यी हुन् मुक्का र जुत्ता खाने नेताहरू ?
काठमाडौं। मुलुकको नेतृत्व गरिसकेका नेताहरुमाथि अनेक प्रकारले दुब्र्यवहारका प्रयास समय समयमा भइनै रहेका छन्। यो करिब करिब परम्परागत प्रवृति जस्तै बनिसकेको छ।
समृद्धिका लागि संकल्प यात्रा’ भनी एमालेले थालेको मध्यपहाडी अभियानको क्रममा देश दौडाहामा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि विहीबार धनकुटामा चड्कन प्रहार भयो।
यो पनि यसै परम्परागत प्रवृतिकै उपज देखिन्छ । नेपालमा यस पहिले पनि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका व्यक्तिलाई यस्तो दुव्र्यवहार भइसकेका छन्।
मेची–महाकाली पदयात्रामा रहेको एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित कार्यक्रम कोशी प्रदेश पु¥याएको छ । यहिक्रममा धनकुटा पुगेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीमाथि महेश राईले थप्पड हानेका हुन्।
महेशले स्वागत गर्ने लाइनमै बसेर ओलीमाथि थप्पड वर्साएका हुन्। महेशले किन ओलीमाथि दुर्व्यवहार प्रयास गरे भन्ने खुलिसकेको छैन् । तर, विभिन्न कोणबाट यो विषयमा बहस भने हुन थालेको छ ।
ओलीले थप्पड खाएको विषय सामाजिक सञ्जालमा भाइरल बनेपनि यसअघि अहिलेका प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुले खुकुरीदेखि जुत्ताको प्रहार खाएका घटनाको चर्चा पुनः सतहमा आएको । केहि महिना अघि मात्रै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमै खुकुरी प्रहार नै गरिएको थियो।
अहिलेसम्म को–को नेतामाथि भयो प्रहार ?
राष्ट्रपति रामचन्द्र पौडेल
हालका राष्ट्रपति रामचन्द्र पौडेलमाथि संसदमै जुत्ता प्रहार भएको थियो । तत्कालीन एमाले सांसद गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्रहार गरेका थिए। सार्की त्यो बेला राष्ट्रियसभा सदस्य थिए भने पौडेलमाथि २०५१ सालमा जुत्ता प्रहार भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सार्वजनिक कार्यक्रममा प्रचण्डमाथि आक्रमण गरेका तत्कालीन माओवादी कार्यकर्ता पदम कुँवरमाथि कुटपीट समेत भएको थियो। २०६९ मंसिर २ गते कुँवरले प्रचण्डमाथि दुर्व्यवहार गरे पनि पछि कुँवरलाई प्रचण्डले नै धरौटी तिरेर हिरासतमुक्त गराइदिएका थिए।
यस्तै २०७६ फागुन १८ गते पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो। जुम्लाका २२ वर्षीय नविन तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तिरुवालाई पनि प्रचण्डले माफी दिएका थिए।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल
२०६७ सालमा एमालेको शीर्ष नेता रहेका झलनाथ खनालमाथि सुनसरीमा आयोजित कार्यक्रममा स्थानीय देवीप्रसाद रेग्मीले झापड प्रहार गरेका थिए।
टीका लगाउने विषयमा रेग्मीले खनालमाथि हातपात गरेको बताइन्छ । भने रेग्मीलाई माफी दिन खनालले अपिल गरेका थिए। यस्तै, झलनाथ खनालमाथि काठमाडौंमा पनि एक कार्यक्रममा वक्ताको रुपमा पुगेका एक युवाले तथानाम गर्दै दुर्व्यवहार प्रयास गरेका थिए।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि तत्कालीन जसपाको कार्यक्रममा पोखरामा जुत्ता प्रहार गरिएको थियो।
विद्यार्थीको कार्यक्रमलाई सम्बोधन गरिरहेका भट्टराईलाई कैलालीका ३४ वर्षीय सञ्जिव भट्टराईले कालोझण्डा देखाउनुका साथै जुत्ता प्रहार गरेका थिए।
त्यसो त सञ्जिवले प्रहार गरेको जुत्ता मञ्चसम्म भने पुगेन। त्यसपछि प्रहरी नियन्त्रणमा पुगेका उनलाई भट्टराईले ठूलो विषय नबनाउन अपिल नै गरेका थिए।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का
कांग्रेस उपसभापति समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्कामाथि पनि जुत्ता प्रहार भएको छ। एमाले सांसद समेत रहेकी कमला शर्माले पहिलो संविधानसभाको चुनावमा एमाले उम्मेदवार ऋषिराज अधिकारीको हत्या भएको र खड्काको भूमिका शंकास्पद भन्दै २०६५ जेठ १५ गते चप्पल प्रहार गरेकी थिइन्।
यसरी विभिन्न समयमा नेताहरुमाथि जुत्ता प्रहार हुनेदेखि दुर्व्यवहार हुने गरेको देखिन्छ। सामान्यतया नेताहरुमाथि यस्तो आक्रोश किन देखिन्छ भन्ने विषयमा घटनाक्रम अनुसारका जवाफ भेटिने गरेपनि यसका पछाडी मानसिक स्वास्थ्य, निराशा र आक्रोश र छिटो चर्चा कमाउन चाहने आशक्तिले नै काम गरेको दाबी गरिन्छ।
यद्यपी दुर्व्यवहारका उत्रिनु गलत भएपनि यस्ता कर्ममा संलग्नलाई दण्ड गर्नुको सट्टा नेताहरुले नै माफी गर्नुपर्ने दबाब दिनाले पनि घटना सेलाउनुको साटो बढ्ने गरेको कतिपयको विश्लेषण छ।