जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति
यमराज तिमिल्सिना
पौष ४ गते बुधबार राजधानीमा आयोजित एक क्रिसमस फेस्टिभलमा संस्कृति, पर्यटन तथा नागरिक उउड्डयन मन्त्री सुदन किरातीले क्रिश्चियन धर्म नमान्नेहरु संविधान विरोधी हुन् भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्ति दिदा चौतर्फी आलोचना भएपछि आफू राज्यको अभिभावक भएर सबै धर्मको उत्तिकै सम्मान हुनुपर्छ भन्ने आशयले बोलेको हुँ भनेर फेसबुक स्टाटस् र केही अन्तर्वार्तामा समेत स्पष्टीकरण दिइसकेकाछन्।
संविधानमा धर्म निरपेक्ष लेखिएको हवाला दिएर संविधानको धारा ‘२६’ को उपधारा ‘३’ विपरीत इसाईको पक्षमा बोल्दै हिन्दु धर्म मान्नेलाई देशद्रोही, आततायी र हाप्सिलो भनेर ताली खाने रहरले उत्तेजित अभिव्यक्ति दिन पुगेको कुरामा चाहिँ चुकेकै हुन्। स्वयं कुनै राजनीतिक दलको सामान्य कार्यकर्ता या कुनै धार्मिक समुहको व्यक्ति जस्तै बनेर जिम्मेवार मन्त्रीले सामाजिक सद्भाव भड्काउने काम गर्न पुगे। सुदन किराँतीको अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको उत्तेजक, गैरजिम्मेवार र पदीय गरिमा विपरीतको छ। धर्म निरपेक्ष मुलुकमा राज्यको आफ्नो धर्म हुँदैन, सबै धर्म राज्यको निम्ति समान हुन्छ, नागरिकको धार्मिक आस्थाको राज्यले सम्मान गर्छ र धर्मको नाममा कसैले पनि सामाजिक सद्भाव भड्काउन हुँदैन भन्नुको साँटो क्रिश्चियन नमान्नेलाई जेल हाल्छु भन्नु सबै धर्मलाई समान गरेको हुँ भन्ने सुहाउँदो कुरा होइन।
यस्ता अभिव्यक्तिले कुरा क्रिश्चियनको नभएर नेपालका सनातन ॐ कार परिवारको पहिचान मेट्ने पश्चिमी नाङ्गो संस्कृति थोपर्ने कुरा सँगको हो। त्यति मात्रै होइन रैथाने जातजातिको मौलिक संस्कार, संस्कृति, चालचलन, रितिरिवाज, भेषभुषा, रहनसहन मौलिकता संगै पहिचान हराउने नामेट पार्ने षडयन्त्र पनि हो। क्रीस्चियन धर्म नमान्ने देशद्रोही हुन् भनेपछि विश्वमा धर्म नै नमान्ने नास्तिकहरुको जमात पनि ठूलो छ ति नास्तिक व्यक्तिहरुलाई त संसारद्रोही पो भन्नुपर्ने होला।
कुनै पनि व्यक्तिले म धर्म मान्दिन भन्न पाइन्छ तर अरुलाई मान्नुहुदैन भन्न चाहिँ पाइदैन। अझ जिम्मेवार व्यक्तिले सबैले मान्नैपर्छ होइन भने जेल हाल्नुपर्छ भन्न त झन् हुँदैहुँदैन। देशकाे संस्कृति मन्त्रीले नै एउटा धर्मको पक्षमा बोलेर देशमा धार्मिक द्वन्द्व निम्त्याउन खाेज्नु दुर्भाग्यको कुरा हो। नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजद्वारा निर्मित मुलुक हो। त्यसको अर्थ नेपालका सबै भाषा, धर्म र संस्कृतिलाई सबैले मान्नुपर्छ भन्ने होइन। कुनै पनि भाषा, धर्म र संस्कृतिलाई मान्नु, आदर सम्मान गर्नु फरक कुरा हो। विश्वमा सबैभन्दा बढी जनसंख्याले क्रीस्चियन धर्म मान्ने भएर हामीले पनि क्रीस्चियन मान्छौ भन्ने किराँतीले पन्चानब्बे प्रतिशत भन्दा बढी सनातनी ॐ कारहरुको बाहुल्य रहेको मुलुकलाई किन हिन्दू अधिराज्य नमानेको त ? संविधानमा धर्म निरपेक्षता लेखिए तापनि नेपाल सनातनी ॐ कार परिवार हिन्दूराज्य नै हो । हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहने छ।
नेपालको भूमि तपोभूमि, योगभूमि, ऋषिभूमि, वेदभूमि, सिद्धभूमि, ज्ञानभूमि, जेष्ठभूमिका साथै प्राचीन सभ्यताको जननी हो। धार्मिक अतिक्रमण प्रतिकारयोग्य छ । ‘क्रिस्चियन मान्दिन भन्नेहरु देश द्रोही हुन्, समातेर जेल कोच्नुपर्छ भन्ने ‘पर्यटनमन्त्री सुदन किराँती कम्युनिस्ट हुन्, भौतिकवादी हुन् माक्र्सवादले धर्मको बारेमा के भन्छ भन्ने कुराको वास्तै गरेनन् । माक्र्सवादले कुनै एक धर्मको बिरोध गर्नु अथवा समर्थन गर्नु मानवजातिले मान्दै आइरहेको सम्पुर्ण धर्महरुको बिरोध गर्नु हो भन्छ ।
एउटा भनाइ छ ‘धर्म र संस्कृति बेच्नेले आफ्नै आत्मा पनि बेचेको हुन्छ।’धर्म परिवर्तन व्यक्तिगत स्वतन्त्रताको कुरा पनि आउछ। तर ख्याल् राख्नुपर्ने कुरा के हो भने धर्म परिवर्तनले व्यक्तिको इतिहास तोड्छ, उसको संस्कृती तोड्छ, समाज फोड्छ र वंशजको नाता तोड्छ। विश्व इतिहास र भूराजनीतिक ज्ञान दृष्टिकोण हेर्ने हो भने इशाइकरण नेपालको सांस्कृतिक, राजनितिक र सार्वभौमसत्ता माथिको आक्रमण हुनु हो । क्रीस्चियन धर्म नमान्दा देशद्रोही हुनुपर्ने हो भने नेपाल धर्म निरपेक्ष मात्र होइन सांस्कृतिक निरपेक्ष मुलुक बन्ने निश्चित छ।
नेपाल बहुधार्मिक देश हो तर क्रीस्चियन चाहिँ नेपालको धर्म होइन यो जबर्जस्ती लादिएको चाहिँ हो। उदाहरण हेरौं केन्द्रिय तथ्यांक विभाग २००८ मा गठन भए पश्चात आधिकारिक विवरण राख्न थालिएको हो। त्यतिबेला ‘द किङ्ग अफ द हिमालय’ का लेखक टोनि हेगनले भनेका रहेछन् ‘नेपालमा युरोपियन शैलीमा धार्मिक विवरण राख्ने चलन चलेको छ यसले भविष्यमा धार्मिक द्वन्द्व फैलाउन सक्नेछ’। टोनि हेगनले भनेका कुरा आज नेपाली समाजले भोगिरहेको छ । कहिले दशै तिहार लगायत हिन्दुले मान्दै आएका चाडपर्वलाई बहिष्कार गरौँ भनेर त कहिले गाई गोरुकाटेर खान पाउनुपर्छ भनेर विरोध भइरहेको छ । वि. सं. २००८ र २०१८ को जनगणनामा इसाईको सङ्ख्या एक पनि छैन अर्थात जिरो छ। तथ्याङ्क लिनेगरेको बीस वर्ष पछि २०२८ मा ०.०२% देखिएको छ भने वि.स. २०३८ को तथ्याङ्कअनुसार १ प्रतिशत बढेर ०.०३% पुगेको छ। त्यस्तै वि.स. २०४८ को तथ्याङ्कअनुसार ०.१७ %, र वि.स. २०५८ ०.४५%, वि. स. २०६८ १.४% हुँदै हाल २०७८ मा १.७६% पुगेको छ।
क्रिश्चियनहरूको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । धर्म निरपेक्षताको आडमा इसाई मिसिनरीहरु ग्रामीण क्षेत्रमा गएर विशेषगरी गरिब, दलित र जनजातिलाई विभिन्न प्रलोभनमा पार्दै धर्मान्तरण गराइरहेका छन्। विडम्बनाको कुरा जुन राज्यले देखे पनि नदेखे झैँ गरिरहन्छ।
र अर्को कुरा हिजो एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई दबाइएको थियो। संविधानको धारा प्रयोग गर्दै लाखौं नेपाली क्रीस्चियन भइसकेका छन्।
विश्वमा सबैभन्दा बढी क्रीस्चियन छन् हामी पनि किन नहुने भनेर संविधानकै धब्जी उडाए । एक धर्म मान्नेले अर्को धर्म मान्नेलाई दबाइएको भारत, पाकिस्तान, अफगानिस्तान, भुटानमा चाहिँ अहिले पनि छ। नेपाली इतिहास हेर्दा छिटपुट घाट बाहेक त्यस्तो कुनै प्रकारको अप्रिय घटना घटेको देखिदैन। नेपालमा राजतन्त्र हुँदा पनि गैर हिन्दुलाई रोकतोक थियो भन्नु पनि सुहाउँदो कुरा होइन। हिन्दु राजा भए पनि नेपाली सबै धर्मका संरक्षक जस्ता थिए।
मुलुक भित्र बौद्ध, किराँत, इस्लाम, इसाई धर्मावलम्वीलाई पनि आआफ्नो परम्परागत धार्मिक र सामाजिक अभ्यास गर्न कसैलाई रोकावट थिएन। बौद्ध धर्मावलम्वीहरूका सम्यक पुजामा राजाको नै पूजा हुन्थ्यो। राजदरबार अगाडी राष्ट्रको मूख्य प्रशासनकि केन्द्रमै सयौं बर्षदेखि दुई ठूला मस्जिद उभरिहनु, प्रत्येक साल मक्कामदिना जाने खर्च राज्यले नै व्यहोर्नु र राजधानीकै मुटुमा इसाई मूल्य र भावनाका स्कूल, कलेज र अस्पतालहरू सञ्चालन हुनु, राजाले नै सहयोग र समर्थन प्रदान गर्नु, सबै धर्मावलम्वीलाइ आआफ्ना जात्रा पर्वमा सरकारी बिदा दिनु र स्वयम् राजाको उपस्थितिमै शुभकामना दिइने गरिन्थ्यो।
धार्मिक सहिष्णुता र उदारताको अनुपम उदाहरण यो भन्दा अरु के हुन सक्थ्यो र ? बरु धर्म निरपेक्ष लेखेपछि जिम्मेवार पदमा रहेकाहरु नै एक अर्का धर्मप्रति विद्वेस राखेर खुलमखुला भिँड्ने/भिंडाउँने चेतावनी दिदै आएका छन्। त्यसैको उदाहरण हो मन्त्री किराँतीको अभिव्यक्ति पनि।