बीआरआई दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्त्वपूर्ण साधन: उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई)अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्त्वपूर्ण साधन भएको बताएका छन्।
सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले कनेक्टिभिटी,पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआईले जोड दिएको बताए। उनले बीआरआई नयाँ सम्भावना खोल्ने,व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको बताए।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान,समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गरे। उनले दुई देशबिचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुसी व्यक्त गरे।
उनले भने,दक्षिण एशियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने,व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने विषयलाई बीआरआईले परिकल्पना गरेको छ।
नेपालजस्ता राष्ट्रका लागि यस्तो पहलले आर्थिक रुपान्तरण गर्न सहज हुनेछ। हालैका वर्षमा नेपाल–चीन सम्बन्धमा उल्लेखनीय प्रगति भएको छ,नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्ने चीनको प्रतिबद्धता अटल छ।
बीआरआईले कनेक्टिभिटी बढाउने र आर्थिक सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ,यसबाट दुई राष्ट्रबिच सहकार्यका लागि नयाँ ढोका खुलेको छ।
उपप्रधानमन्त्री श्रेष्ठले सडक,पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए।