प्रभात र बानियाँलाई साहित्य सङ्गम चितवनले सम्मानित गर्दै
-प्रेम प्रसाद कडेल
चितवन। प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्म जयन्तीको सन्दर्भमा साहित्य संगम चितवनले दुई जना स्रस्टालाई सम्मान गर्ने भएको छ । २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएका दुईवटा पुरस्कारबाट समीक्षक रमेश प्रभात र प्राडा कर्णबहादुर बानियाँ सम्मानित हुन लागेका हुन्।
डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८० बाट कवि, गजलकार तथा समीक्षक रमेश प्रभात पुरस्कृत हुन लागेका हुन् । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र उनको परिवारजनले स्थापना गरेका हुन् ।
यसैगरी खिमा–केशरीरमण खनाल स्मृति पुरस्कार–२०८० बाट इतिहासविद् तथा साहित्यकार प्राडा कर्णबहादुर बानियाँलाई पुरस्कृत गर्न लागिएको साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले जानकारी दिए । यो पुरस्कार साहित्यकार खनाल रेवती रमण र उनको परिवारजनले स्थापना गरेका हुन् ।
पुस १५ गते दिउँसो १ बजे नारायणी नमूना मावि भरतपुरमा कार्यक्रम आयोजना गरी स्रस्टाद्वयलाई सम्मान गरिने अध्यक्ष चापागाईंले बताए ।
सम्मानित हुन लागेका रमेश प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका उपप्राध्यापक हुन् भने कर्णबहादुर बानियाँ सेवा निवृत्त प्राध्यापक हुन्।