भूकम्पपीडितलाई भारतले २० मेट्रिक टन चामल सहयोग गर्ने
काठकाडौं। नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ। बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो।
जसअनुसार नेपालका भूकम्प प्रभावितका लागि अनुदान स्वरुप २० मेट्रिक टन गैरबासमती चामल उपलब्ध गराउने उल्लेख छ। सो चामल नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराउने महानिर्देशनालयले जनाएको छ।
भारतले नेपालसहित केही अफ्रिकी मुलुकलाई निर्यात प्रतिबन्धका बाबजुद चामल अनुदानको निर्णय गरेको हो। विश्व बजारमा सम्भावित खाद्य संकट र आफ्नो मुलुकमा हुन सक्ने चामलको मूल्यबृद्धिलाई मध्यनजर गर्दे गत असार (१४ जुलाई २०२३)मा बासमतीबाहेकको चामलको निर्यातमा रोक लगाएको थियो।
सो प्रतिबन्धात्मक अवस्थाका बाबजुद नेपालालाई भने सो चामल निर्यातको अनुमति दिइएको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ।