दर्शन : मालेमावादी दर्शनको ऐतिहासिक कार्यभार
- हस्तबहादुर केसी
” जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ,त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ।”- कार्ल मार्क्स-फ्रेडरिक एंगेल्स , संकलित रचना संग्रह खण्ड ३ ,पृष्ठ १८७ ,प्रगति प्रकाशन,मास्को १९७५।
मार्क्सवाद सर्वहारा वर्ग र सबै उत्पीडित जनसमुदायको मुक्तिको सिध्दान्त हो । मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो। मार्क्सवादी दर्शन यसै सिध्दान्तको एक प्रमुख अंग हो। मार्क्सवादले आज विकासकोक्रममा मार्क्सवादको विकासको पहिलो चरण मार्क्सवादको विकास हो।
मार्क्सवादको विकासको दोस्रो चरण लेनिनवाद हो। र मार्क्सवाद – लेनिनवादको तेस्रो र नयाँ चरण माओवादको विकासको चरण हो । यसरी आज मार्क्सवाद – लेनिनवाद – माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त हो।
मालेमावाद एक विकासशील र परिवर्तनशील सिध्दान्त हो । मालेमावादका मुख्यतः तीन ऐतिहासिक कार्यभार रहेका छन् :
(१) दर्शन : एक बौद्धिक हतियार
(२) जनताको बीचमा दर्शन
(३) दर्शनको ऐतिहासिक कार्यभार
(१) दर्शन : एक बौद्धिक हतियार :
दर्शन वास्तविक अर्थमा क्रान्तिको एक बौद्धिक हतियार हो। त्यसैले मार्क्सले माथि व्याख्या गर्नुभएको छ कि वहाँले सर्वहारा वर्ग र क्रान्तिकारी दर्शनका बीच द्वन्द्वात्मक एकरूपता देखाउने काम गर्नुभएको छ। वास्तवमा दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँदछ। यसको अर्थ क्रान्तिकारी दर्शन क्रान्तिकारी वर्गसंग संबंधित रहेको कुरा दर्शाउनु नै हो। त्यसैगरी यहाँ सर्वहारा वर्गले दर्शनमा बौद्धिक हतियार भेटाउने कुरा प्रस्तुत गरिएको छ। यसको अर्थ यस प्रकारको क्रान्तिकारी दर्शन विश्व सर्वहारा वर्गको मुक्तिको प्रश्नसंग अभिन्न रुपमा गाँसिएको कुरालाई दर्शाउनु हो।
मालेमावादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण र वैचारिक हतियार हो र यसलाई क्रान्तिकारी कम्युनिस्टहरूले दृढताकासाथ अवलम्बन गर्न जरुरी छ । दर्शनको यो बौद्धिक तथा वैचारिक हतियारलाई भुत्ते बनाउनका लागि सबैखाले संशोधनवादी तथा प्रतिक्रियावादीहरुबाट निरन्तर असफल प्रयास हुँदै आएको छ र भविष्यमा पनि हुनेछ । तसर्थ क्रान्तिकारी कम्युनिस्टहरू यसप्रति सतर्क रहन जरुरी छ ।
(२) जनताको बीचमा दर्शन :
दर्शन जनताको लागि हो। त्यसैले दर्शनलाई जनता कै बीचमा पुर्याउन जरुरी हुन्छ । मार्क्सवाद दर्शनलाई जनताको बीचमा पुर्याउनु पर्ने आवश्यकतामाथि जोड दिँदै कमरेड माओ त्सेतुङले भन्नुभएको छ , ” मार्क्सवादको सैध्दान्तिक आधारको रुपमा रहेका द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको अध्ययन गर्ने दशौं लाख मानिसहरुका यस्ता डफ्फाहरुको निर्माण गर्ने योजना तयार गर्नैपर्छ र तिनलाई सबै खालका आदर्शवाद र यान्त्रिक भौतिकवाद विरुद्ध जुध्न तयार गराउँनु पर्दछ ।” – माओ त्सेतुङका संकलित रचनाहरु ,भाग ५ , पृष्ठ १२३ , विश्व नेपाली पुस्तक सदन , बागबजार , काठमाडौं २०६३ ।
मार्क्सवादी संघर्षको दर्शन बताउनुहुने कमरेड माओ त्सेतुङले यहाँनीर दर्शनलाई व्यवस्थित रुपले जनताका बीचमा पुर्याउनुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुभएको छ । दर्शनलाई जनताका बीचमा पुर्याउनका लागि सर्वप्रथम क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता कार्यकर्ताहरुलाई दर्शनका विषयमा , मालेमावादका बारेमा गहन अध्ययन र स्कुलिङ गराउन जरुरी हुन्छ । किनभने कम्युनिस्ट पार्टी कार्यकर्ता आधारित जनताको पार्टी भएकोले आफ्ना नेता कार्यकर्ताहरु दीक्षित भए पछि मात्र दर्शनलाई जनताको बीचमा पुर्याउन सकिन्छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु र आम जनसमुदायलाई के कुरा बुझाउन जरुरी हुन्छ भने मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो र विज्ञान हुनुको नाताले मालेमावादी दर्शन सबैखाले आदर्शवाद , अधिभूतवाद तथा यान्त्रिक भौतिकवादका विरुद्ध वैज्ञानिक विश्वदृष्टिकोणमा आधारित छ।
विज्ञान हुनुको नाताले यो दर्शनले व्यवहारिक प्रयोगको माग गर्दछ। साथै सर्वहारा वर्गको वैज्ञानिक हुनुको नाताले मालेमावादी दर्शन वर्गीय पक्षधरतामा आधारित छ र यसले सर्वहारा वर्ग तथा आम जनसमुदायको सेवा गर्दछ भन्ने कुरा बुझाउन जरुरी हुन्छ। जुन दर्शन जुन वर्ग तथा समुदायप्रति पक्षधर छ र तिनको सेवा गर्दछ त्यो दर्शनलाई त्यही वर्ग तथा त्यसै समुदायले गंभीरतापूर्वक आत्मसात् गर्न जरुरी हुन्छ ।
यस अर्थमा मालेमावादी दर्शनको अध्ययन कुनै विद्वानहरु , पार्टीका नेता , कार्यकर्ताहरु मात्रले होइन सिंगो जनसमुदाय र मानव समुदायको विशाल हिस्साले गर्नुपर्दछ । अनिमात्र दार्शनिक क्षेत्रमा विद्यमान सबैखाले गलत चिन्तन र प्रवृत्तिहरुमाथि विजय प्राप्त गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले क्रान्तिलाई सही दिशामा अगाडि बढाउन सक्छन् । माथि कमरेड माओ त्सेतुङका उक्त भनाइहरुको असली सार पनि यही नै हो ।
(३) मालेमावादी दर्शनको ऐतिहासिक कार्यभार :
मालेमावादी दर्शन अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका निश्चित , विशिष्ट र बहुविध ऐतिहासिक कार्यभार छन् । ती ऐतिहासिक कार्यभारलाई यसरी संक्षिप्त रुपमा प्रस्तुत गर्न सकिन्छ :
( क) अध्ययन र अनुसन्धानको विषय :
यो प्राकृतिक विज्ञान र सामाजिक विज्ञानका विविध क्षेत्रहरुमा गरिने अध्ययन र अनुसन्धानका कामहरुमा मालेमावादी दर्शनको विधिलाई सही ढंगले प्रयोग गर्ने र त्यसका आधारमा विज्ञानसम्मत निष्कर्ष निकाल्ने विषयसंग सम्बन्धित प्रश्न हो। आज समाजशास्त्र , मानविकीशास्त्र र संस्कृति सहित ज्ञान विज्ञानका विविध क्षेत्रमा दार्शनिक रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी ( वैज्ञानिक ) अध्ययन विधिलाई लत्याउँदै अधिभूतवादी तथा आदर्शवादी विश्वदृष्टिकोणका आधारमा अध्ययन गरी अवैज्ञानिक निष्कर्षमा पुग्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको छ। यहाँनिर मालेमावादीहरुले यसप्रकारको अध्ययन विधिको सशक्त रुपमा विरोध तथा भण्डाफोर र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विधिलाई दृढताका साथ अवलम्बन गर्न आवश्यक छ ।
( ख) वर्गसंघर्ष तथा सिंगो सामाजिक क्रान्तिका समस्याहरुको अध्ययन र समाधानको सवाल :
समाजमा विद्यमान जनसमुदाय र दुश्मन वर्ग बीचका अन्तर्विरोधहरुलाई ठिक ( वैज्ञानिक ) ढंगले बुझ्ने र तिनको वैज्ञानिक ढंगले समाधान गर्ने प्रश्न नै आजको मुख्य प्रश्न हो । यो प्रश्न नयाँ जनवाद तथा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक दायित्वसंग सम्बन्धित रहेको छ ।
( ग) दुई लाइन संघर्षलाई बुझ्ने त्यसको समाधान गर्ने प्रश्न :
कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित अग्रदस्ता हो । सिंगो सामाजिक क्रान्तिक सम्पन्न गर्ने ऐतिहासिक कार्यभार बहन गरिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नयाँ ढंगको , अब्बल दर्ताको क्रान्तिकारी कम्युनिस्ट पार्टी हुन जरुरी हुन्छ । कम्युनिस्ट पार्टीले विपरीत तत्वको एकत्वलाई स्वीकार्दछ ।
यो प्रश्न कम्युनिस्ट पार्टी भित्रको दुई लाईन संघर्षलाई ठिकसंग बुझ्ने र त्यसको समाधान गर्ने प्रश्न हो ।यो प्रश्न कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाउँदै त्यसको नेतृत्वमा सामाजिक क्रान्तिलाई सचेत तथा प्रभावकारी ढंगले अगाडि बढाउने प्रश्न हो ।
( घ) दर्शनलाई जनताका बीचमा पुर्याउने र जनतामा विद्यमान सिर्जनात्मक उर्जाको उद्घाटन गर्ने प्रश्न :
यो प्रश्न जनतालाई मालेमावादी सिध्दान्तले शिक्षित तुल्याउने , सिंगो जनसमुदायको सहभागीतामा सामाजिक क्रान्ति सम्पन्न गर्ने र जनताका समग्र उत्पादनमूलक , सामाजिक तथा चिनणतनमूलक गतिविधिहरुलाई योजनाबध्द रुपमा संगठित तुल्याउँदै अगाडि बढ्ने प्रश्न हो ।
(ङ) दिशाबोधको प्रश्न :
दार्शनिक क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले कुनै पनि वस्तु र प्रक्रियालाई स्थिर वा शाश्वत मान्दैन र तिनलाई गति , विकास र परिवर्तनको अवस्थामा हेर्दछ । यसले जीवनशील र मरणशील , नवीन र पुरातन तथा उत्पीडित र उत्पीडक शक्ति एवं वर्गका बीचको अन्तर्विरोधलाई सजीव रुपमा प्रस्तुत गर्दै समाजविकासको ऐतिहासिक दिशालाई राम्रोसँग ठम्याउँने गर्दछ ।
यो प्रक्रिया सामन्तवाद , पुँजीवाद एवं साम्राज्यवाद सहित सबैखाले प्रतिक्रियावाद तथा उत्पीडक वर्ग विनाश एवं पराजय र उत्पीडित जनसमुदाय सहित सर्वहारा वर्ग नयाँ जनवाद , वैज्ञानिक समाजवाद एवं साम्यवादको विकास एवं विजयको दिशातर्फ अगाडि बढिरहेका छन् भन्ने कुरालाई राम्रोसँग दर्शाउँछ । यो दर्शन क्रान्तिकारी र आलोचनात्मक हुनुको साथै वैज्ञानिक र आशावादी समेत रहेको छ
( च) सिंगो विश्वलाई बुझ्ने र बदल्ने प्रश्न :
यो प्रश्न प्रकृति जगत , मानव समाज र चिन्तनको क्षेत्रमा विद्यमान अन्तर्विरोधहरुलाई ठिकसंग बुझ्ने र तिनलाई सिंगो मानव जातिको हित अनुकूल बदल्ने प्रश्न हो ।
निष्कर्ष : क्रान्तिकारी कम्युनिस्टहरूले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका यसप्रकारका कार्यभारहरुलाई राम्रोसँग आत्मसात गरि सिंगो विश्व र आफैंलाई बदल्दै अगाडि बढ्ने महान् ऐतिहासिक अभियानमा संलग्न बन्नु अनिवार्य हुन्छ। क्रान्तिकारी कम्युनिस्टहरू सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदाय र अन्ततः सिंगो मानव जातिकै सुन्दर,सुसंगत तथा उदात्त प्रकारको नयाँ नयाँ संसार निर्माण गर्न चहानुपर्छ। नयाँ संसार भनेको वर्गविहिन ,राज्यविहि वैज्ञानिक साम्यवादी संसार हो ।
( लेखक : वरिष्ठ मार्क्सवादी लेखक र अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।