यू–१९ विश्वकपको समूह विभाजन सार्वजनिक,नेपालको पहिलो खेल न्यूजिल्याण्डसँग
काठमाडौं। यू–१९ विश्वकप क्रिकेटमा नेपाल टेष्ट मान्यताप्राप्त देशहरुसँग कठिन समूहमा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा समूह डीमा नेपालसँगै अफगानिस्तान,पाकिस्तान र न्यूजिल्याण्ड परेका छन्।
समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् भने समूह बीमा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड परेका छन्। यसैगरी समूह सीमा अष्ट्रेलिया र श्रीलंकासँगै जिम्बाब्वे र नामिबिया परेका छन्।
दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल २१ जनवरीमा न्यूजिल्याण्डसँग खेल्नेछ। २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानसँग खेल हुनेछ।
आफ्नो समूहको शीर्ष तीनमा परे नेपालले सुपर ६ मा स्थान बनाउनेछ। समूह ए र समूह डीको ६ टोलबीच सुपर ६ हुनेछ। यस्तै समूह बी र सीको पनि शीर्ष ३–३ टोलीको सुपर ६ हुनेछ। चौथो टोलीले पनि चौथो स्थानको लागि प्ले अफ खेल्न पाउने छ।