सवारी पार्किङ माग्दै महानगरको होइन्, घरधनीको विरोधमा उत्रियौं व्यापारीहरु
अनुसा थापा
फुटपाथ पैदलयात्री हिँड्नका लागि हो । यता, सडक सवारी साधन गुड्नका लागि बनाएको हो । फुटपाथ होस् या सडक, दुवै राज्यकै लगानीमा बनेको छ। फुटपाथ पसल थाप्ने र पार्किङ गर्ने ठाउँ अवश्य पनि होइन् । तर, घरधनीहरुले कोठावालसँग भाडा उठाउँछन्, पार्किङ दिँदैनन् ।
कोठावालहरुले आफ्नो सवारी साधन फुटपाथमा पार्क गर्छन् । एउटै कोठाको मासिक आठदेखि १० हजार रुपैयाँसम्म उठाउने घरधनीले कोठावाललाई पार्किङको सुविधा पनि दिँदैनन् । भाडा आफु उठाउँछन्, गाडीचाँहि सडकमा लगेर पार्क गर्न लगाउँछन् । उता, सटर लिनेहरुको अवस्था पनि त्यस्तै छ ।
अधिकांश घरमा अण्डरग्राउण्ड पार्किङ छैन् । भएकामा पनि घरधनीले पैसा लिएर पसल सञ्चालन गर्न दिएका छन् । पसलमा सामान किन्न आउनेहरुले फुटपाथमै सवारी रोकेर राखिदिन्छन् । घरधनीहरु भने भाडा असुल्नतर्फ मात्र केन्द्रित छन् । रोचक प्रसङ्ग त के भने, घरधनीहरुले फुटपाथसमेत भाडामा लगाएका छन् ।
आफ्नो घरअगाडि फुटपाथमा पसल थाप्नेहरुबाट घरधनीहरुले मासिक भाडा असुल्ने गरेका छन् । फुटपाथमा पसल राखिदिँदा र सवारी पार्क गरिदिँदा पैदलयात्री बीच सडकबाट हिँड्न बाध्य छन् । जसका कारण दुर्घटना बढेको छ भने कसैको फाइदाका निम्ति निर्दोष व्यक्तिले ज्यान गुमाउनुपरेको छ ।
फुटपाथ पसल र सवारी पार्किङले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनाएको छ । फुटपाथ पसलेहरु एकदमै गैरजिम्मेवार छन् । पसलचाँहि राख्ने, आफू कमाउने अनि सडक फोहोर पारेर हिँडिदिने । अस्तव्यस्त फुटपाथ पसलका कारण शहरको सुन्दरतामा ह्रास आएको छ । फुटपाथबाट हिँड्नेलाई उत्तिकै सास्ती छ ।
घरधनीहरुले बाटो मिचेर घर बनाएका छन् । थोरै जग्गामा अग्लाअग्ला भवन ठड्याएका छन् । ती घर सबै भाडामा लगाइएको छ । घरधनीहरु लाज पचाएरै कोठावालहरुबाट पैसा उठाइरहेका छन् । भाडा लिन सक्नेले घर बनाउँदाखेरि अण्डरग्राउण्ड पार्किङ बनाउनुपर्दैन् ? आफूचाँहि मासिक लाखौं रुपैयाँ उठाउने अनि कोठा बस्नेलाई सडकमा लगेर गाडी पार्क गर भन्ने ?
भक्तपुर र ललितपुरमा हिँड्न सक्ने अवस्था छैन् । फुटपाथ पसल र पार्किङका कारण यी जिल्ला फोहोर र कुरुप देखिन थालेको छ । भक्तपुरमा त पैदलयात्रीहरु ज्यान जोखिममै राखेर सडकको बीचबाट हिँड्छन् । काठमाडौं महानगरपालिकाले त फुटपाथ पसल र पार्किङ हटाउन थालेको छ ।
जुन राम्रो कुरा हो । ‘कसैको व्यापारका लागि कोही बलि चढ्ने’ अवस्थाको अन्त्य हुन्छ । भक्तपुरमा चार वटा नगरपालिका छन् । सबै उस्तै छन्, भाषण गर्ने काम नगर्ने । नगरप्रहरी पनि मेयरजस्तै छन् । दिनभरी गफिने, ३ बजेबित्तिकै कुलेलम ठोक्ने । ललितपुर महानगरपालिका पनि पछिल्लो समय सुस्ताएको छ ।
भक्तपुर र ललितपुरका मेयर सुस्ताउँदा काठमाडौका मेयर बालेन्द्र शाह आफ्नो काम गरिरहेका छन् । महानगरका प्रहरी शहर सुन्दर बनाउन जोडतोडका साथ लागिपरेका छन् । फुटपाथमा पसल राखेर खान पल्केका र सवारी पार्क गरेर पैसा उठाउन नपाएकाहरुले मात्रै नगरप्रहरीको विरोध गरेका छन् ।
पैदलयात्रीहरु महानगरको यो कामप्रति खुसी छन् । यहाँका व्यापारीलाई विरोध गर्नु छ भने घरधनीको गर, महानगरको होइन् । व्यापारीहरुले त घरधनीलाई भाडा बुझाएका छन् । मँहगो भाडा लिएर सेवासुविधा नदिने त घरधनी हुन्, महानगर होइन् । महानगरले काठमाडौंलाई सफासुन्दर र व्यवस्थित शहर बनाउन खोजेको छ ।
यो सबैको लागि राम्रो कुरा हो । राजधानीका घरधनीहरु आफूलाई सुकिलामुकिला ठान्छन् । हुन पनि उनीहरु सुकिलामुकिला नै छ । उनीहरु आफू चट्ट परेका हिँडेका छन् तर आफू हिँड्ने र बस्ने शहर कस्तो छ ? तिनलाई मतलब छैन् । आफ्नो कारणले अन्यलाई दुःख भएको छ कि ? भनेर उनीहरु ख्याल गर्दैनन् ।
शहर अस्तव्यस्त बनाएर आफूलाई ‘हाई स्ट्याण्डर्ड’ भन्न यिनीहरुले लाज लाग्नुपर्ने हो । फुटपाथ सरकारी सम्पत्ति हो । तर, घरधनीहरुले त्यसलाई आफ्नो व्यक्तिगत सोचेका छन् । पैसा महिनैपिच्छे आफू लिने अनि फुटपाथमा गएर पार्किङ गर भन्ने । यिनीहरुको पारा देखेर ‘लाज पनि लजाउँछ ।
घरधनीहरुले कि पार्किङको व्यवस्था गर, नत्र भाडामा लगाएर भाडा पनि नलेऊ । सरकारको सम्पत्ति कब्जा गर्ने अधिकार कसैलाई छैन् । फुटपाथ पैदलयात्री हिँड्न बनाएको हो भन्ने कुरा घरधनीले बुझ्नुपर्छ । घरधनीहरु आफ्नो घरभित्रको फोहोर पनि सडकमा ल्याएर फ्याक्छन् ।
जसले गर्दा बाटो हिँड्नेलाई कम्ता सास्ती हुँदैन् । महानगरले पटकपटक फोहोर वर्गीकरण गर्न आग्रह गरिसकेको छ तर यिनीहरु टेर्दैनन् । आफ्नो घरभित्र फोहोर हुन नहुने अनि सडकचाँहि फोहोर पार्न मिल्ने ? यस्ता त घरधनी छन् । जसले फोहोर गर्छ, सफा गर्ने जिम्मा पनि उसकै हो ।
महानगर अझैपनि घरधनीहरुमाथि नरम भएको छ । आफ्नो घरअगाडिको बाटाघाटा, फोहोर व्यवस्थापनको जिम्मा महानगरले घरधनीलाई नै दिनुपर्ने हो । नटेर्नेलाई कारबाहीको व्यवस्था मिलाउनुपर्छ । घरभित्र सफा चाहिनेलाई सडकचाँहि सफा चाँहिदैन् ? उनीहरुले गर्दा सयौं पैदलयात्रीलाई सास्ती हुन्छ ।
दुर्गन्धको सामना गर्नुपर्छ । तरकारी केलाएकोदेखि महिनावारी हुँदा लगाएको प्याडसमेत सडकमा फालिन्छ । यही हो काठमाडौंबासीको सभ्यता ? मुलुकभरका आम नागरिकमध्ये काठमाडौंबासी सबभन्दा पढेलेखेकामा गनिन्छन् । तर, उनीहरुले के पढे ? प्रश्न त यहाँ खडा भएको छ ।
बाटाघाटामा फोहोर फाल्नुहुँदैन् । आफ्नो हकअधिकारको प्रयोग गर्दा उनीहरुको बारेमा पनि ख्याल गर्नुपर्छ । समाज र सरकारप्रति जिम्मेवार हुनुपर्छलगायतका कुरा यिनले पढेनन्जस्तो छ । सरकारले मात्रै सबैतिर हेरेर भ्याउँदैन् । घरघर सफा गर्दै हिँड्नु सरकारको दायित्व होइन् । घरधनीहरुको कर्तव्य हो ।
तर, यो कुरा उनीहरु बुझ्दैनन् । अब उनीहरुलाई पढेलेखेको भन्ने कि ‘अनपढ’ । सरकारले कोठा भाडा र सटर भाडा तोकिदिएको होइन् । घरधनी र बहालवालाको आपसी सहमतिमा कोठा र सटर भाडामा लिइएको हो । हजार तिरुन् या लाख, पाउने घरधनी हो । अहिले महानगरले पार्किङ गर्न दिएन्, आफ्नो व्यापार भएन् भनेर रोदन मच्चाएर के गर्नु ?
यो गुनासो महानगरलाई सुनाएर केही फाइदा छैन् । घरधनीलाई लगेर सुनाउँ । घरधनीलाई दबाब दिऊ । अनि मात्र तिनको आँखा खुल्छ कि ? महिनैपिच्छे खनखनी भाडा लिनेहरुलाई सेवासुविधा पनि दिनुपर्ने भन्ने चेत आउँछ कि ? फुटपाथमा पसल राख्ने होस् या पार्किङ गर्ने कानुनको दायरामा ल्याउनैपर्छ ।
फुटपाथमा पसल नराख्नु र पार्क नगर्नु भनेर महानगरले पटकपटक जानकारी गराइसकेको छ । तर, कोही टेर्नलाई तयार छैनन् । अरुलाई दुःख दिएर कमाउन फुटपाथ व्यवसायीहरु रमाएका छन् । भौतिक संरचना जे प्रयोजनका निम्ति बनाएको हो, त्यसकै लागि प्रयोग हुनुपर्छ ।
फुटपाथले नपुगेर आकाशे पुलसमेत भरिभराउ हुनेगरी पसल थापेका हुन्छन् । सबैतिर पसल भएपछि मान्छेचाँहि कहाँबाट हिँड्ने ? बाटो कहाँबाट काट्ने ? घट्टेकुलामा बदाम बेच्नेले बाटो छेकेर गाडा राखेका छन् । अझैपनि कतिपय चोकमा गाडामा पसल थापिएको छ, ट्राफिक अस्तव्यस्त पारेर ।
यसतर्फ पनि नगरप्रहरीको ध्यान जाओस् । नगरप्रहरी थप कडा भएर प्रस्तुत हुन जरुरी छ । सडक फोहोर पार्ने, फुटपाथमा पसल राख्ने, सवारी पार्क गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सरकारका मापदण्डविपरीत बनेका घरहरुलाई महानगरले दिने सबै सेवासुविधामा रोक लगाउनुपर्छ ।
सरकारी, गुठी, मठमन्दिर, तालपोखरीको जग्गा मिचेर बनेका घरहरु धमाधम भत्काइनुपर्छ । सरकारी जग्गा मिच्न पाइन्, सरकारको सम्पत्तिमा पसल थाप्न पाइन् भनेर सडकमा उत्रिनेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । काठमाडौं महानगरले नगरप्रहरी थपेर काम चुस्तदुरुस्त बनाउनुपर्छ ।
काठमाडौं देशको राजधानी हुन्छ । अन्य मुलुकको राजधानी सबैले देखेकै छौं । तर, काठमाडौं कतैबाट राजधानीजस्तो देखिँदैन् । महानगरले आफ्नो कामको थालनी गरेको छ, जुन नरोकियोस् । सीमित व्यक्तिको फाइदाका लागि सारालार्इृ दुःख दिने काम बन्द होस् ।