सरकार, सांस्कृतिक सम्पदाको संरक्षणतर्फ चासो दिने कि ?

देशभरका आम जनता काठमाडौं आउँदा सुन्धारा हेर्न चाहन्छन्। विभिन्न जिल्लाबाट काम लिएर आएका हुन् या घुम्नका लागि उनीहरु सुन्धारा जान्छन् नै। अधिकांशले सुन्धारा भन्नेबित्तिकै धारा होला भन्ने सोच्छन्। तर, त्यहाँ अहिले धारा छैन्। सुन्धारा त छ तर धारा मासिसकेको छ।

सुकेधारा, बसुन्धारा, जोरकुवालगायतका नाम अहिलेपनि चर्चामा छ। तर, सुकेधारा खोइ त ? त्यहाँ कुनै धारा छैन् । धारा भएकाले नै त त्यहाँको नाम यस्तो राखिएको हो। यद्यपि, सबै धारा, कुवा मासिसकेको छ। कमलपोखरी, नागपोखरी, गणपोखरी, लामपोखरीलगायत थुप्रै पोखरीका नामबाट ठाउँ परिचित छ।

विडम्बना, पोखरी छैन्, नाम मात्रै छ। पोखरी नै गायब भइसकेको छ । पोखरीको जग्गा व्यक्तिले आफ्नो नाममा लगेर घर बनाइसकेको छ।

सोह्रखुट्टे भन्ने नाम किन रहन गयो ? किन त्यहाँ बटुवाहरुलाई बास बस्न मिल्ने पार्टीपौवा थियो । अहिले पनि सो स्थानलाई सोह्रखुट्टे नै भनिन्छ।
तर, पार्टीपौवा कहाँ छ ? नक्साल भगवतीथान मन्दिरभित्र सानो एउटा ढुंगेधारा छ । धाराबाट तिरतिरे पानी आउँछ।

लामो समयदेखि जम्मा भएको पानीका कारण त्यहाँ फोहोर भएको छ। गन्हाएर बस्न नसक्ने हुन्छ । तर, कसले सफा गर्ने ? चाबहिल गणेशस्थान मन्दिरबाट चोक आउने बाटोमा ढुंगेधारा छ।

त्यो ढुगेधाराको जग्गा पनि मिचिएको छ । पानी नआउने ढुंगेधारासँगै जोडिएका एउटा भवन बन्दै छ । सो भवनले ढुंगेधाराको जग्गा मिचेको छ। भक्तपुर सूर्यविनायक नगरपालिकाको चर्चित मन्दिर हो, सुशिल भैरव थान । तर, संरक्षण गर्नुपर्नेले नै मन्दिरको जग्गा मिचिरहेका छन्।

वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार भन्नेले त्यहाँको जग्गा मिचेर घर ठड्याएका छन्। उनको घरसँगै रहेको अन्य दुई जनाले भैरवथानको जग्गा मिचेर मन्दिरभन्दा अग्लो घर बनाएका छन्। राजकुमारको घरको छेउमै पिपलको बोट छ। त्यहाँ ढुंगेधारा र पोखरी थियो । ढुंगेधारा र पोखरीको जग्गासँगै सरकारी जग्गा मिचेर त्यहाँ थुप्रै घर बनेका छन् ।

तर, वडाध्यक्षलाई मतलब छैन् । मतलब गरुन् पनि किन, आफैंले मन्दिरको जग्गा मिचेका छन् । आफ्नो वडामा सरकारी जग्गा कति छ ? गुठीका जग्गा कति छ ? ढुंगेधारा, तालपोखरी कति छ ? पार्टीपौवा कति छ ? यसको तथ्याङ्क वडा कार्यालयसँग छैन् । न जनप्रतिनिधिहरुले खोज्छन् ।

बरु उनीहरु आफैं सरकारी सम्पत्ति दोहन गर्नतर्फ लागेका छन् । बुढापाकालाई कहाँ के थियो ? स्पष्टै थाहा छ । तर, तिनको आवाज कसले बाहिर ल्याइदिने ? आज र भोलिको अवस्थामा बाँचिरहेका उनीहरु अस्ताएपछि त्यहाँ के थियो ? भनेर कसले भन्ने ? हाम्रो सम्पदाहरु एकपछि अर्को गर्दै मासिएको छ ।

नेपाल एउटा सांस्कृतिक सम्पदामय देश हो । तर, संरक्षण नहुँदा पुर्खाले सिर्जेको सम्पत्ति पनि लोप हुने अवस्थामा पुगेको छ । ढुंगेधारा, तालपोखरी, पार्टीपौवा, चौतारा त मासिसक्यो, बाँकी भएका केही सम्पदा पनि अबको केही वर्षमै मासिन्छ । अबको नयाँ पुस्ताले यी सम्पदा देख्न पाउने छैनन् ।

उनीहरुलाई ढुंगेधारा, पार्टीपौवा भन्ने थाहा हुँदैन् किन कि उनीहरुले देख्नै पाउँदैनन् । गरिब, दुःखीहरुको सेवा गर्ने भनि दर्ता भएका एनजिओहरुले पनि सरकारको सम्पत्ति दोहन गरेका छन् । काम गरिबको गर्ने भन्ने तर धन्दा अर्कै चलाउने । देशमा जति पनि ठूला व्यापारी छन्, तिनीहरु यत्तिकै उचाइमा पुगेका होइनन् ।

सबैले गैरकानुनी काम गरेका छन् । भाटभटेनीका साहु मिनबहादुर गुरुङ्ग ललिता निवासको जग्गा प्रकरणमा मुछिए । उनले त यहाँको मात्र होइन् ,देशभरको जग्गा कब्जा गर्नेका होलान् । तर, छानबिन कसले गर्ने ? उनीहरुलाई कानुनको दायरामा कसले ल्याउने ? डलर अर्बपति विनोद चौधरीले ‘चौधरी ग्रुप’ को आवरणको सरकारको सम्पत्ति आफ्नो नाममा लगेका छन् ।

बाँसबारीस्थित सरकारको जग्गा मिचेको विषयले पनि यसको पुष्ट्याइँ गर्दछ । उद्योगीको बर्को ओढेर सरकारी सम्पत्ति कब्जा गर्ने अन्य थुप्रै व्यक्ति छन् । एउटा सामान्य परिवारमा हुर्किएको व्यक्ति रातारात त्यो उचाइमा पुग्दैन् । सरकारी जग्गा कब्जा गर्ने, व्यक्तिगत सम्पत्ति जोड्ने, राजश्व छली गर्ने, मजदुरलाई तलब नदिने अनि आफूलाई देशको प्रतिष्ठित उद्योगी भन्ने ?

देश सकाउनेलाई उद्योगी भन्नुपर्दा नेपालीलाई हीनताबोध हुने गरेको छ । क–कसले सरकारी जग्गा लग्यो ? यो छानबिन हुनैपर्छ । सरकारको सम्पत्ति मिचेर धनी भएका छन्, अझै शान देखाउँछन् । धोबिघाट किन भनिन्छ ? धोबीले लुगा धुने ठाउँ भएकाले त धोबिघाट भनिएको हो । तर, धारा त मासिसक्यो ।

पानीपोखरीलाई अहिलेपनि पानीपोखरी नै भनिन्छ । तर, पानीपोखरी खोइ त ? नामचाँहि छ तर त्यहाँको सम्पदा छैन् । सबै मिलेर बाँडीचुडी खाइसके, अनि कहाँबाट रहोस् ? घट्टेकुलामा घट्ट र कुलो केही पनि छैन् । बाँसबारीमा पहिले बाँस नै बाँस थियो । त्यसैले त्यसलाई बाँसबारी भनियो ।

तर, केही प्रतिष्ठित व्यापारी र व्यक्तिले त्यहाँको बाँस काटेर घरैघर बनाए । नेपाललाई विश्वले किन चिन्छ ? पर्यटक यहाँ के हेर्न आउँछन् ? अहिलेपनि नेपाल संस्कृतिले भरिपूर्ण देश हो भनिन्छ । यहाँ आकर्षक सांस्कृतिक सम्पदा छ भन्ने गरिन्छ । तर, अब यो किताबमै मात्र सीमित हुने बेला भइसकेको छ ।

न यहाँ संस्कृति छ न सांस्कृतिक सम्पदा । सबै मासिँदै गयो । सांस्कृतिक सम्पदाले विश्वमा नेपाललाई फरक पहिचान दिएको थियो । तर, अब पर्यटक यहाँ के हेर्न आउने ? घर, थोत्रा गाडी, फोहोर र प्रदूषण । सांस्कृतिक सम्पदाको जगेर्नाका लागि मुलुकमा थुप्रै निकाय छन् । तर, त्यही निकायकै कर्मचारीको मिलेमतोमा सरकारी सम्पत्ति व्यक्तिको नाममा गएको छ ।

उपत्यकाभित्र ६३४ वटा ढुंगेधारा थियो । अहिले ती ढुंगेधारा कहाँ छन् ? सरकारले खोजेको छ ? माफियाहरुको कुदृष्टि पर्दा सबै विस्थापना भयो। बाँकी भएको एकाध पनि तिनले कब्जा गर्छन् । मुलुकभर ७५३ वटा स्थानीय पालिका छन् । जनप्रतिनिधिको तलबभत्ता र सेवासुविधामा मासिक राज्यको अर्बौं रुपैयाँ खर्च हुन्छ ।

तर, ती जनप्रतिनिधिले आफ्नो पालिकाभित्रको सम्पदा खोजतलास गर्न चासो देखाएका छैनन् । बरु माँस्नमा उनीहरुको हात छ । मठमन्दिर नै घरभित्र पारेर घर बनाइएको छ । त्यस्तालाई कारबाही हुन पर्दैन् ? एमालेको धुम्बाराहीस्थित पुरानो पार्टी कार्यालय पनि सरकारी जग्गामा छ ।

सरकारी जग्गा व्यक्तिको नाममा लगेर त्यहाँ घर बनाइयो । बबरमहलमा भएको नेपाल कला परिषद् पनि सरकारी जग्गामै बनेको छ । बबरमहलस्थित सडक विभागअगाडि रहेको कर्मचारी संगठनको घर पनि सरकारी जग्गामै निर्मित छ । राजनीतिक दल सरकारी कर्मचारी, व्यापारी, व्यक्ति सबै सरकारी जग्गा कब्जा गर्ने अनि जोगाउन नै कसले ?

सरकारी जग्गा कब्जा गरेर व्यक्तिहरुले निजी अस्पताल बनाएका छन् । सामुदायिक शैक्षिक संस्थाका जग्गा पनि व्यक्तिको नाममा गइसकेको छ। त्यहाँको जग्गा भाडामा लगाइएको छ । सरकारी जग्गा र गुठी जग्गा पहिले कति थियो ? अहिले कहाँ कहाँ छ ? भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले खोजतलास गर्दैन्।

यता, नापी विभाग पनि अनदेखा गरिरहेको छ। सरकारले २०२१ र २०३२ सालमा देशभरका जग्गा नाप्यो । व्यक्तिहरुलाई त्यतिबेला लालपूर्जा दिइयो । त्यस्को फाइदा कानुन व्यवसायी र जग्गा दलालहरुलाई भएको छ । नापजाँच गर्न छुटेको भन्दै उनीहरुले सरकारको सम्पत्ति आफ्नो नाममा लगे ।

भएका सरकारी जग्गा सिद्धिहाल्यो । बाँकी भएको जग्गा पनि राजनीतिक दलहरुले कार्यकर्ता उचालेर कब्जा गर्न लगाए । नेपालका धेरै सम्पदा विश्व सम्पदा सूचीमा परेको छ। यही सम्पदाले नेपाललाई विश्वमा चिनाएको थियो । तीन तहकै सरकारले सम्पदालाई नजोगाउन हो भने सरकारी सम्पत्ति पनि सिद्धिन्छ, नेपालको अस्तित्व पनि छाँयामा पर्छ।