दरबार हत्याकाण्डबारे भ्रम फैलाइयो: पूर्वराजा ज्ञानेन्द्र
वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाइएको दाबी गरेका छन्।
वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको दाबी गरेका हुन्।
शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर गरे। बितेका १५ वर्ष पछि आज त्यो असन्तोष,चासो, चिन्ता,आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाई छ।
उनले भने, ‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए।
सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।