१८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाए

काठमाडौं। लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन्। पौष महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन्। सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ।

हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ। त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन्। प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन्। यी दुवैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ।

व्यक्तिगत मुद्दतितर्फ एनआईसी एसियाले ब्याजदर घटाएर ८ दशमलव ६७ प्रतिशत पुर्याएको छ । एनएमबिको ब्याजदर ९ प्रतिशत, नबिल बैंकको ब्याजदर ८ दशमलव ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशत र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ९ दशमलव ५ प्रतिशत कायम भएको छ।

त्यस्तै, ग्लोबल आईएमईको ब्याजदर ८ दशमलव ६ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ब्याजदर ८ दशमलव ६०३ प्रतिशत कायम भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८ दशमलव ५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९ दशमलव ०१२ प्रतिशत, एभरेस्टको ८ प्रतिशत, नेपाल एसबीआई बैंकको ९ दशमलव ६ प्रतिशत, सिटिजन्सको ९ दशमलव ३५ प्रतिशत, कुमारीको ९ दशमलव ३१ प्रतिशत र लक्ष्मी सनराइजको ९ प्रतिशत कायम भएको छ।

त्यस्तै, सिद्धार्थ बैंकको ब्याजदर ९ दशमलव २५ प्रतिशत, प्राइमको १० प्रतिशत र माछापुच्छ्रे बैंकको ब्याजदर ९ दशमलव ६ प्रतिशत कायम भएको छ।