देशभरका यी स्थानीय तह,प्रदेश र संघको उपचुनाव गर्ने तयारीमा आयोग

काठमाडौं। जनप्रतिनिधिको निधन भएमा,पदबाट राजीनामा दिएमा,अदालतले अयोग्य ठहर गरेमा,वा सम्बन्धित दलको कारबाहीमा परेपछि जनप्रतिनिधिको पद रिक्त हुने कानूनी प्रावधान छ।

यसरी रिक्त पदमा उपचुनाव गराएर जनप्रतिनिधि पठाउनुपर्ने कानूनी प्रावधानका लागि अब निर्वाचन आयोगले उपचुनावको तयारीलाई तीब्रता दिन थालेको छ। यस्तोमा कहाँ हुँदैछ त उपचुनाव?

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ एमालेका सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएपछि यो स्थान रिक्त छ।

बझाङ प्रदेशसभा १ (१)–सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका कांग्रेस सांसद पृथ्वीबहादुर सिंह सडक दुर्घटनामा मृत्यु भएपछि यो स्थान रिक्त छ।

स्थानीय तह: कहाँ-कहाँ छ रिक्त?

१- रौतहटको मौलापुर नगरपालिका–मेयर रीना कुमारी साह। साह एमालेबाट निर्वाचित भएपनि उनले आम जनता पार्टीको सदस्यता लिएको भन्दै उनलाई पदमुक्त गरेपनि सर्वोच्च अदालत पुगेर उनले आफ्नो पक्षमा फैसला गराएकी छन्।

उनी यसअघि पनि माओवादी केन्द्रको कारबाहीलाई चुनौति दिनेमा पर्छिन्। प्रभु साह पत्नी समेत रहेकी साह यसरी नै मेयर पद चलाउनेमा समेत अग्रसर देखिन्छिन्।

२-दैलेखको महाबु गाउपालिका–पालिका अध्यक्ष लछुमन गुरुङको उच्च रक्तचापका कारण निधन भएपछि यो स्थान रिक्त छ।

३- जाजरकोटको नलगाढ नगरपालिका–गएको कात्तिक १८ गते राति गएको भूकम्पमा परि उपप्रमुख सरिता सिंहको निधन भएपीछ यो स्थान पनि रिक्त छ।

४- दोलखाको गौरीशंकर गाउपालिका–उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएपनि यो स्थान पनि रिक्त छ।

५- बाजुराको स्वामिकार्तिक खापर गाउपालिका– उपाध्यक्ष मैना जोशीको क्यान्सरका कारण निधन भएपछि यो स्थान पनि रिक्त छ।

वडा कहाँ–कहाँ रिक्त छ

रिक्त वडाध्यक्षमा केहिको निधन भएको हो भने केहि माथिल्लो तहमा पुगेका कारण रिक्त भएको हो। दुई वडाध्यक्ष जिल्ला समन्वय समिति प्रमूखमा गएकाले स्थान रिक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन्। नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छ। निर्वाचन आयोगले उपचुनावको तयारी गरेसँगै इलाम क्षेत्र नम्बर २ र प्रदेसभाको निर्वाचनमा भने दलहरुबीच रस्साकस्सी हुने देखिन्छ।

स्थानीय तहको चुनावमा समेत रस्साकस्सी चल्ने सम्भावना बलियो भएपनि इलाम र बझाङ १ भने पेचिलो बन्नेछ। बझाङमा कांग्रेसले स्वतस उम्मेदवार पठाउने सम्भावना बलियो भएपनि इलामको चुनावमा सुवास नेम्वाङका छोरा सुहाङदेखि थुप्रै हेविवेट पराजित नेताहरुले नजर लगाइरहेका छन्।

सम्भवतः सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई उम्मेदवार बनाउनेछ। उनी सत्ता गठबन्धनको खरो विरोधमा उत्रिने गरेका छन् । प्रतिनिधिसभामा ल्याएर उनलाई सन्तुलनमा राख्ने काम नहोला भन्न सकिन्न।