जनार्दनको पूरक प्रस्तावले माओवादी केन्द्रमा तरंग
काठमाडौं। नेकपा माओवादी केन्द्रभित्र वेनामे पुरक प्रस्तावले खैलाबैला मच्चिएको छ। नाम, हस्ताक्षर, ठेगाना केहिपनि उल्लेख नगरि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पेश गरेको पूरक प्रस्तावले प्रचण्ड झस्किएका छन् भने महासचिव देव गुरुङलाई समेत अप्ठ्यारो पारेको चर्चा हुन थालेको छ।
माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने भन्दै पदाधिकारी बैठकबाट निर्णय गराएपनि बैठक कक्षको माहोलमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले तरङ्ग ल्याइदिएका छन्। विधान मस्यौदा समितिको सदस्य समेत रहेका जनार्दनले पूरक प्रस्ताव किन ल्याए ? यसमा उनले आफ्नै तर्क दिएपनि यो विवाद लामो समयदेखिको हो।
किन आयो पूरक प्रस्तव
विधान मस्यौदा कार्यदल सदस्य समेत रहेका जनार्दन शर्माले आफ्ना केहि कुरा मस्यौदामा राख्न चाहन्थे। तर, पार्टी महाधिवेशनको विवाद र महासचिव बन्न नपाएको झोकमा रहेका उनलाई पार्टी उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले पेलेरै जाने छनक पाए। भुसाल र गुरुङले जनार्दनको मतलाई समेट्ने संकेत नदिएपछि उनले पूरक प्रस्तावको रुपमा कार्यालय सचिव श्रीराम ढकाललाई खुसुक्क आफ्नो टिप्पणी दिए।
पार्टी अध्यक्ष प्रचण्डले मस्यौदा बैठकमा पेश गरेपछि सर्वसम्मतिले पारित हुने अपेक्षा राखेका थिए, तर, ढकालले एउटा छुट्टै प्रस्ताव छ भन्दै टेवल गरेपछि प्रचण्ड झल्यास्स भए। भुसाल र गुरुङ मुखामुख गर्ने स्थितिमा पुगे।
भुसाल र गुरुङले किन समेटेनन् जनार्दनको प्रस्ताव
पार्टी महाधिवेशनकै बेला जनार्दनले आफू र वर्षमान पुन जसलाई महासचिव बनाएपनि स्वीकार गर्ने भन्दै सन्देश पुर्याए पनि प्रचण्डले दुई नेताबीच खेल्नकै लागि गुरुङलाई अघि बढाए। प्रचण्डले यस्तो कदम चालेपछि उपमहासचिव पद नै अस्वीकार गर्ने सार्वजनिक अभिव्यक्ति दिएका जनार्दनलाई उनीहरुले मौका परेको बेला उपेक्षा गर्ने योजना बनाएपछि जनार्दन छुट्टै पेश भएको देखिन्छ।
के छ जनार्दनको पूरक प्रस्तावमा
१- पार्टीको नाम ‘नेकपा समाजवादी’ राखौं ।
२-प्रदेश र जिल्लालाई स्वायत्त राखौं । उनीहरु निर्णय गर्न स्वतन्त्र हुनुपर्छ ।
३- सबै पदमा महाधिवेशनबाट निर्वाचित भएर आउने । मनोनयन र चयन बन्द गरौं ।
४-जनवर्गीय संगठनलाई पार्टीको वैचारिक बाटो बाहेकका विषयमा स्वतन्त्र छाडौं ।
जनार्दनले माओवादी नाम राख्दा अन्यलाई ध्रुवीकृत गर्न नसकिएको, जिल्ला, प्रदेशलाई केन्द्रले हस्तक्षेप गर्दा निराशा छाएको मनोनयन र चयनले सक्षम र काम गर्न सक्नेलाई माथि आउन गाह्रो भएको र जनवर्गिय संगठनलाई गलतकाविरुद्ध लड्न सिकाउनुपर्ने उनको प्रस्ताव थियो।
जुन भुसाल–गुरुङ तगारो बनेपछि जनार्दनले माओवादी केन्द्रभित्र तरङ्ग पैदा गरिदिएका छन्। यद्यपी यो विषयमा प्रचण्डले के गर्ने भन्ने विषयमा कुनै जानकारी भने दिएका छैनन्।