सत्ताधारी र विपक्षी दुवैको सिद्धान्त,‘देश धितो राखेर विदेशी ऋण ल्याऔं, मिलीजुली खाऔं !

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले विपक्षमा छ। विपक्षको दायित्व जनताको समस्या उठाउने, सरकारले गर्न थालेको कामहरु जनता र राष्ट्रको हितविपरीत भएमा खबरदार गर्ने हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार बनेको एक वर्षको अवधि कटिसकेको छ।

यो अवधिमा सरकारले जम्मा एउटा मीटरब्याजसम्बन्धी विधेयक पारित गर्यो। यसले नै प्रचण्ड सरकार असफलताको बाटोमा हिँडेको पुष्टि गर्दछ। यता, मुलुक संकटतर्फ गएको छ। हरेक क्षेत्रमा बेतिथि छ। आर्थिक मन्दीका कारण मुलुक शिथिल अवस्थामा छ। व्यापार–व्यवसाय सुस्ताएको छ।

मँहगीले आम सर्वसाधारणको ढाड सेकेको छ। बेरोजगारी प्रतिशत दिनप्रतिदिन बढिरहेको छ। नेपाल छोड्नेको लर्को दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ। भ्रष्टाचारले मुलुकलाई थिलथिलो बनाएको छ। सरकारले लक्ष्यअनुरुप राजश्व उठाउन सकिरहेको छैन्।

सरकारी खर्च धान्न नसकेर विदेशीसामु हात फैलाउनुपर्ने अवस्था छ। विदेशी ऋण निरन्तर उकालो लागिरहेको छ। केही वर्षकै अवधिमा एक जना नेपालीको थाप्लोमा एक लाख रुपैयाँ विदेशी ऋण पुग्न थालिसकेको छ। देशमा विदेशीको नाङ्गो हस्तक्षेप बढेको छ। आम सर्वसाधारण जताततै ठगिएका छन्, लुटिएका छन्।

सरकारी अड्डाहरु घुसको अखडा बनेको छ। सरकारी कर्मचारीहरु जनताको काम छोडेर विदेश सयरमा जानमै व्यस्त छन्। राज्यको ढुकुटी दोहन गर्ने कार्य व्यापक भइरहेको छ। यातायात क्षेत्रमा वर्षौंदेखि सिण्डिकेट छ। यातायात व्यवसायीहरुले बाटो कब्जा गरेर यात्रु लुटिरहेका छन्।

तैपनि सरकार निरीह भएर हेरिरहेको छ। कालो र हरियो प्लेटको ट्याक्सी, फो–स्टक टेम्पो र ढुवानी गाडीको दर्ता दशकौं देखि बन्द छ। नयाँ दर्ता नखोल्दा सिण्डिकेटधारीहरु मौलाएका छन्। २० वर्ष कटेका गाडीको स्क्रयाप गरेको नम्बर प्लेट खुलेआम बिक्री भइरहेको छ।

यातायात व्यवस्था कार्यालयहरुमा ८० हजारदेखि एक लाख रुपैयाँसम्म नम्बर प्लेट बिक्री भइरहँदासमेत सरकार केही गर्न सक्दैन्। सहकारीहरुले लाखौं बचतकर्तालाई धरधरी रुवाएको छ। एकपछि अर्को गर्दै सबै सहकारी भागेका छन्। नभागेकाले पनि पैसा फिर्ता गर्न सकिरहेका छैनन्।

एउटै व्यक्तिको करोडौं रुपैयाँसम्म डुबेको खबरहरु बाहिरिरहेका छन्। यद्यपि, सहकारीमा देखिएको समस्या समाधानमा सरकारलाई चासो छैन्। सहकारीले पैसा खाइदिएर हार्टअट्याक भएर मरेको, आत्महत्या गरेको खबरहरु आउँदासमेत सरकार नजरअन्दाज गरिरहेको छ।

वर्षदिनमा एउटाबाट दुईटा विधेयक पारित गर्न सक्दैनन्, तर तलबभत्ता लिन र सरकारी गाडीचाँहि चढ्नचाँहि छोड्दैनन्। विपक्षी दल पनि त्यही नै हो। संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले राज्यको ढुकुटी दोहन गरेका छन्। लगानी गरिएको गर्यै छ तर प्रतिफल छैन्।

अहिले देशमा ‘मिसन ८४’ अभियान चलिरहेको छ । जुनसुकै पार्टी होस्, चुनाव जित्न र भ्रष्टाचार गर्नमै ध्याउन्न छ । रास्वपाका सभापति रवि लामिछाने २०८४ सालमा पहिलो पार्टी हुन्छौं भनेर जोडतोडका साथ लागिपरेका छन्। हाल जनता कुन अवस्थाबाट गुज्रिरहेका छन् ? त्यो थाहा छैन्।

अर्को चुनावमा हामी पहिलो पार्टी हुन्छौं भन्न यिनीहरुलाई लाज पनि नलाग्दो रहेछ ! राप्रपा राजतन्त्र र हिन्दूराष्ट्रको नारा लगाएर हिँडिरहेको छ । जनताको समस्याबारे सरकारलाई घच्घचाउन छोडेर राजतन्त्रको एजेण्डा बोक्ने राप्रपा अर्को चुनावमा शून्य हुन्छ । एमाले अरुमाथि हिलो छ्याप्नमै व्यस्त छ।

अहिले सर्वसाधारणलाई विपक्षीमा पनि कुनै दल छ र ? भनेर लाग्न थालिसकेको छ। सबै आ–आफ्नो व्यक्तिगत स्वार्थमा लागेका छन्, जनताको समस्या कसले हेर्ने ? विपक्षी र सत्ताधारी दुवै उस्तै छन्। देश धितो राख्ने, ऋण ल्याएर मोजमस्ती गर्ने। खर्बौं रुपैयाँ विदेशी ऋण नेपाल सरकारले लिएको छ।

राजश्वले सरकारको खर्च नधानेपछि धमाधम विदेशी ऋण लिने काम भइरहेको छ। सरकारी कर्मचारीलाई विदेशी ऋणबाटै तलबभत्ता खुवाइएको छ। राज्य सञ्चालक र जनप्रतिनिधिको हकमा पनि त्यही नै हो। भूपू राजा ज्ञानेन्द्रले केही दिनअघि एउटा कार्यक्रममा आफू यही भएको बताएका थिए।

उनले भनेका थिए,‘म यही छु । यहाँ के भइरहेको छ म नजिकबाट नियालिरहेको छु। उनले जे भनेपनि के फाइदा ? राजतन्त्र हटिसक्यो, उनको हातमा केही पनि छैन्। निर्माताले चलचित्र बनाउँछन्,कलाकारले खेल्छन् र दर्शनले हेर्छन्। भूपू राजा ज्ञानेन्द्र अहिले दर्शक हुन्।

उनले जहाँ गएर जे बोलेपनि नेताहरुले देश बेचेको हेर्नुबाहेक कुनै विकल्प छैन्। अरुको सातो खाने लामिछानेको आफ्नै होश गुमेको छ। सहकारीको केसमा उनी जेल जान्छन् भनेर अड्कलबाजी लगाउन थालिएको छ। मनमोहन अधिकारी र मदन भण्डारीको नाम बेचेर देश लुट्ने ओली र महेश बस्नेतका लागि एउटा दुर्गा प्रसाईं नै काफी भए।

जनताको काम गर्न छोडेर राजाको झोले बनेको राजेन्द्र लिङ्देन र उनको पार्टीलाई जनताले पाठ सिकाउँछन्। बच्चादेखि भुरालाई थाहा छ कि देशमा राजा आउँदैनन्, राजतन्त्र फकिँदैन्। यी पार्टीहरुले कहिलेसम्म जनताको आँखामा धुँलो झोक्ने हुन् ? २०७२ को संविधानअनुसार लिङ्देनले चुनावमा भाग लिएका हुन्।

उनले त लोकतन्त्र मानिसकेका छन्। राजा हटाउने प्रचण्डकै सरकारमा उनी मन्त्री भए। जनतालाई कतिसम्म ढाँटन् जानेको ? लोकतान्त्रिक व्यवस्थाअनुसार चुनाव लडेर राजाको गुनगान गाउन लिङ्देन र राप्रपालाई लाज लाग्नुपर्ने हो। आफू कहाँ उभिएका छौं भन्ने कुरा नै यिनीहरुले बिर्सिएका छन्।

विपक्षी दलमा रहेको एमालेले राष्ट्रिय सभामा समेत आफ्नो भाग खोजेको छ। विपक्षीले कँही भाग खोज्छ ? वास्तवमा भन्ने हो भने ओलीसँग टेम्पो चलाएर खाने क्षमता पनि छैन् । कुन पार्टीलाई राष्ट्रको कति माया रहेछ ? भन्ने त अहिलेको अवस्थाबाट प्रमाणित भइसकेको छ।

देश नाजुक अवस्थाबाट गुज्रिरहेको छ तर विपक्षी दलका नेताले तलबभत्ता खान छोडेका छैनन्। ‘देश सकिए सकियोस्’ भनेर उनीहरु घोडा बेचेर सुतेका छन्। सांसद चित्रबहादुर केसी अनेकथरी ‘स्टन्टबाजी’ गर्छन्। सफा टेम्पो चढ्ने उनी माइक्रोबस चढ्दा घाइतेसमेत भए।

झलनाथ खनाल प्रधानमन्त्री हुँदा आफ्नो छोराले सरकारी जागिरमा भनिदिनुभन्दा जे गरेर खान्छस् खाँ भनेको भनि अभिव्यक्ति दिएका उनलाई जनताले सच्चा नेता ठान्थे। घट्टेकुलोमा एउटै कोठामा २१ वर्ष बसेको विषयमा पनि व्यापक चर्चामा आयो। उमेरले ८२ वर्ष भइसकेका उनी अहिलेपनि देश धितो राखेर लिएको पैसाले तलबभत्ता लिइरहेका छन्।

८२ वर्ष नेपाली भूमिमा बिताइसकेकोलाई त देशको माया भएन् भने अरुको के कुरा गर्नु ? नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल सदनमा जुनसुकै विधेयक पेश भएपनि उभिएर विरोध गरिहाल्छन्। उनको पेशा नै विरोध गर्ने हो। तर, उनी पनि राज्यबाट पाउने एउटा सेवासुविधा छोड्दैनन्।

कसैले ऋण तिर्न सकेन् भने प्रहरीले लगेर थुन्छ। राजनीतिक दलका नेता, सांसद सबैले मिलीजुली देश बेचिसकेका छन्। यिनीहरुलाई कसले समात्ने ? जनताले समात्न सक्दैनन्, प्रहरीले सलाम ठोक्छ। जनता कार्यकर्ता बन्दा देश तहसनहस बन्यो। आफ्नो पार्टीले जतिसुकै नराम्रो काम गरोस्, चुइक्क आवाज निकाल्दैनन्।

अभिभावकले छोराछोरी जन्माउछन्, पाल्छन्, हुर्काउँछन्। पछि कतिपयले आफ्नै बाबुआमालाई मार्छन्। नेताहरुले पनि देश र जनताका लागि काम गछौं भनेर पार्टी खोले। अहिले देश नै बेचिदिए।