भ्रष्टाचार विरोधी अभियानको परिणाम देखिन सुरु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भए लगत्तै सामाजिक न्याय र सुशासनलाई लक्ष्य बनाएर काम गरिरहेको दाबी गरेका छन्।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै गर्दा विभिन्न खालका जटिलता भोग्नुपरेको बताए।
भ्रष्टाचार नियन्त्रण उपदेश दिएजस्तो सजिलो नभएको भन्दै प्रचण्डले यसका लागि दीर्घकालीन रणनीतिक सोचको विकास गर्न आवश्यक रहेको बताए।
भ्रष्टाचारका कारणहरूको पहिचान गरी त्यसको निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई प्रचलित कानुन बमोजिम परिचालन गरिरहेको उनको भनाइ थियो। यसको केही सकारात्मक परिणाम समेत हासिल भएको प्रचण्डको दाबी छ।
सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानकै कारण पछिल्लो समय आम जनतामा आशाको किरण प्रवाह भएको प्रचण्डको भनाइ छ। आगामी दिनमा भ्रष्टाचार विरुद्ध थप एकताको आवश्यकता रहेको उनले औँल्याए।
सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ।