समयमै परीक्षा र नतिजा नपाएपछि विद्यार्थीले विदेश रोज्न थाले: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थी विदेश रोज्न थालेको बताएकी छन्।

आज त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्। उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा नलिने र समयमा नै नतिजा प्रकाशन नगर्ने गुनासोहरू बढेको भन्दै विद्यार्थी सोही विषयलाई लिएर निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेको बताइन्।

उनले भनिन्,टीयूसँग केही गुनासाहरू छन्। नतिजा र परीक्षाहरूका समस्याको बारेमा। समयमै नहुने समस्या छ। त्यसले गर्दा निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयतिर विस्तारै आकर्षित भइरहेका छन्।

त्यहाँ जानुपर्ने बाध्यात्मक स्थिति पनि सिर्जना भइरहेको छ। टीयू राम्रो हो तर के गर्नु रु समयमा नतिजा आउँदैन, परीक्षा हुँदैन। कोर्ष पूरा हुँदैन भन्ने गुनासो छ।

परीक्षा, नतिजा लगायतका सबै कुरालाई सूचना र प्रविधिमा लाग्यौँ भने यस्ता समस्याहरू अन्त्य भएर जान्छन्। हामीले हाम्रा परीक्षा प्रणाली, अध्ययनका कुरालाई सूचना र प्रविधिको प्रयोग गरेर अघि बढ्ने हो भने गुनासा समाधान हुनेछन्। विश्वविद्यालय माथि उठ्नेछ।