गौशाला प्रहरीकै संरक्षणमा नाइट क्विन डान्सबार लुटपाटमा,यस्तो छ सञ्चालक र प्रहरीबीचको सेटिङ्ग

काठमाडौं। काठमाडौंको गौशाला क्षेत्रमा प्रहरीकै सेटीङ र मिलोमतोमा डान्सबारहरूले खुलेआम ठगी र लुटपाट गर्न थालेका छन्। उजुरी परे पनि प्रहरीले डान्सबारलाई नै संरक्षण गर्न थालेपछि यस्तो धन्दा फस्टाएको हो।

करिब सात महिना अगाडि भारतीय ३ जना नागरीकले ३ प्याक रक्सी र ४ टुक्रा चिकनफ्राइ खाँदा पन्ध्र हजारको बिल बनाए पछी ग्राहकले असन्तुष्टि जनाउँदा उल्टै डान्सबार सञ्चालकले ग्राहकलाई रामधुलाई गरी गौशाला प्रहरीको जिम्मा लगाएका थिए।

सो समयमा लुटेरा डान्सबार सञ्चालकलाई कारबाही गर्नुको साटो प्रहरीले आर्थिक नजरना बुझेकै भरमा ग्राहकलाई हिरासतको चिसो हावासमेत खुवाएकाे स्राेतकाे दाबी छ।

त्यस्तै हालै एक भारतीय समूहलाई लुटपाट गर्ने गिरोहलाई गौशाला प्रहरीले उन्मुक्ति दिएको छ। गत १ मंसिरमा नाइट क्विन डान्सबार एण्ड रेष्टुरेन्टमा नेपाल घुम्न आएका ६ जना भारतीय लुटिएका थिए। तर, त्यसमा संलग्न डान्सबार सञ्चालक,युवती लगायतलाई उन्मुक्ति दिएर प्रहरीले एक कर्मचारीलाई मात्र मुद्दा चलाएको छ।

सो डान्सबारका सञ्चालक अमित खड्का हुन्। गौशाला क्षेत्रमा सबैभन्दा धेरै ठगी यही डान्सबारमा हुने गरेको छ। तर, उनले गौशाला वृत्तका डिएसपी केशब थेबेसँग सेटिङ मिलाएका छन्।

जसकारण किटानी जाहेरी पर्दा पनि उनले सहजै उन्मुक्ति पाएका छन् भने डान्सबारका सञ्चालक अमित खड्का स्वयंले खुलमखुल्ला गौसला प्रहरी बृतमा मेरो हालिमुहाली चल्छ भन्दै हिड्नुले बृतका डिएसपी केशब थेबेले राम्रै मासिक नजरना बुझेको प्रस्ट हुन्छ।

६ जना भारतीयको एक लाख ७५ हजार भारतीय रुपैयाँ लुटिएको घटनामा खड्काविरुद्ध समेत जाहेरी परेको थियो। गौशाला वृत्तले डान्सबारका एक कर्मचारी खेमसिंह भण्डारीलाई मात्र पक्राउ गरी मुद्दा दायर गरेको छ।

उनीहरुलाई डान्सबारमा लगेर युवतीसँग राखी बियर पिलाई लुटपाट गरिएको थियो। युवतीलाई दुर्व्यवहार गरेको मुद्दामा फसाइदिने भन्दै खाताबाटै पटक–पटक पैसा हाल्न लगाएर लुटिएको थियो। जसको प्रमाण नै भारतीयहरूले पेस गरेका छन्।

गौशाला वृत्तका एक अधिकृतका अनुसार भारतीय नागरिक पारस रामसाहुले भण्डारीसहित सञ्चालक खड्का, विपना राई, प्रतिभा चौधरी, सिद्धार्थ मगर लगायतविरुद्ध किटानी जाहेरी दिएका थिए।

उनीहरूको ठेगाना नखुलेको भन्दै गौशाला वृत्तले उन्मुक्ति दिएको हो। पक्राउ परेका भण्डारीको बयानमा पनि यसमा अरूको संलग्नता नरहेको भनेर भन्न लगाइएको छ।

‘यस्तो गम्भीर अपराधमा बयानमा समेत सेटिङ गरेर सञ्चालक र अन्यलाई उन्मुक्ति दिइएको छ,वृत्तका एक अधिकृत भन्छन्,‘जबकि सञ्चालकको ठेगाना डान्सबारको कम्पनी दर्ताको प्रमाणपत्रमै राखिएको छ।

गौशाला र चाबहिल क्षेत्रका अन्य डान्सबारमा पनि यस्तो किसिमको लुटपाट बढेको छ। डिएसपी थेबेसँगको सेटिङकै कारण यस्तो धन्दा मौलाएको स्रोत बताउँछ।