क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइका लागि आज (आइतबार)लाई पेसी छ। काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।

लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।

मंसिर २४ गते, आइतबार पेसी तोकिएको दिन लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगन गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगन गरिएको जनाएको थियो।

१ वर्षभन्दा बढी समयदेखि विचाराधीन उक्त मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’बाट छिनोफानो गर्न आदेश समेत दिएको छ।

यसअघि गत कात्तिक २३ गते भएको सुनुवाइमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेस गर्न आदेश दिएको थियो।