बजार मन्दीको प्रभावः भारी बोक्ने र सानातिनो काम गरेर जीविकोपार्जन गर्नेलाई गर्जो टार्नै महाभारत
अनुसा थापा
आफू दुःख गरेर भएपनि छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिलाउँछौं भनेर विभिन्न जिल्लामा आम सर्वसाधारण उपत्यका छिरेका छन्। गाउँमा आम्दानीको स्रोत पनि नहुने र छोराछोरी पढाउन राम्रो शैक्षिक संस्था पनि नहुने भएकाले अभिभावक आफ्नो जन्मथलो छोडेरै यहाँ आउँछन्।
कोहीकोहीचाँहि रोजगारीकै लागि काठमाडौं आएका हुन्छन्। काठमाडौंमा बाहिरी जिल्लाका सर्वसाधारण धेरै छन्। भारी बोकेर भएपनि खान्छौं भनेर आएकाहरु यतिबेला मर्कामा परेका छन्। किन कि काठमाडौंमा काम पाउनै छोडेको छ । हिजो दिँउसोको कुरा हो, नाम्लो बोकेर सडकमा भारी कुरिरहेकाहरु निराश भएर उभिरहेका छन्।
पुतलीसडक चोकमा नाम्लोसहित उभिएका एक जना व्यक्तिले दिँउसो १ बजेसम्म पनि एउटा पनि काम नपाएको बताए । पहिलेपहिले भारी ओसारेरै भ्याइनभ्याइ हुने उनी काममा खोजीमा भौतारिरहेका थिए। हिजोआज काम पाउनै छोडेको र गुजारो टार्न गाह्रो भएको भन्दै उनले आफ्नो गुनासो पोखे।
भने,‘पहिलेपहिले भारी ओसारेर भ्याइनभ्याइ हुन्थ्यो। अहिले काम नै पाउँदैन्। कहिलेकाँही फाट्टफुट्ट एकदुईटा पाउँछ, नत्र दिनभरी कुरेर त्यतिकै फर्किनुपर्छ। यतिबेला भइसक्यो बोनी पनि भएको छैन्। काम नपाउँदा गुजारा गर्न निकै गाह्रो भएको छ ।’ राजधानीको अस्तव्यस्त ठाउँमा पनि भारी बोक्नेहरु बेरोजगार भएका छन्।
सोफा, कार्पेट, फर्निचर पसलेहरु पनि व्यापार सुस्ताएको बताउँछन्। पसल खोल्नु र बन्द गर्नु मात्रै भएको तिनको भनाइ छ । यस्ता सामानको व्यापार हुन छोडेसँगै भारी बोक्नेहरु पनि बेरोजगार भएका हुन्। तीन वर्षअघि दिनको १५ सयदेखि ३५ कमाउनेहरु अहिले बोनी नै नहुने गुनासो गर्छन्।
भारी बोकेरै उनीहरुले आफ्नो गर्जो टारेका थिए, छोराछोरी पढाएका थिए। इन्द्रचोक,महाबौद्ध, भेडासिंह, न्युरोड, चाबहिल,ठमेल, भोटाहिटी, बानेश्वरलगायतका क्षेत्रमा अहिले पनि भीड छ। तर, व्यापारीहरु व्यापार नै नभएको बताउँछन्। यी स्थल व्यापारिक क्षेत्र हुन्। त्यसैले पनि यहाँ सँधै भीड नै हुन्छ।
च्हलपहल भएपनि पसलभित्र छिरेर सामान किन्ने भने छैनन् । पसलेहरु सटरमा उभिएर ग्राहक बोलाइरहेका हुन्छन्। उनीहरुले जसरी ग्राहक बोलाउँछन्, त्यसले नै व्यापार छैन् भन्ने देखाउँछ । व्यापारीहरु खुलेरै व्यापार नभएको र घरभाडा तिर्न समस्या परेको बताउँछन्।
भीमसेनगोला चोकदेखि बागबजारसम्म ४५ वटा सटर खाली छ, दायाँबायाँ गरेर । कतै सटर खाली, कतै बिक्रीमा भनेर पोस्टर टाँसिएको छ। अन्य क्षेत्रमा पनि सटर खाली देखिन्छ। मुख्य सडकमा त यत्रा सटर खाली छन् भने भित्रभित्र कति होलान् ? अधिकांश पसलेहरु व्यापार नभएकाले भाडा तिर्न नसकेको दुःखेसो पोख्छन्।
उनीहरु सटर छोड्ने अवस्थामा पुगेको बताउँछन् । अहिले अधिकांश बेरोजगार छन्, त्यसैले व्यापार सुस्ताउनु स्वाभाविकै हो । कोही निजी संघसंस्थामा काम गर्थे, कोही सहकारीमा । कोही पसलमा काम गरिरहेका थिए । घरायसी काम गरेर जीविकोपार्जन गर्नेको संख्या पनि उच्च थियो।
तर, पछिल्लो समय काम नै छैन् । काम भएकाहरुले पनि तलब पाएका छैनन्। लामो समयसम्म तलब नपाएपछि उनीहरु आफ्नो गाउँठाउँ फर्किएका छन्। अधिकांश विदेश पलायन भएका छन्। नेपालमै बसेर सानो व्यवसाय गरेर खान्छु भन्नेहरु व्यवसाय छोडेर विदेश छिरेका छन्।
सरकारले १७ हजार ३०० रुपैयाँ अनिवार्य तलब दिनुपर्ने नियम बनाएको छ। यो नियम घरायसी काम गर्ने होस् या पसलमा सबैमा लागु हुन्छ। कामदारलाई सार्वजनिक बिदाको दिन छुट्टी दिनुपर्ने, चाडपर्व पेश्की दिनुपर्ने, उपचार खर्च दिनुपर्ने सरकारको नियम छ। तर, कसैले पनि सरकारले तोकेजति तलब पाएका छैनन्।
मासिक तीन हजारदेखि १५ हजार रुपैयाँमा काम लगाइन्छ। तर, त्यही पैसा पनि दिइँदैन्। धेरैले काम गरेको ठाउँमा तलब पाएका छन्। उनीहरुले कोठाभाडा तिर्न सकेका छैनन्। न बालबच्चाको स्कुलको फिस तिर्न सकेका छन्। कतिपयले कोठाको सामान घरधनीलाई जिम्मा लगाएर हिँडेका छन्।
छोराछोरी स्कुलबाट निकालेका छन् । काठमाडौं बस्नेहरु कोठा सरेर काभ्रे पुगेका छन्। जसका कारण तिनका सन्तानको पढाइ बिग्रिएको छ। कतिपयलाई चैतसम्म कसरी धानौं ? भन्ने भएको छ। उनीहरु जेनतेन चैतसम्म यहाँ बस्ने सोच बनाएका छन्। त्यसपछि त बच्चाको पढाइ सकिन्छ।
स्कुल चेञ्ज गर्दा पनि केही भएन्। वैशाख लागेपछि यहाँ थप कोठा, सटर र फ्ल्याट खाली हुने देखिएको छ। पहिलेपहिले काम गर्ने मान्छे पाउँदैन्थ्यो। तर,अहिले परिस्थिति बद्लिएको छ। काम खोज्दै मान्छेहरु घरघरमा आउँछन्। ज्यामी काम गर्नेहरुलाई नै फुर्सद हुँदैन्थ्यो।
अहिले सर्वसाधारणसँग पैसा छैन्। सहकारीले पैसा खाइदिएपछि लाखौं बचतकर्ता ‘रित्तो हात’ भएका छन्। पैसा नभएपछि कहाँबाट जग्गा किन्नु र घर बनाउनु ? केही वर्षअघिसम्म सबैको आर्थिक स्तर राम्रै थियो। तर, कोरोना आएपछि सबै व्यापार व्यवसाय डामाडोल भयो।
व्यापार–व्यवसाय खस्कियो। सहकारीहरु भागे। घरजग्गा कारोबार सुस्तायो । शेयर र गाडीको खरिदबिक्री न्यून भयो। बजारमा आर्थिक मन्दी छायो। सबैलाई खर्च धान्न नै सास्ती हुन थाल्यो। अधिकांश व्यवसायीहरुले आफ्नो घरमा काम गर्ने मान्छे राखेका थिए। आम्दानी हुञ्जेल उनीहरुले राखे, हुन छोडेपछि निकाले।
अहिले आफ्नो काम आफै गर्न थालेका छन्। जागिरेहरुको समेत जागिर धरापमा छ। कतिबेला निकालिने हो भन्न सकिँदैन् । एकातिर मँहगी ह्वात्तै बढेको छ, अर्कोतिर रोजगारी छैन्। मँहगीले आम सर्वसाधारणको ढाड सेकिएको छ। पेट्रोल डिजेलको भाउ घटेको छ तर भाडा घटेको छैन्।
भाडा तिर्न पैसा नहुँदा पैदल यात्रा गर्न थालिएको छ। काठमाडौंमा एउटा कोठाको आठ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ । २५ हजारदेखि लाखौं पर्ने सटर छन्। खाली सटर ५० लाख रुपैयाँसम्म बिक्री हुने ठाउँ हो यो । अहिले सबैलाई समस्या भएको छ, यो कुरा घरधनीहरु बुझ्दैनन्।
सस्तोमा नदिने, बरु कोठा खाली राख्ने मनसायमा छन्, धरधनी। ताल्चा लगाए राख्छन् तर भाडा घटाएर दिँदैनन्। व्यापार गर्ने र भाडामा बस्नेसँग घर छोड्नुबाहेकको विकल्प छैन्। उनीहरु तिर्न सक्ने अवस्थामा छैनन्। घर खाली राख्दा घरधनीलाई एक रुपैयाँ पनि आउँदैन्। सस्तोमा दिए त अलिअलि भए नि आम्दानी हुन्थ्यो।
यसले दुवै पक्षलाई नोक्सानी भएको छ। छोराछोरीको शिक्षादिक्षा र रोजगारी खोज्दै काठमाडौं छिरेकाहरु फेरि गाउँ फर्किनुपर्ने भएको छ। अधिकांश घरधनीले बहालबाटै आफ्नो खर्च धानिरहेका छन्। कोठा खाली राख्नुपर्दा त उनीहरुलाई पनि नोक्सान हुन्छ नै। यतिबेला १५ हजारको जागिर पाउनु पनि ठूलो भएको छ।
तर, त्यो पैसा खान, कोठाभाडा तिर्न र गाडी चढ्न पनि पुग्दैन्। अनि कसरी धान्ने ? सबैलाई समस्या समस्यै छ। बाहिरको जिल्लाका मान्छेका कारण त काठमाडौंबासी धनी बनेका हुन्। कसैले कोठा लिएर त कसैले पसल थापदिएर यहाँका मान्छेलाई धनी बनाएका छन्।
एक जोर राम्रो नलगाई, एक छाक मिठो नखाई उनीहरुले घरधनीलाई भाडा तिरेका छन्। यहाँका मान्छेहरु अरुलाई ठगेर सुकिलामुकिला भएका छन्।
बाहिरका मान्छेहरु काम पाइन्छ कि भनेर भोकभोकै हिँडिरहेका छन् तर यहाँका लाई कुनै फरक परेको छैन् । शोषकी सोचले काठमाडौं ग्रस्त छ। जसका कारण गरिबहरुलाई बाँच्न गाह्रो परेको छ।