क्षमता नभएको व्यक्तिलाई नेता बनाउँदा मुलुक र जनताको अवस्था दयनीय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आम सर्वसाधारण सोध्छन्,‘भारत र चीनले कति नेपाली भूभाग कब्जा गरेका छन्। त्यसको विवरण जनतालाई दिन सक्नुहुन्छ ?’ ०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ रहेको छ।

यसमध्ये धेरै नेपालीहरु आफ्नो देशको नागरिक त्यागेर अन्य देशको नागरिक भइसकेका छन्। के यसको तंथ्याक प्रधानमन्त्री सार्वजनिक गर्न सक्छन् ? मुलुकमा रोजगारी नभएर खाडी पुगेका नेपाली कामदारहरु गल्तीबिना त्यँहास्थित जेलमा छन्।

कतिपयलाई त फासीको समेत सजाय सुनाइएको छ । र, उनीहरु सोही दिन कुरेर बसिरहेका छन्। प्रधानमन्त्री न आफ्नो देशको माया छ न त आफ्ना देशका जनताको । प्रधानमन्त्री भएपछि राष्ट्र र जनताको विषयमा सम्पूर्ण जानकारी हुनुपर्छ।

आफ्नो देशभित्र के भइरहेको छ ? किन भइरहेको छ ? त्यसले के प्रभाव पारिरहेको छ ? भनेर प्रधानमन्त्रीलाई केही थाहा छैन। यता, सर्वसाधारणलाई अझै भ्रममा पार्न ठुल्ठुलो भ्रष्टाचारको फाइल खोल्ने, आर्थिक सुधारको लागि तत्काल एक्सनमा जाने प्रधानमन्त्री दाबी गर्छन् ।

सरकारी कर्मचारीहरु आम सर्वसाधारणको काम छिटोछरितो गर्दैनन् । हरेक क्षेत्रमा सिण्डिकेट, कालोबजारी र बेथिति छ । यातायात क्षेत्रमा एकाधिकार कायमै छ । बजार अनुगमन गर्न कोही निस्कदैंन । प्रधानमन्त्रीको निर्देशन मन्त्री र कर्मचारी मान्दैनन् ।

सहकारीका कारण करोडौं बचतकर्ता चुलुम्मै भए । उनीहरुको रुवाबाँसी छ । कतिपयले त सहन नसकेर आत्महत्या समेत गरेका छन् भने कतिपय डिप्रेसनमा गएका छन् । सहकारीजस्तै बैंक पनि त्यँही अवस्थामा पुग्ने देखिएको छ ।

केही दिनयता बैंकमा पैसा निकाल्नेको संख्या हवात्तै बढेको छ । बैंकले घरजग्गा, गाडी र सेयरमा सम्पूर्ण कर्जा लगानी गरेको छ भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । दलालहरुले सीधासाधी जनतालाई फसाउनु फसाए । एक सयको सेयर ३५ सयमा बेचे ।

पाँच हजार आना नपर्ने खेतीयोग्य जमिन प्लानिङ गरेर आनाकै ६०–७० लाखमा बेचे । गाडीमा पनि त्यँही भएको छ । यसले सीधासाधी जनता दलालहरुका कारण नराम्ररी डुबेका छन् । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा छन् । मानिसहरुले पाँच सय र हजारको नोट लुकाइसकेका छन् ।

माडेहरुले यहाँको पैसा सबै आफ्नो देशमा लगिसकेका छन् । प्रत्येक दिन कोठा, सटर र फ्रल्याट खाली भइरहेका छन् । व्यापारीहरु भन्छन्, ‘सटर खोल्नु मात्र हो । कहिले काँही त बहनी समेत हुन्न ।’ निजी कम्पनी, संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल तथा घरायसी काम गर्नेहरु धमाधम कामबाट निकालिएका छन् ।

अधिंकाश त महिनौंदेखि तलबबिनै कामबाट निकालिएका छन् । ७०÷८० वर्षका बुढाहरु भन्छन्, ‘बजार यस्तो मन्दीमा गएको हामीलाई अहिलेसम्म थाहा थिएन ।’ अहिले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गा, गाडी र सेयर किन्नेलाई मर्नु कि बाँच्नु भएको छ ।

ऋण तिर्न पैसा छैन त धितो बिक्री हुन्न । ९९ प्रतिशत मानिसहरुको घरजग्गा, गाडी र सेयर बैंकको नाममा छ । जसले गर्दा व्यक्ति र बैंक नै डुब्ने देखिएको छ । ०६३ सालअघि सहकारी च्याउ उम्रिएझै थिएनन् । न त घरजग्गा, गाडी र सेयरको मूल्य नै उच्च थियो ।

०६३ सालमा जब माओवादी र सरकारबीच वार्ता भयो । अनि माओवादीका नेता तथा कार्यकर्ताले आफु भूमिगत हुँदा बैंक लुटेको पैसा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । र, सबै माओवादी कार्यकर्ताले पनि सहकारी खोले । त्यसबेला आनाको ५० हजार नपर्ने जग्गा ०७८ सालमा आइपुग्दा ८० लाख पुप्याइदिए ।

अहिले सबै पैसा घरजग्गा, गाडी र सेयरमा फ्रिज भएको छ । नेकपा माओवादी केन्द्र अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले हिजो ‘जनयुद्ध’ सुरु गरेको यँही देश बेच्नको लागि हो ? ०५२ सालअघि नेपालले विदेशीसँग ऋण लिएको थिएन । नेपालीलाई भेडाबाख्राझैअन्य मुलुकमा बेचिएको थिएन ।

तर, अहिले त विदेशी ऋण नै २७ खर्ब पुगेको छ । एयरपोर्टबाट दिनहुँ हजारौंको संख्या नेपालीहरु विदेशिएका छन् । भूमिगतबाट सार्वजनिक भएपछि प्रचण्डले मुलुकमा आमी आवश्यक छैन र हटाउनुपर्ने बताएका थिए । यद्यपि, अहिले उनी नै प्रधानमन्त्री हुँदा आमी हटाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले देश चलाउन सक्दैनन् र उनीसँग क्षमता पनि छैन भनेर अहिले सर्वसाधारणले बुझिसकेका छन् । त्यस्तै, शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनालले पनि सक्दैंनन् । ०६९ सालमा भट्टराई प्रधानमन्त्री थिए ।

पछि राजनीतिक दलहरुबाट सरकारबाट बाहिरिए । र, खिलराज रेग्मीलाई सरकारमा ल्याई चुनाव गराई । त्यतिखेर नै राजनीतिक दलहरु असफल भएको जनताले थाहा पाइसकेका थिए । किनकि आफुले देश चलाउन नसकेर एउटा कर्मचारीलाई जिम्मा दिनु कति लज्जास्पद विषय हो ?

खिलराज रेग्मीले पनि निर्वाचन गराउन नसकेको भए लोकतन्त्र गणतन्त्र रहदैंन्थ्यो । राजतन्त्र नै फर्किन्थ्यो । तर, रेग्मीले हार मानेनन् । र, निर्वाचन गराएरै छोडे । देउवा, ओली, नेपाल असफल भइसकेको अहिले छलंग छ । अहिले दुर्गा प्रसाई राजा ल्याउन लागिपरेका छन् ।

उनको पृष्ठभूमि केलाउने हो भने प्रसाई मेडिकल माफिया हुन् । र, बैंकबाट अर्बो ऋण लिएर नतिर्ने फट्याहा पनि हुन् । प्रसाईको अगाडि राजनीतिक दलहरु निरीह बनेका छन् । ०७० सालको निर्वाचनमा कमल थापाले राजाबाट करोडौं पैसा ल्याएर खाए ।

अहिले प्रसाई पनि राजाले आफ्नो ऋण तिरिदिने आशमा राजाको गुनगान गाइरहेका छन् । फेरि राजनीतिक दलहरु असफल भएको फाइदा उठाउँदै प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रयोग गरिरहेका छन् । प्रसाईले बैंकको ऋण त तिरेनन् नै सँगै व्यापारीहरुको समेत रकम चुक्ता गरेका छैनन् ।

बैंकमा बचत गर्नेहरुको निन्द्रा र भोक नै हराइसकेको छ । बैंकबाट प्रसाईले मात्र होइन, भाटभटेनीका साहु मिनबहादुर गुरुङलगायत ठुल्ठुला व्यापारीहरुले अर्बोदेखि खर्बो ऋण लिएका छन् । तर, तिरेका छैनन् । सरकारले देखिसकेको छ कि सहकारीका कारण बचतकर्ताहरुको के–कस्तो हालत भयो ।

अब बैंकका कारण पनि जनता त्यँही अवस्थामा पुग्नेछन् । अहिले बजारमा सुनिन्छ कि दुर्गा प्रसाई आफ्नो अघिपछि डेढ सय युवा लिएर हिँड्छन् । मुलुकमा सरकार छ । प्रहरी प्रशासन छ । तर, प्रसाईलाई किन कसले पनि समात्न सक्दैंन ? बेरोजगार, गरिब युवाहरुलाई प्रयोग गरी प्रसाई बैंक डुबाउन खोज्दै छन् ।

त्यसकारण अब सरकारले बैंकबाट ठूलो कर्जा लिएर नतिर्ने व्यक्ति तथा व्यापारीलाई धमाधम पक्राउ गर्नुपर्छ । यीनीहरुले कर्जा नतिर्नेबित्तिकै बैंकमा बचत गर्नेहरु सुकुम्बासी हुनेछन् । अब कि त सरकारले बैंकमा पैसा नराख्नू भनेर सर्वसाधारणलाई सचेत गराउनुपर्छ होइन भने बैंकमा बचत गरेको जनताको रकमको सुरक्षा गरिदिनुपर्छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा गरिबको घरमा जान्थे । र, त्यहाँ जे पाक्थ्यो, त्यँही खाएर सुत्थे । तर, ओली र प्रचण्डले प्रसाईको घरमा गएर मार्सी चामलको भात खाए । दलाली, माफियाको घरमा गएर मार्सी भात खाएको फल अहिले ओली र प्रचण्डले भोगिरहेकाछन् ।

खानाको लोभमा आज ओली र प्रचण्डले आफ्नो राजनीति र अस्तित्व गुमाएका छन् । क्षमता नभएको वा सोच्न नसक्ने व्यक्तिलाई जनताले नेता बनाउँदा आज मुलुक यो अवस्थामा पुगेको छ । जनता पनि पाउनु दुःख पाएका छन् ।
रुषा थापा