युवापुस्ता सबै विदेशमा,देश बनाउने कसले ?

सांकेतिक तस्वीर

नेपालमा ठूल्ठूला शैक्षिक संस्था छन्,जहाँ गुणस्तरीय अध्ययपन हुन्छ। पछिल्लो समय शिक्षा क्षेत्रमा व्यक्तिहरुले धेरै लगानी गरेका छन्। सरकारले पनि सरकारी शैक्षिक संस्थालाई गुणस्तरीय शिक्षाको थलो बनाउन प्रयास गरिरहेको छ। तैपनि, विद्यार्थीहरु विदेश जाने क्रम रोकिएको छैन्।

माध्यमिक शिक्षा पूरा हुनेबित्तिकै विद्यार्थीहरु बाहिर जाने प्रवृत्तिले नेपालका विश्वविद्यालयहरु रित्तिँदै गएका छन्। यता, शैक्षिक संस्थामा गरिएको लगानी वालुवामा पानी बनेको छ। केही समययता पढ्नका लागि विदेश जाने ‘ट्रेण्ड’ नै बनिसकेको छ। एउटा साथी विदेश गएपछि अर्कोपनि विदेश हानिहाल्छन्।

विदेश पढ्न जाने नाममा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिरहेको छ। सरकारले पढ्नका लागि पठाएको विद्यार्थी सबै विदेशमै ‘सेटल’ भएका छन्। अमेरिका,अष्ट्रेलिया, क्यानडालगायत विभिन्न युरोपेली मुलुक पुगेका विद्यार्थीहरु नेपाल फर्किन चाहँदैनन्। जसका कारण मुलुकमा दक्ष जनशक्तिको अभाव भएको छ।

उनीहरुले न पैसा पठाउँछन् न आफू फर्केर आउँछन्। यसले त मुलुकलाई ठूलो घाटा लागिरहेको छ। पैसा त पठाएनन् तर उनीहरुले आफूसँग भएको सीप पनि नेपालमा ल्याएर प्रयोग गर्दैनन्। उल्टो यहाँ भएको सम्पत्तिसमेत बेचेर लैजान्छन्। आफ्ना बुवाआमाको जायजेथो बेचेर उनीहरुले त्यहाँ घरजग्गा किन्छन्।

देशको अर्थतन्त्र धरासायी बन्नुमा पढ्ने नाममा विदेश जानेहरुको ठूलो योगदान छ। २० देखि ३० लाख रुपैयाँ खर्च गरेर विद्यार्थीहरु विदेश पुगेका छन्। राज्यले विदेश गएकाले आएर देशमा केही गर्लान्, आफूसँग भएको सीप प्रयोग गर्लान् भनेर पठायो। तर, ठ्याक्कै उल्टो भयो।

उनीहरु उतैको वातावरणमा रमाउने भए। जसका कारण उनीहरु फर्केर आउन चाहँदैनन्। यसले गर्दा राज्यलाई दुईटा क्षति भएको छ। प्रथमः मँहगो विदेशी मुद्रा पनि बाहिरियो, दोस्रोः जनशक्ति पनि बाहिरिए। मुलुकलाई संकटतिर धकेलेर सबैले आ–आफ्नो मनोमानी चलाएका छन्।

पढ्ने नाममा नेपाली पैसा विदेश गयो, व्यापारका नाममा पनि। निर्यातको चौब्बर त आयात छ। अरु देश धमाधम सामान निर्यात गरेर आफ्नो अर्थतन्त्र मजबुत बनाइरहेका छन्। हामीचाँहि विद्यार्थी ‘निर्यात’ गरिरहेको छौं। व्यापार घाटा बढ्दो छ। तैपनि सरकारलाई फरक परेको छैन्।

विद्यार्थीहरुलाई कक्षा १२ सम्म यहीको पढाइ राम्रो हुन्छ। त्यसपछि नराम्रो भइदिन्छ। विदेश जान जो पाइयो। ऋणधन गरेर विदेश जान्छन्, तर देशमै केही गरौं भन्ने सोच उनीहरुमा छैन्। विदेश जाने पैसा यही लगानी गरेर एउटा सानोतिनो व्यापार–व्यवसाय गर्न उनीहरुलाई लाज लाग्छ।

अर्काको देशमा गएर जे गर्न पनि तयार हुन्छन्, उनीहरु। सरकारी जागिरेले आफ्ना सन्तान सरकारी शैक्षिक संस्थामा पढाउनुपर्ने प्रावधान छ। राजनीतिक दलको हकमा पनि त्यही हो। तर, सरकारी कर्मचारीहरुले मँहगामँहगा विद्यालयमा आफ्ना छोराछोरी पढाइराखेका छन्। तिनकै छोराछोरी पढ्ने नाममा विदेश दौडिरहेका छन्।

अवस्था यस्तो कि, बाबुआमा बिते भनेपनि हप्ता दिनसम्म छोराछोरी आइपुग्दैनन्। स्वर्गीय नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख बितेको दुई दिनपछि मात्र दाहसंस्कार गरिएको थियो। उनको छोराहरु बाहिर थिए। विदेशी नागरिकता तथा राहदानी लिइसकेकाहरुले नेपाल आएर नौटंकी गरेको उदाहरणहरु पनि छ।

यसको सुहाउँदो पात्र रवि लामिछाने हुन्। देशका लागि ज्यानै दिन भाषण गर्ने लामिछानेले नेपाली जनतालाई कसरी भुङ्ग्रोमा राखे ? भन्ने कुरा खुल्दै छ। विदेशी नागरिकता र राहदानी लिइसकेका उनको एकपछि अर्को काण्ड बाहिरिँदै छ। शुरुवातदेखि नै विवादमा तानिएका उनको असली रुपमा जनताले विस्तारै देखिरहेका छन्।

देशको लागि केही गर्छु भनेर अमेरिकी नागरिकता र राहदानी त्यागेर नेपाल आएको भन्ने उनी त्यता ठग्न नपाएपछि यता आएको त स्पष्ट छ। विदेशमा काम गर्नुपर्छ, ठग्न पाइँदैन्। अब यहाँ त हाउडे गफ ठोकेर जनताको आँखामा कालोपट्टी बाँधेर खान पाइयो। नेपाल आएपछि पत्रकारिता गरे।

विदेशबाट केही नेपालीको उद्धार गरेजस्तो गरेर वाहवाही बटुले। त्यसपछि राजनीतिमा होमिए । पुराना नेताहरुले काम नगरेर जनता वाक्कदिक्क थिए, उनले पनि धमिलो पानीमा माछा मारिहालें। राजनीतिमा प्रवेश गरेको छोटो समयमै सांसददेखि गृहमन्त्रीसम्मको यात्रा तय गरे।

सुशासन र सदाचारिताको बारेमा लामोचौडा भाषण गर्ने उनीसँगै नेपाली नागरिकता र राहदानी नभएको खुल्यो। त्यसपछि अदालतले सबै पद चैट पारिदियो। अनि गएर नागरिकता लिए। देशमाथि घात गर्ने र जनताको आँखामा धुलो झोक्ने व्यक्ति नेपाल फर्किएकोभन्दा नफर्किएकै बेस्।

चितवनमा दुईपटक निर्वाचन गर्नुपर्यो। राज्यको ढुकुटीको दोहन भयो। अर्कोतिर दोहोर्याएर चितवनबासीले भोट हाल्नुपर्यो, बेकारको सास्ती। भित्रीदेखि बाहिरी आवरणसम्म झुटले ढाकिएको व्यक्ति नेपाल आउँदा ठूलो क्षति भयो। एक जना गायकले गीत गाएका थिए,‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट।

लुट्ने दिमाग भएकाहरु मात्रै नेपाल फर्किएका छन्। नेपालीहरु आफू केही नगर्ने र अरुमाथि हिलो छ्याप्ने काममा अब्बल छन्। देशमा पढेलेखेको संख्या बढेको छ। तर, तिनले के गरे ? देशका नेताहरु कामचोर भए, केही गरेनन् भन्नबाहेक नेपालीले केही जानेनन्। माध्यमिक तहमा पढिरहेका अधिकांश विद्यार्थी भन्छन्,‘देशमा केही गर्ने वातावरण छैन्, हामी बाहिर जान्छौं।

बाबुआमा पनि छोराछोरीलाई बाहिर पठाउदाँ मख्ख। छोराछोरी बाहिर गएका आमाबुवाहरु घमण्ड गर्छन्। अरुमाथि हिलो छ्याप्दैमा परिवर्तन हुँदैन्। विदेश गएकाहरु उतै रमाइहाल्छन् अनि देश कसले हेर्छ ? पढेलेखेका युवापुस्तासँग लड्ने आँट छैन्। परिवर्तनको सोच उनीहरुसँग छैन्।

अनि बुढाखाडाले मौका पाउनु स्वाभाविकै हो। अमेरिका, अष्ट्रेलिया यत्तिकै विकसित बनेको होइन्। त्यहाँको नेतृत्व, युवापुस्ता सबैको मेहिनेतले आज अमेरिका, अष्ट्रेलिया त्यहाँ पुगेको हो। नेपालमा त्यो अवस्था नै भएन्। सोच र सीप भएका विदेशमा छन्, बुढाबुढी, बालबच्चा मात्रै मुलुकमा बाँकी भएका छन्।

मुलुकका कलेजहरु धरासायी बनिरहेको छ। तर, निजी कलेज सञ्चालकहरु सरकारलाई घच्घचाउन सक्दैन्। राज्य सञ्चालकहरु विद्यार्थीहरुलाई विदेश जानबाट रोक्नुपर्छ भनेर भाषण गरिरहेका हुन्छन्। तर, खोइ त योजना ? जुन देशमा युवाशक्ति हुँदैन्, त्यो देशको विकास सम्भव छैन्।

बाहिरी देशको रणनीति नेपालका नेताहरुले कहिले बुझ्ने ? अमेरिका, अष्ट्रेलियाले अन्य मुलुकको पैसा पनि लग्यो, जनशक्ति पनि तान्यो। त्यहाँका नेताहरुले ती जनशक्तिसँग भएको सीप, क्षमताको प्रयोग गरेर आफ्नो देशलाई उचाइमा पुर्याए। उनीहरु दिनप्रतिदिन विकासमा फड्को मारिरहेका छन्, हामीचाँहि हेरेको हेर्यै।

विकसित देशमा काम गर्नका लागि अन्य मुलुकमा जाँदैन्। उनीहरु घुम्न जान्छन् । नयाँ–नयाँ कुरा सिक्छन् अनि आफ्नो देशमा प्रयोग गर्छन्। नेपालमा ठ्याक्कै उल्टो छ। अभिभावकहरु जसरी हुन्छ छोराछोरी बाहिर पठाउनमै ध्याउन्न छन्। छोराछोरी अमेरिका, अष्ट्रेलिया पठाएका अभिभावक युद्ध जितेझैं गर्छन्।

जबसम्म अप्ठेरो पर्दैन्, तबसम्म अभिभावकलाई छोराछोरी आफ्नो साथमा भए–नभएको फरक पर्दैन्। बिरामी हुँदा,गाह्रोसाह्रो पर्दा मात्र उनीहरुलाई छोराछोरी बेकारमा पठाएझैं हुन्छ। अर्काको बाबुआमालाई कसले हेर्छ ? नेपालको राजनीतिक प्रणाली कसको कब्जामा छ ? युवा पुस्ताले फर्केर हेरेका छन् ?

कोही गुण्डा पृष्ठभूमिबाट आएका छन्, कोही गुलेली हिर्काएर राजनीतिमा प्रवेश गरेका छन् । कसैले आठ कक्षा मात्र पढेका छन्, कसैले टाउको हल्लाउनबाहेक केही जानेका छैनन्। यस्ताबाट विकास खोजेर हुन्छ ? बिहे नगरेकाहरु देशको महान् नेता रे ! नेताले बिहे गरोस् कि नगरोस्, जनतालाई के मतलब ?

जनतालाई नेताहरुले भ्रम छरिरहेका छन्। उनीहरुको भ्रम चिर्न सक्ने कोही पनि जन्मिएकै छैनन् जस्तो छ। एउटा उखान छ,‘जुन जोगी आएपनि कानै चिरेको’। रवि लामिछाने, गगन थापा, महेश बस्नेत, केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, ज्ञानेन्द्र शाहीजस्ताबाट देश विकास हुन्छ भनेर कल्पनै नगर्दा बेस्।