बीआरआई परियोजना नेपालमा छिटो लागु गर्न माग गर्दै सरकारको ध्यानाकर्षण

काठमाडाैं। नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ।

यस्तै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहनुपर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ। साधारणसभाको उद्घाटन गर्दै लुम्बिनीस्थित चिनिया मन्दिरका गुरु छेङ सीले नेपाल र चीनबीच सदयौंदेखि ऐतिहासिक, धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए।

उनले चीनमा ठूलो संख्यामा बौद्धमार्गी रहेकाले उनीहरुलाई नेपाल भ्रमणका लागि सहज वातावरण नेपाल सरकारले बनाउन सके नेपालको आर्थिक विकासमा सहयोग पुग्ने सुझाव दिए।

नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्न सके लाखौं चिनिया पर्यटक लुम्बिनी आउन सक्ने र त्यसबाट लुम्बिनी क्षेत्रको मात्र नभई नेपालकै पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताए।

अध्यक्ष सापकोटाले चीन नेपालको असल र सहयोगी छिमेकी मित्र राष्ट्र भएपनि नेपाल सरकारले चीनको विश्वास जितेर अपेक्षाकृत आर्थिक सहयोग र चिनिया लगानी भित्राउन चुकेको औंल्याए।

साधारणसभामा समाजका प्रथम उपाध्यक्ष गोविन्दप्रसाद रेग्मी,उपाध्यक्ष डा. ऋषिराम शर्मा,महासचिव मनिषकुमार जोशी,कोषाध्यक्ष खिमबहादुर खत्री लगायतले चिनिया नेतृत्वको जनताप्रति उत्तरदायी र दूरदर्शी सोंच तथा चिनिया जनताको अनुशासन र मेहनतले चीन विश्वकै बलियो अर्थतन्त्र भएको मुलुकमा उभिन सफल भएकाले चीनबाट नेपालले धेरै कुरा सिक्नुपर्ने धारणा राखे।