घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो।
निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ। निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ।
चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा पर्नेछ।
डिजेल तथा मट्टितेलको लिटरको १५४ रुपैयाँ ५० पैसा पर्नेछ। यस्तै सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १६६ रुपैयाँ डिजेल तथा मट्टितेल लिटरको १५५ रुपैयाँ पर्ने आयल निगमले जनाएको छ।