन्।
यहाँचाँहि कुनै भत्ता खाने छन्। कुनै पेन्सन थापेर बसेका छन्। कुनै पार्टीको झोले छन्। देश नेपाल तर नेपालीचाँहि छैनन्। देशको आर्थिक अवस्था कोहीबाट लुकेको छैन्। तैपनि लाखौं रुपैयाँ भाडा उठाउनेहरु, छोराछोरी अमेरिका, अष्ट्रेलिया भएकाहरु लाज पचाएर भत्ता लिन वडा पुग्छन् । काठमाडौंमा घर छ, तर भत्ता लिन छोड्दैनन्। सरकारले भत्ता कसरी दिइरहेको छ ? कसैलाई मतलब छैन्।
महिनैपिच्छे भत्ता र पेन्सन आए पुग्छ ? महिना पुग्नेबित्तिकै बैंक पुग्छन्, पेन्सन आएको छि कि छैन् भनेर । सरकार पनि त्यस्तै छ, ‘नालायक’। आम्दानीले थेग्न नसक्ने भएपछि खर्च कटौती गरिन्छ। घर र राष्ट्रको हकमा एउटै हो। तर, नेपाल सरकार उल्टो गतिमा हिँडेको छ। यस वर्षको दशैंमा विदेशीबाट ऋण ल्याएर भत्ता, पेन्सन र दशैं पेश्की दियो । जनप्रतिनिधि कर्मचारी हुन् ? उनीहरु जागिर खान आएको कि जनताको सेवा गर्न ?
यिनीहरु पनि तलबभत्ता खाने र सरकारी गाडी चढ्ने भए । भूपू पनि राज्यको ढुकुटी लुट्ने, बहालवाला पनि राज्यको ढुकुटी लुट्ने। अनि कहाँबाट देश उभो लाग्छ ? बुढोपाकाले भन्छन्,‘रुखमूनिको बाली कहिले फल्दैन्, ऋण लिने मान्छे कहिले उभो लाग्दैन्। यो कुरा सरकारले कहिले बुझ्ने ? ऋण लिनका लागि धितो राख्नुपर्छ । सरकारले नेपाल धितो राखेको छ।
ऋण तिर्न सकेन् भने देश त लिलामीमा चढ्छ। सरकारी कर्मचारीहरु त लाज पचेका भइहाले। उनीहरु त जागिर खान आएका। महिनैपिच्छे तलब चाहियो, तिनलाई। वडाध्यक्ष, मेयर, सांसद, भूपू राष्ट्रपति, प्रधानमन्त्रीहरुले तलब, भत्ता छोडिदिए पनि केही आर्थिक भार त कम हुन्थ्यो। जनताले आफूहरुको खर्च पूर्ति गर्न नसक्ने भएपछि यिनीहरुले आफूखुसी ऋण लिएर मनोमानी गर्न थालें।
देशका प्रधानमन्त्री पुष्पकमल दाहाल,अर्थमन्त्री प्रकाशशरण महत, गर्भनर महाप्रसाद अधिकारीले अझैपनि जनतालाई भुङ्ग्रोमा राखिरहेका छन्। राज्य सञ्चालकहरु देशको अवस्था लुकाउन लागिपरेका छन्। त्यसैले अब जनता आफैं जागरुक हुनुपर्ने बेला भएको छ।