मापदण्डविपरीत पीएसओ पूर्वसभामुखदेखि सचिवसम्म,कोसँग कति जना?

काठमाडौं। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ४ असोजमा मापदण्डविपरीत पूर्वविशिष्ठ व्यक्तिहरुले लिएको सुरक्षाकर्मी फिर्ता गराउन गृहमन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दियो ।

उक्त निर्देशनपछि तीन वटै सुरक्षा संगठन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले व्यक्तिगत सुरक्षाका लागि खटाएका (पीएसओ) फिर्ता बोलायो ।

समितिका सभापति रामहरि खतिवडाका अनुसार, राज्य व्यवस्थाको निर्देशनपछि नेपाली सेनाले कानुनविपरीत विशिष्ठ व्यक्तिको सुरक्षाका लागि पठाएको चार हजार ६ सयबाट तीन हजार चार सय सैनिकलाई फिर्ता गरेको थियो ।

त्यस्तै, सशस्त्र प्रहरीले एक हजार ४ सय पिएसओमध्ये एक हजार ९९ सय सशस्त्र प्रहरीलाई फिर्ता बोलायो। नेपाल प्रहरीले पनि कानुनविपरीत पीएसओका रुपमा खटिएका ५८ जना प्रहरी फिर्ता गरेको थियो।

प्रहरी निमित्ति प्रवक्ता एसएसपी दानबहादुर कार्कीले पीएसओ पाउनुपर्ने अवधि सकिएका पूर्वविशिष्ठ व्यक्तिहरुसँग रहेका पीएसओलाई फिर्ता गरिएको बताए।

“पीएसओको सुविधा नपाउनुपर्ने पूर्वविशिष्ठबाट फिर्ता गरेका हौँ । तर, फेरि पीएसओको आवश्यकता प¥यो भन्दै पठाउनुपर्ने अवस्था आएको छ,कार्कीले भने।

समितिको निर्देशनपछि फिर्ता बोलाइएका पीएसओहरु फेरि एक महिना नबित्दै अधिकांश पूर्वविशिष्ठहरूले गृहमन्त्रालयमार्फत् प्रहरीको पीएसओ लिइरहेका छन्।

त्यसरी पीएसओ लिनेमा पूर्वसभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री गगनकुमार थापा, पूर्वमन्त्री महेश बस्नेतसहित १७ जना छन् । अधिकांश पूर्वमन्त्रीहरुले एक–एकजना पीएसओ लिएका छन् भने पूर्वमन्त्री गगनकुमार थापाले प्रहरीको पीएसओका रुपमा दुई जना प्रहरी लिएका छन् ।

त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महरालेसमेत दुई जना पीएसओ लिएका छन्। थापाकहाँ प्रहरी सहायक निरीक्षक दिनेश कटुवाल र प्रहरी नायव निरीक्षक केशवबहादुर घर्तीमगर खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले दिनेश कटुवाललाई कात्तिक २१ र घर्तीलाई मंसिर १४ मा पठाएको छ। त्यस्तै महराकहाँ प्रहरी सहायक हवल्दार रमेश थापा र प्रहरी वरिष्ठ नायब निरीक्षक किशोर आचार्य खटिएका छन्। उनले दुवै जनालाई १५ मंसिरमा लिएका हुन्।

त्यस्तै, पूर्वमन्त्री महेश बस्नेतलाई एक जना प्रहरी जवान सुकबहादुर गुरुङलाई पठाएको छन्। उनले पनि ३ मंसिरमा लिएका हुन्। मापदण्डअनुसार मन्त्री पदबाट हटिसकेको २ वर्षसम्म मात्रै पीएसओ पाउने सुविधा छ। तर, दुई वर्ष नाघेकाहरूलेसमेत पीएसओ लिँदै आएको पाइएको छ।