२८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री
काठमाडौं । यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्नेगरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कुनै नाम, थर, ठेगाना नखुलाई लाइसेन्सको नम्बर मात्रै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा इन्ट्री गरिएको पाइएको हो।
लाइसेन्स वितरणमा भएको अनियमितताका विषयमा यतिखेर अख्तियारले छानबिन गरिरहेको छ। २०७२ भदौदेखि २०८० भदौसम्मको विवरण छानबिन गर्दा २८ हजारभन्दा बढी लाइसेन्सको नम्बर मात्रै फेला परेको अख्तियार स्रोतले बताएको छ।
सो अवधिमा महानिर्देशक भएका १० जनाको पालामा १२ हजारभन्दा बढी नम्बर इन्ट्री हुँदा निमित्तका पालामा नै बढी सङ्ख्यामा नम्बर इन्ट्री भएको पाइएको छ। आजको नागरिक दैनिकमा समाचार छ।