सरकारलाई नै घेराबन्दी गरिएको छ: गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार घेराबन्दीमा परेको बताएका छन्। मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले सो कुरा बताएका हुन। उनले भने, ‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ।
बैठकमा सांसदहरुले सरकारको सन्दर्भमा अनेकन विषय बजारमा आइरहेको भन्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग जिज्ञासा राखेका थिए।
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा विवाद, टेरामक्स प्रविधि खरिद प्रकरणमा भएको भनिएको अनियमिततामाथिको अनुसन्धानले सरकारको आयुका सन्दर्भमा प्रश्न उठाएको भन्ने विषय के हो भनी उनीहरुले राखेका थिए। साथै, तारागाउँ स्थित सरकारी जग्गा विवादको विषयमा सिआइबीले अनुसन्धान अगाडि बढाएको विषयमा समेत सांसदहरुले जिज्ञासा राखेका थिए।
कतिपयले गृहमन्त्री फेरेर गठबन्धन टिकाउन लागिएको भन्ने समेत सुनिएको भनी प्रश्न गरेका थिए ।
जवाफमा गृहमन्त्री श्रेष्ठले कुनै पनि प्रकरणको नाम लिएनन् । तर, चुनाव लगत्तै माओवादी केन्द्रको नेतृत्वमा सरकार नबनाउन बिभिन्न शक्ति केन्द्रहरु लागि परेको बताए । पार्टी र सरकारको नेतृत्वले सुझबुझका साथ आवश्यक कदम चालेको उनको भनाइ छ।