विप्लवको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बुधवार जारी केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्म रूपमा पारित भएको नेता अनिल शर्मा विरहीले जानकारी दिए।

सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लवले ८ पृष्ठको ‘विशेष परिस्थितिको विशेष कार्यभार,दृढताका साथ पुरा गरौँ’ भन्ने शीर्षकको प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिए। जवाफ दिएसँगै सबैले उठेर ताली पड्काएर प्रतिवेदन पारित गरेका थिए।

बैठकमा नेकपाको प्रभावलाई रोक्न देशी विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरिरहेको र त्यसका लागि सशक्त प्रतिरोध गर्ने गरी प्रतिवेदन पारित भएको विरहीले जानकारी दिए।

नेकपाको बढ्दो प्रभावलाई रोक्न देशी र विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरेका छन्। त्यसका निम्ति सशक्त प्रतिरोध गर्ने योजना छ,उनले भने।

उनका अनुसार बैठकमा विप्लवले सरकारको भूमिकामाथि पनि विप्लवले प्रश्न उठाएका थिए। तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले चासो नदिएको उनको आरोप थियो। प्रतिवेदन पारित भएपछि अहिले अन्य एजेन्डाहरू छलफल भइरहेको विरहीले जानकारी दिए।