कांग्रेस नेता कार्की मानव तस्करीमा सघाउने गरेको आरोपमा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसबाट सासंदमा हारेका नेता विनोद कार्की मानव तस्करीमा सघाउने गरेको आरोपमा पक्राउ परेका छन्।
४ मंसिर २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेशसभामा मोरङ क्षेत्र नम्बर २ को (ख) बाट उम्मेद्वार भएका थिए। तर, उनलाई एमाले उम्मेदवार लिलाबल्लभ अधिकारीले पराजित गरे।

उक्त क्षेत्रमा प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सुजाता कोइराला उम्मेद्वार थिइन्। उनलाई पनि एमाले नेता ऋषिकेश पोखरेलले पराजित गरेका थिए। सुजताको आडमा प्रदेशसभा टिकट पाएका उनै कार्की एक वर्षपछि प्रहरीको फन्दामा परेका छन् ।

गत शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कांग्रेस नेता रहेका कार्कीलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा पक्राउ गरेको हो । उनी ट्राभल्स सञ्चालक समेत हुन् ।

मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोलमा सिटि टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।

भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुको शंकास्पद कागजातसहित गत असोज १७ देखि हालसम्म १ हजार ५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ।

जसमध्ये २४६ कागजातमा प्लस्टुको नक्कली सर्टिफिकेट भएको पाइएको छ। यस्तै श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट पनि नक्कली देखिएको छ।

उक्त कागजातहरु बनाउने व्यक्तिहरुको पहिचान गर्ने क्रममा एजेन्ट, कन्सलटेन्सी , ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म सेटिङ मिलाई विदेश पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सोही क्रममा कार्कीको संलग्नता खुलेपछि उनलाई बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जनाकारी दिए।

यो प्रकरणमा प्रहरीले अध्यागनका कर्मचारीसहित सेटिङमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।