किर्ते कागजातमा नेपाल वायुसेवा निगमका २ अधिकृत पक्राउ
काठमाडौं। फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ।
नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ। यसअघि वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो। वायुसेवा निगमका अधिकृतहरूले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धानले निष्कर्ष निकालेकाे छ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो।
सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ। यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।