दर्शन : दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको प्रश्न
- हस्तबहादुर केसी
विश्वमा धेरै प्रकारका दर्शनहरु छन् । दार्शनिक फाँट अन्तर्गत दार्शनिक प्रणालीभित्र विभिन्न प्रणालीहरु रहेका छन् । सबै दर्शनहरु वर्गीय पक्षधरतामा आधारित छन् । विश्व मानव समाजमा वर्गको उत्पत्तिसंगै दर्शनको उत्पत्ति भएको प्रमाणित भइसकेको छ ।
दर्शनको पक्षधरता सम्बन्धि विषय ज्यादै महत्त्वपूर्ण विषय हो । यसलाई हचुवाको भरमा र टपर्टुईयाँ ज्ञानका आधारमा निष्कर्षमा पुग्नु अज्ञानता ठहर्दछ । त्यसैले यस लेखमा दार्शनिक प्रणाली भित्र दार्शनिक पक्षधरताको विषयलाई सर्बसाधारण अध्ययताहरु समेत अध्ययन गर्न र बुझ्न सजिलो होस् भनेर सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ ।
दार्शनिक फाँट अन्तर्गत दार्शनिक प्रणाली भित्र दार्शनिक पक्षधरताको विषयलाई यसको उत्पतिको जगमै पुगेर अध्ययन गर्न , व्याख्या र विश्लेषण गर्न र संश्लेषण गर्न जरुरी हुन्छ । आफ्नो उत्पत्तिसंगै दर्शनले वर्गीय पक्षधरता कायम राख्दै आएको छ ।
जब मानव समाजमा वर्षको उत्पत्ति तबदेखि नै विभिन्न वर्गहरुलाई आफ्नो वर्गको हित गर्ने , आफ्नो वर्गको पक्षपोषण र सेवा गर्ने र निश्चित वर्गले आफ्नो वर्गीय विश्वदृष्टिकोण निर्माण गर्नका लागि दर्शनको आवश्यकता परेकाले हरेक वर्गले आफ्नो वर्गीय दृष्टिकोण , आफ्नो हितानुकूल दर्शनलाई अंगाल्ने परिस्थिति सृजना भयो , जसका कारण विश्व मानव समाजमा दर्शनको आवश्यकता पर्पो। आज ” दर्शनविनाको मानिस जराविनाको रुख ” बन्न पुग्छ । त्यसैले सबै वर्गलाई दर्शन चाहिएको छ ।
वर्गसमाजमा दर्शनले निश्चित वर्गको पक्षधरता कायम गर्दै आएको छ र विश्व मानव समाजमा वर्ग रहेसम्म दार्शनिक दृष्टिकोण रहिरनेछ र मानव समाज वैज्ञानिक साम्यवादमा पुगेपछि वर्ग र राज्यको अन्त्य संगै दर्शनको पनि अन्त्य हुनेछ । दर्शन कुनै ठाउँ विशेषको , दर्शन कुनै स्थान विशेषको हुँदैन । दर्शन वर्ग विशेषको हुन्छ । त्यसैले दर्शन वर्गीय विश्वदृष्टिकोण उपज हो ।
यहाँ दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको विषयलाई प्रमुख विषयसंग अन्तर्सम्बन्धित रहेर यो दार्शनिक आलेख लेख्ने प्रयत्न गरिएको छ। दर्शन भएको के हो ? दर्शनको जन्म कहिले भयो ? र दर्शनको विकास कसरी भयो ? आदि विषयवस्तुबाट यो आलेख लेख्न शुरु गरिएको छ। र दर्शन ज्यादै वृहत् तथा गहन विषय भएकोले सबै विषयको व्याख्या – विश्लेषण गर्न संभव नभएकोले यहाँ सम्क्षिप्त रुपमा लेख्ने प्रयास गरिएको छ ।
उत्पादन संघर्ष , वर्गसंघर्ष र वैज्ञानिक प्रयोगकोबीचबाट दर्शनको जन्म भएको हो । मानव समाजको विकासको क्रममा मातृसत्ता समाजको विघटन र पितृसत्तात्मक समाजको स्थापनासंगै दास मालिक समाजको विकासको प्रक्रियाकाबीचबाट प्राचीन युनान,भारत ,नेपाल चीनमासंगसंगैजसो दर्शन विकसित हुँदै आएको पाइन्छन् । यसरी दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो । दर्शनको शाब्दिक अर्थ – कुनै पनि वस्तुलाई हेर्ने , बुझ्ने , व्याख्या गर्ने र त्यसलाई बदल्ने साधनको नाम हो । त्यसैले दर्शनलाई मानिसको भित्री आँखा भनिन्छ ।
विश्व ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीव , जन्तु तथा वनस्पति र मानिसको जन्म र विकास कसरी भयो ? यी आफै जन्मिएका हुन् कि यिनलाई जन्माउने कुनै ईश्वर र या काल्पनिक शक्ति छ ? प्रकृति र समाजको उत्पत्ति कसरी भयो ? भविष्यमा विश्वको स्थिति के होला ? के मान्छेले प्रकृति र समाजको सम्पूर्ण ज्ञान प्राप्त सक्छ ?
के मानिसले आफ्नो ज्ञानको सहाराले व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न सक्छ ? मानव जीवनका उद्श्ये , आदर्श , कर्तब्य र मूल्य के हुन् ? यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञाशाबृतिको उपज र अभिव्यक्ति नै दर्शन हो । अर्को शब्दमा दर्शन भनेको मानिसको जीवन र जगतलाई हेर्ने ,बुझ्ने ,व्याख्या गर्ने र बदल्ने उसको दृष्टिकोण हो । त्यसैले दर्शनलाई मानिसको भित्री आँखा हो ।
तसर्थ दर्शन भनेको प्रकृति , मानव समाज एवं चिन्तनका चालक नियमहरुको अध्ययन गराएर उसको विश्वदृष्टिकोण निर्माण गर्ने साधन हो । अर्थात् दर्शन भनेको जीवन र जगतको तथा प्रकृति र मानव समाजको चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पध्दति हो । अन्त्यमा दर्शनले जीवन र जगतकाबारेमा बुझ्ने र त्यसलाा बदल्ने र तथा बदलिएको वस्तुलाई कसरी संरक्षण गर्ने भन्ने कुरा सिकाउँछ ।
दार्शनिक फाँटका क्षेत्रमा एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनलेे दर्शनलाई बुझाउने फिलोसफी शब्दको प्रयोग गरेका थिए । फिलोस ( प्रेम ) र सोफिया ( विवेक ) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्न पुग्यो , जसको अर्थ विवेक प्रेम हुन्छ ।
दर्शन शब्द संस्कृत भाषाको दृश् धातुबाट बनेको छ ।दृश् को अर्थ हेर्नु ,जाँच्नु र बुझ्नु हुन्छ । मार्क्स र एंगेल्सले यस प्रकारको दर्शनलाई ” विश्वदृष्टिकोण ” भन्नुभएको छ । दर्शनशास्त्रको पहिलो ग्रन्थ ” नासदीय सूक्त ” हो ।
अब दार्शनिक प्रणालीभित्र पर्ने दार्शनिक पक्षधरताको प्रश्नकाबारेमा प्रवेश गरौ । दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप हो । यसको अर्थ वर्गसमाजमा सामाजिक चेतनाको रुप पनि वर्गीय हुन्छ। वर्गसमाजमा हरेक वर्गले आफ्नो विचार , इच्छा , आकांक्षा , मत , संकल्प भावना एवम् आफ्ना क्रियाकलापको आौचित्य पुष्टि गर्न जरुरी हुन्छ । तसर्थ दर्शनले ठिक यसै आौचित्य पुष्टि गर्ने काम गर्दछ।
मानव समाजमा वर्गको जन्म पश्चात् वर्गसंघर्ष चल्दै आएको छ । वर्गको विलोपीकरण ,राज्यको विलोपीकरण नभएसम्म वर्गसंघर्ष जारी रहन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले यसको वैज्ञानिक रुपमा निरुपण गरिसकेको छ ।
त्यसैले दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ । यो स्वाभाविक रुपमा वैज्ञानिक नियम हो कि वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरु एक अर्कोमा टकराउँछन् र ती भिन्न भिन्न विचार र दृष्टिकोणका रुपमा प्रतिबिम्बित बन्न पुग्छन् । ती भिन्न विचारहरुको।आधारशिलामा विभिन्न दृष्टिकोणको निर्माण हुन्छ ।
दर्शनशास्त्रको मौलिक प्रश्नले स्पष्ट पारिसकेको छ कि दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र।अधिभूतवाद बीच मानव समाजमा जुन संघर्ष चल्दै आएको छ , त्यो नै यसै वर्गीय तथा वैचारिक संघर्षको प्रतिविम्बनको परिणाम हो ।
आज मुख्य गरेर यस संसारमा दुईवटा दर्शन छन् – आदर्शवाद र भौतिकवाद । आदर्शवादी दर्शनले दासमालिकहरुको अर्थात् दास युगिन राज्यव्यवस्थाको पक्षपोषण गरेको थियो ।
सामन्तवादी युगमा सामन्तवर्ग र सामन्तवादी राज्यसत्ताको पक्षपोषण गरेर आएको छ भने आजको साम्राज्यवाद र सर्वहारा वर्गबीच संघर्षको युगमा पनि पुँजीवतिवर्ग र पुँजीवादी राज्यसत्ताको पक्षधरता र पक्षपोषण गरिरहेको छ । यसको साथमा पुँजीवादलाई यान्त्रिक भौतिकवादले पनि सेवा गरिरहेको छ ।
यसको ठिक विपरीत भौतिकवादले श्रमजीवी वर्गको , काम गरिखाने जनताको र सर्वहारा वर्गको पक्षधर र पक्षपोषण गर्दछ । मार्क्सवादी दर्शन भौतिकवादी दर्शन हो र मार्क्सवादी दर्शन सर्वहारा श्रमजीवी वर्गको दर्शन हो । काम गरिखाने आम जनताको दर्शन हो । भौतिकवादी दर्शनले आफ्नो उत्पतिकालदेखि नै श्रमजीवी वर्गको पक्षधर रहेर यही वर्गकै सेवा गर्दै आएको छ ।
आजको युग चरम वर्गमा विभाजित युग हो । साथै आजको युग साम्राज्यवाद र सर्वहारा बीच भीषण वर्गसंघर्षको युग हो । लेनिन कै शब्दमा आजको युग वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेलाको युग हो ।
किनभने लेनिन कै शब्दमा साम्राज्यवाद सढेगलेको पुँजीवाद हो । मरनासन्न पुँजीवाद हो । त्यसैले साम्राज्यवादको अन्त्य अनिवार्य छ । त्यसपछि निर्माण हुने सामाजिक व्यवस्था भनेको वैज्ञानिक समाजवाद हुँदै वर्गविहिन , राज्यविहिन अति वैज्ञानिक , सुन्दर , समृद्ध साम्यवादी नौलो संसारको निर्माण हुने हो ।
यसरी मानव समाजको विकासको प्रक्रिया अन्तर्गत आजसम्म तमाम प्रकारका आदर्शवाद र भौतिकवाद तथा यान्त्रिक भौतिकवादका बीचमा जुन संघर्ष चल्दै आएको छ , त्यो तमाम प्रकारका प्रतिक्रियावादी र क्रान्तिकारी जनसमुदाय , साम्राज्यवादमा गिरिसकेको पुँजीपतिवर्ग तथा विश्व सर्वहारा वर्ग बीचको जीवन मरणको वर्गसंघर्षको प्रतिबिम्बन र परिणाम हो ।
दर्शनशास्त्रको मौलिक प्रश्नको फाँटमा पक्षधर र गैर पक्षधरका विषयमा संश्लेषण गर्दै कमरेड माओ त्सेतुङले , ” वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्षको हुने ” भन्नुभएको छ , र ” दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ ,जग वर्गसंघर्षको नै हो । त्यसपछि मात्रै दर्ताको अध्ययनको कुरा आउँछ । कसको दर्शन ? बुर्जुवा वर्गको कि सर्वहारा वर्गको ? सर्वहारा वर्गको दर्शन मार्क्सवादी दर्शन हो ।”- माओ त्सेतुङ , दुर्लभ रचनाहरु , पृष्ठ ९१ , खोजी प्रकाशन गृह , काठमाडौं ,२०६४ ।
कमरेड माओका माथिका भनाइबाट स्पष्ट हुन्छकि वर्ग समाजमा दर्शनको चरित्र वर्गीय हुन्छ । वस्तुतः वर्गीय समाजमा दर्शनको चरित्र वर्गीय हुने भएकोले आफ्नो वर्गहित , विचार र राजनीतिक उद्श्येको सेवा गर्दछ ।
कार्ल मार्क्स (१८१८ – १८८३) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा सन १८४८ फेब्रुअरी २१ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्र
जारी गरेपश्चात विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिध्दान्त मार्क्सवाद प्राप्त गर्यो । मार्क्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका , सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता हुन्।
मार्क्सवादकाबारेमा लेनिनले भन्नुभएको छ ,” मार्क्सवाद भनेको मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो। मार्क्सवादको निर्माण दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक अंगहरुको संश्लेषणबाट भएको छ ।
मार्क्सको आफ्नै दर्शन छ , त्यो हो मार्क्सवादी दर्शन । मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । मार्क्सवादी दर्शनको सिध्दान्त भौतिकवाद र यसको पध्दति द्वन्द्ववाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारा वर्गको विश्वदृष्टिकोण हो ।
आज मार्क्सवादले पहिलो चरणमा मार्क्सवादको विकास , दोस्रो चरणमा लेनिनवादको विकास र तेस्रो र नयाँ चरणमा माओवादको विकास गरिसकेको छ । यसरी आज मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइको रुपमा मार्क्सवाद -लेनिनवाद- माओवाद नै विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ ।
यसको ठिक उल्टो आदर्शवाद , यान्त्रिक भौतिकवाद लगायत दर्शनशास्त्रको फाँटमा मालेमावाद विरोधी धाराका रुपमा विकसित भएका विविध दार्शनिक धाराहरुले सबैखाले प्रतिक्रियावादी , साम्राज्यवादमा गिरिसकेको पुँजीपतिवर्गको पक्षधरता कायम राख्दै त्यही वर्गको सेवारत रहदै आएको छ भने मालेमावाद विश्व सर्वहारा वर्गको सेवा र पक्षधरता एवं पथप्रदर्शन गर्दै आएको छ ।