काठमाडौंका पेट्रोल पम्पहरुले ४५ दिनभित्र शौचालय सञ्चालन गर्नुपर्ने
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्रका पेट्रोल पम्पहरुलाई ४५ दिनभित्र शौचालय सञ्चालन गर्नु पर्ने भएको छ।
बिहीबार काठमाडौं महानगरपालिकामा नेपाल आयल निगम,सडक विभाग,नेपाली सेना,नेपाल प्रहरी,उपत्यका ट्राफिक प्रहरी,महानगर प्रहरी बलका अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरुको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ।
समितिको सदस्यमा नेपाल आयल निगम,उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग,जिल्ला प्रशासन कार्यालय,पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि रहेका छन्।
समितिलाई पेट्रोल पम्पहरुको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।
महानगरपालिकाले गएको वैशाखमा पेट्रोलियन पदार्थ बिक्री मापदण्ड पूरा नगरेको वडा नम्बर १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो।