दुर्गा प्रसाई र मीनबहादुर गुरुङजस्ता ठूला व्यापारीका कारण डुब्दै बैंक,अब के गर्छ सरकार ?
अनुषा थापा
हम्रो समाजमा ‘ठूलोलाई चेन सानोलाई ऐन’ भनिन्छ । त्यो अहिले सत्य प्रमाािणत भएको छ। सर्वसाधारणले ऋणको तीन किस्ता नतिर्नेबित्तिकै बैंक तथा वित्तिय संस्थाले ऋणीको तीन पुस्तासहित तस्बिरसमेत पत्रिकामा प्रकाशन गर्छ। र, धितो लिलामी प्रक्रिया अघि बढाउँछ।
मेडिकल व्यवसायी दुर्गा प्रसाई, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ लगायत ठूल्ठूला व्यापारी तथा व्यवसायीले बैंकबाट लिएको ऋणको साँबाब्याज वर्षोदेखि नतिरेको बताइन्छ। दुर्गा प्रसाईले त दश करोड मूल्य बराबरको धितो राखेर एउटै बैंकबाट अर्बो ऋण लिएको आम सर्वसाधारणलाई थाहा छ।
प्रसाईले मात्र होइन, अन्य व्यापारीहरुले पनि यस्तै गरेका छन्। करोडको धितो राखेर अर्बो ऋण लिएका छन् । अहिले प्रसाई बैंकको ऋण तिर्न तयार छैनन् । ऋण मिनाहाका लागि उनी कहिले सर्वसाधारणलाई बैंकविरुद्ध सडकमा ल्याउँछन् त कहिले राजावादी बन्छन्।
उसो त उनले ऋण मिनाहाका लागि बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कालोमोसो दल्ने अभियान पनि चाले । तर, त्यसमा पनि उनी असफल हुन पुगेका छन् । तर, बैंकबाट ऋण लिएर नतिर्ने यस्ता ठूला व्यक्ति तथा व्यापारीलाई न त बैंकले केही गर्न सक्छ । न त सरकारले नै।
अहिले भाटभटेनी, सुपरमार्केट, बिगमार्टमा आम सर्वसाधारणमा सामान किन्न जादैंनन् । किनकि त्यहाँ सबै गुणस्तरहीन, म्याद सकिएको, कम तौल अनि महंगो सामान पाइन्छन्। भाटभटेनीका साहु मीनबहादुर गुरुङको ४२–४३ अर्ब ऋण रहेको बताइन्छ। यति नै पैसा ३० देखि ३५ व्यापारीहरुले बैंकबाट ऋण लिएका छन्।
तर, यीनीहरुले वर्षोदेखि बैंकलाई न साँबा तिरेका छन् न ब्याज । अहिले बैंक डुबिसकेको छ। बैंकले कर्जा दिँदा राखेको धितो मूल्य घट्दै गएको छ। चार वर्षअघि आनाको ६० लाख भनिएको जग्गा अहिले त्यसको आधा मूल्यमा झरेकोछ। ३५ सयको सेयर अहिले सय रुपैयाँमा बिक्री हुन्न।
त्यस्तै, ५० लाखको गाडीमा लाखमा बिक्दैंन । सामाजिक सञ्जाल तथा बजारमा ‘जग्गा किन्दा घर निःशुल्क’ भनिरहेको भेटिन्छ। यद्यपि, त्यो घरजग्गा किन्ने कोही छैन । दुर्गा प्रसाई र मीनबहादुर गुरुङले व्यापारीहरुबाट सामान ल्याउने तर पैसा नतिर्ने गरेको समेत सुनिन्छ।
यता, यीनीहरु प्रत्येक दिन डुब्दै गएका छन् । आमसर्वसाधारणसँग पैसा छैन। बेरोजगारी हवात्तै बढेको छ। बजार मन्दीमा छ। धेरैजसो सटर, कोठा र फ्रल्याट खाली भइसकेका छन् । बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहने मात्र भेटिन्छन्।
किन्ने कोही छैन । सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम डुबाउँदा बचतकर्ताहरुको बिजोग भएको छ । उनीहरु घर न घाटका भएका छन् । अब बैंकले यस्ता ठूला व्यापारीबाट कसरी पैसा उठाउँछ ? बैंक फसिसकेको छ । टाट पल्टिने अवस्थामा पुगेको छ । बैंकमा बचतकर्ताहरुले राखेको रकम जोखिमतर्फ मोडिदैं गएको छ ।
दुई वर्षअघि सहकारीमा समस्या निम्तियो । तर, सहकारीहरुले यो कुरा कसैलाई थाहा हुन दिएनन् । यद्यपि, बाँठाटाँठाहरुले भने यो कुरा थाहा पाए । र, सहकारीमा आफुले राखेको रकम भटाभट निकाले । बजारमा सहकारी भाग्न थालेपछि सञ्चालनमा रहेका सहकारीहरुले बचतकर्ताहरुलाई विभिन्न आश्वासन बाँडे ।
आफु स्थानीयबासी भएको र सहकारीको भवन समेत रहेको दाबी गर्दै उनीहरुले सोझासाझा बचतकर्तालाई रकम झिक्न दिएनन् । तर, आज यस्ता सहकारी समेत रातरात फरार भएको छ । बचतकर्ताहरुको बिचल्ली भएको छ । दुई वर्षअघि एउटै पसले वा व्यापारीले ३०–३५ वटा सहकारीमा बचत गर्थे ।
पसलहरुमा सहकारीका कर्मचारीहरुको भीड हुन्थ्यो । त्यस्तै, बाटोमा पनि जताजतै सहकारीकै कर्मचारी देखिन्थे । एउटा घरमा नौं वटासम्म सहकारी सञ्चालन गरिएको हुन्थ्यो । अहिले सबै सहकारी भागेको छ । नभागेको पनि बचतकर्ताको रकम फिर्ता गरेको छैन ।
सहकारीजस्तै अब बैंकको हालत हुन भएको छ । बुढोपाकाले भन्थे, ‘कहिले बुहारीको पालो, कहिले सासुको ।’ अहिले आम सर्वसाधारणले बैंक टाट पल्टिएको थाहा पाइसकेका छन् । बैंकमा बचतकर्ता गर्ने छैनन् । निकाल्नेको भीड छ । आम सर्वसाधारणले आफुसँग भएको रकम घरमै लुकाए ।
बैंकमा राख्दा सहकारीले जस्तै खाइदिने डर उनीहरुमा छ । सहकारी डुब्दा करोडौं बचतकर्ताको ३८ खर्ब रकम झप्वाम भएको छ । अब बैंक डुब्दा योभन्दा दोब्बर–तेब्बर बचतकर्ताको खर्बो रकम डुब्ने छ । बचतकर्ताहरुको बिल्लीबाँठ हुन्छ । गणेशमान सिंहले नेपाली जनतालाई भेडा भनेका थिए ।
आज उनले नेपालीलाई त्यत्तिकै भेडा नभनेको प्रमाणित भएको छ । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर सर्वसाधारणले दलालीहरुको लौंलौंमा पाँच हजार हालेर समेत किने । यता, सरकारले आनाको एक लाख निर्धारण गरेको जग्गा ४५ लाखमा किने।
भारतमा एक लाखमा पाइने सवारीसाधन यहाँ २० लाख हालेर किने । अनि हाम्रो नेपाली नडुबे अरु को डुब्छौं ? आम सर्वसाधारण, व्यापारी, सरकारी कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बैंक तथा वित्तिय संस्था सबैको पैसा घरजग्गा, गाडी र सेयरमा फसिसकेको छ।
९९ प्रतिशत जनताको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ। हाम्रो देशमा सञ्चालनमा रहेको अधिंकाश बैंकमा विदेशीको लगानी छ। ब्याजको प्रलोभनमा सर्वसाधारणले विदेशीले खोलेको बैंकमा बचत गरे। किनकि सरकारी बैंकले डिपोजिटको कम ब्याज दिन्छ। अनि ऋण पनि कम नै दिन्छ।
उदाहरणका लागि ५० लाख मूल्य बराबरको धितो राखेर १५ लाख मात्र कर्जा प्रवाह गर्छ । त्यसमाथि सरकारी बैंकका कर्मचारीहरु कर्जा दिँदा घुस खान्छन् । अनि कर्जा दिन पनि महिनौं दिन लगाउँछन् । प्राइभेट बैंकहरुले भने बचतकर्ताहरुलाई बढी ब्याज दिए ।
एक करोड मूल्य बराबरको धितोलाई चिनजान भएमा वा घुस पाएमा डेढ करोडसम्म कर्जा प्रवाह गर्ने। अर्कोतर्फ कर्जा दुई–तीन दिनमै उपलब्ध गराउने। दुर्गा प्रसाई र मीनबहादुर गुरुङलाई बैंकले यतिधेरै ऋण दिएको छ ? तर केको आधारमा ? किनकि यीनीहरुको धितो लिलाम गर्दा पनि बैंकले दिएको ऋण असुल्न सक्दैंन।
गत वर्षको माघ ११ गते संघीय संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले आफ्रनै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । आत्मदाह गर्नुअघि उनले फेसबुकमा लामो स्टाटस लेखेका थिए । त्यसमा भाटभटेनीले समेत आफ्नो सामानको पैसा नदिएको उनले जनाएका थिए ।
अहिले दुर्गा प्रसाई र मीनबहादुर गुरुङले थुप्रै व्यापारीहरुको सामानको रकम फिर्ता नगरेको सुनिन्छ । यीनीहरुले हजारौंलाई पीडित बनाएका छन्। व्यापारीहरुको अर्बो रकम तिरेका छैनन्। फेरि बैंक पनि यीनीहरुले नै डुबाउदैं छन् । प्रसाईलाई थाहा भइसकेको छ कि अब सरकारले आफुलाई समात्छ।
बैंकको ऋण पनि आफुले तिर्न नसक्नेमा उनी प्रष्ट छन्। अनि आफु बच्नका लागि उनी कहिले सर्वसाधारणलाई बैंकसँगै सरकारविरुद्ध आन्दोलन गर्न लगाउँछन् त कहिले राजा कहाँ पुग्छन्।
राप्रपाले २०७२ सालको संविधान स्वीकारिसकेको छ। र, गत मंसिर ४ गतेको चुनावमा भाग लिएर १४ सिट समेत जित्यो। अनि प्रसाई एक्लैले राजतन्त्र फर्काउन सक्छन् ? प्रसाई र गुरुङको रणनीति भनेको जनतालाई भ्रममा पार्ने अनि बैंक डुबाउने हो।
त्यसैले, अब सरकारले यस्ता व्यक्ति तथा व्यापारीहरुलाई तत्काल कानूनको दायरामा ल्याउनुपर्छ। यीनीहरुलाई विदेश जान दिनुहुन्न । यीनीहरुलाई निगरानीमा राख्नुपर्छ। किनकि जुनसुकै बेला पनि यीनीहरु भाग्न सक्छन्।