ठूला दलका नेताले देश बनाउँछ भनेर विश्वास गर्ने अवस्था छैन: सभापति लामिछाने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन्। शनिबार रास्वपा काठमाडौं क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको सभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरुको आँखा लागेकाले चाडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् ।

उनले मिशन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य गर्न सक्ने दावी गरे। उनले मिशन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरि निर्वाचन लड्ने जिकिर गरे। हरेक दिन एउटा एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने उनको भनाइ थियो।

त्यस्तै, उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरुले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चूनाव लड्ने आँट गर्न नसकेको जिकिर गरे। ठूला भनिएका दलहरुले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरुसँग सुशासनको एजेण्डामात्र भएको बताए।

सभापति लामिछानेले नेताहरुले आफन्तलाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने धारणा राखे।

उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे।

त्यस्तै, रास्वपा कोषध्यक्ष लिमा अधिकारीले गरिवी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताउनुभयो। उहाले बिगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आएपछि निष्पक्ष छानविन हुन नसकेको जिकिर गरे।

अधिकारीले बिभिन्न काण्ड मचाउनेहरुले राज्यमा बसेकाहरुलाई अनुचित लाभको प्रलोभन देखाएर लोकतन्त्रको खिल्ली उडाएको धारणा राखे।