सहकारी ‘ठग’ हरु कहिले कानुनको दायरामा आउलान्,सरकार ?
अनुसा थापा
वैशाखदेखि भदौ वर्षातको मौसम हो। यो अवधिमा सबैभन्दा धेरै पानी पर्छ। जुनसुकै भूभागमा पनि यो बेला वर्षात हुन्छ। खोलाहरुमा भल आउँछ। त्यसैगरी यतिबेला मुलुकभरका सर्वसाधारणको आँखामा आँशुको भल बगेको छ। सहकारी संस्थाहरुले बचतकर्तालाई धरधरी रुवाएका छन्।
पैसा डुबेको चिन्ताले गर्दा उनीहरुको आँखाबाट नरोकिनेगरी आँशु बगेको छ । भूरादेखि बुढासम्मको पैसा सहकारीले खाइदिएको छ । ब्याज आउँछ, बुढेसकाल्लाई हुन्छ भनेर सर्वसाधारणले सहकारीमा पैसा राखे । घरजग्गा बेचेर, जिन्दगीभरको कमाइ, विदेश बसेर कमाएको र जागिरबाट अवकाश हुँदा आएको पैसा बचत गरेका थिए।
जुन सहकारीले झ्वाम पारिदियो। देशैभरी ३५ हजार २३९ वटा सहकारी दर्ता छ। यी सहकारीले करोडौं बचतकर्ताको ३७ खर्ब रुपैयाँ झ्याम्म बनाइदियो। पाँच हजारदेखि १४ करोड रुपैयाँ डुब्ने बचतकर्ताहरु छन्। उनीहरु अहिले निकै तनावमा छन्। सहकारीले पैसा खाइदिएपछि चिन्ताले पिरोलिएका कतिपय बचतकर्ताको हार्ट अट्यार्क भएर ज्यान गएको छ।
कतिपयले आत्महत्याको बाटो रोजेका छन्। अधिकांश सहकारी भागिसकेको छ । नभागेको सहकारीले पनि बचत फिर्ता गर्न सकेको छैन्। सहकारीमा बचतकर्ताले पैसा राख्न छोडिसकेका छन्। सहकारीमाथि अब विश्वास गर्न सकिँदैन् भन्ने कुरा आम सर्वसाधारणले बुझिसकेका छन्।
सबैलाई आफ्नो पैसा निकाल्नु छ तर सहकारीले दिँदैन् । कार्यालय खुलेका सहकारीहरुले पनि झुल्याउने र अल्मलाउने काम गरिरहेको छ। किन कि ती पनि भाग्ने मौका खोजेर बसेका छन्। सहकारी सञ्चालित घरका धनीहरु पनि अहिले तनावमा छन्। घरमा मान्छेको ओइरो लाग्दा उनीहरुको सातो जान्छ।
घर तोडफोड हुने हो कि भनेर डराएका घरधनीहरु घर खाली गरिदिन आग्रह गर्दै पालिका गुहारिरहेका छन्। पैसा नपाएपछि बचतकर्ताले कार्यालयमा भएको सामान उठाउन शुरु गरिसकेका छन्। बाहिर बोर्ड झुण्डाएको छ, तर भित्रचाँहि ताला ठोकेको हुन्छ। दुई वर्षअघि हामी यहीको बासिन्दा हो, हामी भाग्दैनौं भन्नेहरु लुकेर हिँडेका छन्।
अध्यक्षहरु सम्पर्कविहिन भएका छन्, कर्मचारी लुकीछिपी हिँडेका छन्। हिजो बढी ब्याज दिन्छु भन्ने प्रलोभन देखाएर सहकारीले बचतकर्ताबाट पैसा उठायो। अहिले न मर्दापर्दा पैसा दिन्छ न बिरामी भएर अस्पताल भर्ना हुँदा। सहकारीले पैसा नदिँदा किरिया गर्नसमेत समस्या परेको समाचारहरु बाहिरिरहेका छन्।
धेरै सहकारीका सञ्चालक जेल चलान भएका छन्। कतिपय देश छोडेर भागिसकेका छन्। नभागेका सहकारीमा पैसा माग्न जाँदा शेयर, गाडी र घरजग्गा लिनुस् भन्छन्। बैंकले एक सय रुपैयाँ कित्तामा निकालेको शेयरलाई पाँच हजार भन्छन्। एक लाख रुपैयाँ नपर्ने गाडी र जग्गाको मूल्य लाखौं राखिएको छ।
उनीहरुको मूल्यमा शेयर, गाडी र घरजग्गा लिइदिनुपर्ने रे। सहकारीहरु अझैपनि बचतकर्तालाई ‘उल्लु’ बनाएर ठग्ने चाल चलिरहेका छन्। हिजो २२ प्रतिशतसम्म ब्याज दिने शर्तमा बचत गर्न लगाए,अहिले उनीहरुको रेटमा शेयर, गाडी र घरजग्गा लिनु भन्छन्। काठमाडौंमा बचत गर्नेलाई रामेछाप, इलामलगायतका स्थानको जग्गा लिन दबाब दिइरहेका छन्।
आफ्नो रेटमा लिए त्यही जग्गा लिनु, नत्र भए पैसा माया मार्नु भन्न खोजेका छन्। सर्वसाधारणको आँखामा सबै सहकारी ‘ठग’ बनेका छन्। सहकारीले बचतकर्तालाई ‘मर्नु न बाँच्नु’ बनाइदिएको छ। तर, मन्त्रीहरुचाँहि तिनकै कार्यक्रममा अतिथि बन्न पुगेको देखिन्छ। सहकारीमन्त्री रञ्जिता श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत सहकारीको कार्यक्रम उद्घाटनमा गइरहेका हुन्छन्।
सहकारीले बचतकर्तालाई ‘घर न घाट’ को बनाउँदा मन्त्रीहरु तिनको कार्यक्रम उद्घाटन गर्न पुग्नु लज्जास्पद कुरा हो। पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जीबी राईविरुद्ध सिन्धुलीका युवराज सफलले केही दिनअघि सहकारी ठगीको उजुरी दर्ता गरेका छन्।
उनले दोषीहरुमाथि कारबाही गर्न माग गरेका छन्। तर, सहकारी विभागले अहिलेसम्म सीआईबीलाई पत्र लेखेको छैन्। विभागले नै सहकारी ठगीका आरोपीहरुलाई बचाइरहेको बचतकर्ताहरुको आरोप छ। बचतकर्ताहरु यतिबेला राज्य संयन्त्रमाथि आक्रोशित भएका छन्। लाखौं बचतकर्ताको बिल्लीबाठ हुँदासमेत सरकार हात बाँधेर बसेको छ अनि बचतकर्ता आक्रोशित हुनु स्वाभाविकै छ।
अब पनि सरकार नतात्ने हो भने आफूहरुले नै सहकारी सञ्चालकहरुलाई कारबाही गर्ने बचतकर्ताहरु बताउँछन्। कतिपय सहकारीका कर्मचारीहरुले बजारबाट पैसा उठाउने कार्य रोकेका छैनन्। कार्यालय बन्द भइसकेको छ तर उनीहरु पैसा उठाएर खाइरहेका छन्। सहकारीमा पैसा नराख्न भनि सरकारले अहिलेसम्म सार्वजनिक सूचना जारी गरेको छैन्।
स्थानीय पालिकाहरु पनि बचतकर्तालाई सचेत गराउन र उनीहरुको समस्या समाधान गर्नमा चासो देखाएका छन्। विज्ञापन बोर्ड पनि यो विषयमा मौन बसेको छ। सहकारी पीडितहरु दिनदिनै विभाग धाइरहेका छन्। विभागमा दिनहुँ भीड हुने गरेको छ। उनीहरु आउँछन्, सरकारलाई आफ्नो गुनासो सुनाउँछन्।
तर, सरकारले वास्ता गर्दैन् । एउटा कानबाट सुन्ने र अर्को कानबाट उडाउने कार्य भइरहेको छ। सहकारी डुबेको दुई वर्ष भइसकेको छ । तैपनि सरकारलाई मतलब छैन् । दुई वर्षदेखि बचतकर्ता पीडा खेपेर बसेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा देखिएको समस्या समाधानका लागि पटकपटक निर्देशन दिइसकेका छन्।
प्रधानमन्त्रीले सहकारीमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतलाई सहकारीको समस्या समाधानका लागि आवश्यक कार्य गर्न भनेपनि उनीहरुले अटेर गर्दै आएका छन्। यसले सहकारीमन्त्री श्रेष्ठ र अर्थमन्त्री महत बचतकर्ता डुबाउने सहकारीको पक्षमा छन् भन्ने कुरा स्पष्ट हुन्छ। सरकारले चैत मसान्तभित्र बचतकर्ताको पैसा फिर्ता गर्न निर्देशन दिइसकेको छ।
कानुन बनेर राजपत्रमा समेत प्रकाशित भइसकेको छ। बचत फिर्ता नदिने सहकारीको विरोधमा उजुरी दिन सरकारले आह्वान गरेको छ। तर, अहिलेसम्म उजुरी लिनेबाहेक खासै प्रगति भएको छैन्। कतिपय सहकारी सञ्चालकले बचतकर्तालाई फकाउने, अल्माउने र थम्थमाउने काम गरिरहेका छन्।
उनीहरुले उजुरी हाल्न दिइरहेका छैनन्। सहकारीको सबै लगानी घरजग्गा, शेयर र गाडीमा छ । यी क्षेत्रमा पूरै मन्दी आइसकेको छ। अब यिनीहरुले बचतकर्ताको पैसा कसरी फिर्ता गर्छन् ? सहकारी चल्दैन् भन्ने कुरा सर्वसाधारणले थाहा पाइसकेका छन्। सरकारले अब सहकारीको दर्ता खारेज गरिदिनुपर्छ।
सहकारीका सञ्चालकलाई कानुनको दायरामा ल्याउनुपर्छ र तिनको सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता गरिदिनुपर्छ । सहकारीको ठगीधन्दाले सीमा नाघिसकेको छ। सरकारबाट केही हुनेवाला छैन्,अब बचतकर्ता नै ‘एक्सन’ मा उत्रिनुपर्छ। सहकारी ठगहरुलाई राजनीतिक पार्टीकै संरक्षण छ।
राजनीतिक दलका कार्यकर्ताहरुले नै सहकारी खोलेर सर्वसाधारण ठगेको पुष्टि भइसकेको छ । सहकारीमन्त्री श्रेष्ठले कि धमाधम सहकारी सञ्चालकलाई कारबाही गर्न निर्देशन दिनुपर्यो कि नैतिकताको आधारमा राजीनामा दिनुपर्यो । बचतकर्तालाई रुवाएर उनी पदमा बस्न सुहाउँदैन्।
विभागमा महानिर्देशक आएको महिनौं बितिसकेको छ । तर, उनले अहिलेसम्म एउटा पनि सहकारी समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई पत्र लेखेका छैनन्। न सीआईबीलाई नै लेखेका छन्। सहकारी सञ्चालकहरु जोगिन निरन्तर मन्त्रालय र विभाग धाइरहेका छन्। सहकारीलाई समस्याग्रस्त हुनबाट रोक्न र समस्याग्रस्त घोषणा गरिसकेकालाई कालोसूचीबाट हटाउन सहकारी सञ्चालकहरु लागेका छन्।
सहकारी डुब्नु राज्य सञ्चालकहरुका लागि ‘दुहुनो गाईं’ जस्तै भएको छ । बुढापाकाले भन्थे,‘एउटा नबिग्रिकन अर्को सप्रिदैन्। सहकारीका बचतकर्ता डुबे, मन्त्री र महानिर्देशक मोटाए।