क्यान्सरपीडितलाई काठमाडौं–दिल्ली जानआउन निःशुल्क हवाई सेवा
काठमाडौं । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
‘विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ’, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।