शेखर–गगन विरोधी बन्दा देउवालाई शक्ति सञ्चय गर्न सहज

काठमाडौं। नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा नेताहरु कसरत गरिरहेका छन्। नीति, सिद्धान्त र विचारअनुसार पार्टी नचलेको स्वीकारोक्त सबैको छ। तर यसको प्रतिकार कसरी गर्ने भन्नेमा नेताहरु विभाजित छन्।

यहाँसम्म कि १४ औँ महाधिवेशपछि एक भएका शेखर–गगन पक्ष नै एक हुन सकेको अवस्थामा आसन्न महासमिति बैठकमा शेखर कोइराला र गगन कुमार थापा कसरी प्रस्तुत होलान् यो चासोको विषय बनेको छ।

१४औँ महाधिवेशनपछि बलियो २ धार रहेको देखिएको नेपाली कांग्रेस साढे २ वर्षपछि महासमिति बैठकसम्म आइपुग्दा यि धारहरु फेरि अस्तव्यस्तको अवस्थामा छन्। न सभापति देउवाको नेतृत्वमा रहेका नेताहरु एकढिक्का छन्, न त गगन शेखर पक्षका।

संसदीय दलको निर्वाचनसम्म सहजताका साथ एकढिक्का रहेका शेखर कोइराला र महामन्त्री गगन कुमार थापाका बिचमा पहिलेजस्तो सुमधुर सम्बन्ध छैन।

आसन्न महासमिति बैठकमा एक भएर जानसमेत नसक्ने ठाउँमा यि २ नेता पुगिसकेका छन्। दलको निर्वाचनमा एकै ठाउँमा उभिएपनि त्यसपछि शेखर सभापति देउवानिकट बन्दै गएको महामन्त्री थापाको बुझाई छ।

यो बिचमा सम्पन्न २ वटा केन्द्रीय समिति बैठकमा दलको नेता परिवर्तन गर्ने थापाको आवाजलाई शेखरले साथ दिएनन्। नेताद्वयबिच पानी बाराबारको अवस्था देखियो।

केन्द्रदेखि जिल्लासम्म एकले अर्काको कार्यक्रम बहिस्कार गरे। हाल महासमिति बैठकमा संस्थापन विरुद्ध एक भएर जाने तयारी गरेका शेखरलाई गगनले साथ दिन खोजेका छैनन्। यसले सो समुहका नेता कार्यकर्तालाईनै निराश तुल्याएको छ।

शेखरले मंगलबारका लागि बोलाएको संस्थापन इतरको बैठकनै गगनले बहिस्कार गर्न खोजेपछि उनी केहि हच्किएका छन्। यसले शेखर गगन समुहमा औपचारीक रुपमै विभाजन आउने खतरा बढ्ने देखिन्थ्यो तर, यस्तो खड्को टार्न नेता अर्जुन नरसिंह केसी लागि परे।

नेता केसीले सोमबार दुवै नेतालाई एकठाउँ राखेर संवाद गराए। यो संवादपछि केहि सकारात्मक देखिएका शेखरले मंगलबार बोलाइएको बैठक बुधवारका लागि सारे।

थापाले पनि बैठकमा उपस्थित हुने मुड बनाए। ओइलाएको गगन शेखर समुहमा यो महासमिति बैठक अघिको यो भेलाले उनीहरुलाई कति एकजुट गर्न सक्छ, प्रतिक्षाको विषय छ। यद्यपी यो अन्यौलताले महासमिति बैठकमा पार्टीको बेथितिबारे खबरदारी नरोकिने नेताहरु बताउँछन्।

१४औँ महाधिवेशनमा नेपाली कांग्रेसले पदाधिकारी चयन गरेपनि नीति, विचार र सिद्धान्तमा बहस नै गरेन। महाधिवेशनको ६ महिनाभित्र नीति अधिवेशन गर्ने भनिएपनि साढे २ बर्षसम्म पनि गर्न नसकेपछि त्यसको सट्टामा महासमिति बैठक राख्ने निर्णय भएको थियो।

तर यो दौरानमा सभापतिको कार्यशैलीलाई सच्याउने लक्ष्य राखेको गगन शेखर समुह आफैँमा धराशायी बनेको छ। यसले पार्टीभित्र सभापति देउवा कमजोर होइन, झन बलीयो हुने भएका छन्।