बालकुमारी घटनाबारे निष्पक्ष छानबिन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं । शुक्रबार दिउँसो २ जनाको ज्यान जाने गरी ललितपुरको ग्वार्को–बालकुमारी क्षेत्रमा भएको घटनाबारे निष्पक्ष रुपमा छानबिन गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।
घटनाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरकारी अधिकारीहरुलाई आफ्नो सरकारी निवास डाकेका थिए।
गृहमन्त्री श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतले घटनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरे।
ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समिति समेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका थिए।
प्रधानमन्त्री प्रचण्डले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिए। आफूले समेत घटनाको अध्ययन गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।
सन् २०२३ मा रोजगारीका लागि कोरिया जान पानीजहाज क्षेत्रमा आवेदन दिएका युवाहरुले रोजगारी अनुमति प्रणाली ९ईपीएस०को परीक्षा दिन नपाउने व्यवस्थाको विरोध गर्दै शुक्रबार दिउँसो बालकुमारी–ग्वार्को क्षेत्रमा प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा उनीहरुले सार्वजनिक सवारीका साधन तोडफोड गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरेका थिए। प्रदर्शनका क्रममा २ जना युवकको प्रहरीको गोली लागेर ज्यान गएको थियो।