विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा मोर्चाको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं। समाजवादी मोर्चाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकामा आपत्ति जनाएको छ । मोर्चाका संयोजक माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गर्दै यस विषयमा मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। २०८० मंसिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

अदालतद्वारा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ।

अदालतले जारी गरेको पुर्जीमा ३५ दिनभित्र आफूसँगको सबुद प्रमाणसहित उपस्थित नभए कानुन बमोजिम हुने भनिएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष एवं मोर्चामा संयोजक नेपालले सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीनबुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेका छन्।

‘केही दिन अघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी र प्रवक्ता कमरेड प्रकाण्ड सी लगायतका नेता विरुद्ध काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेश प्रति समाजवादी मोर्चा नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको छ’ उनले भनेका छन्, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी नेपाल सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ।