छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने प्रहरीका पूर्वसई जेल चलान
कैलाली । आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा नेपाल प्रहरीका रिटायर्ड सई कारागार चलान भएका छन्। मंगलबार कैलाली जिल्ला अदालतले उनलाई पुर्पक्षका कारागार चलान गर्ने आदेश दिएको हो।
गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै अन्दाजी ५० वर्षीय रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन्।
त्यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो। उनीविरुद्ध अदालतमा जबर्जस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता भएको थियो।
काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। घर आएकी छोरीलाई उनले करणी प्रयास गरेका थिए। घटना असोज १३ गते रातिको भएपनि आफ्ना बुवाविरुद्ध छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन्।