एसीसी महिला प्रिमियर कप क्रिकेट: नेपालले आज मलेसियासँग खेल्दै

फाइल तस्वीर

काठमाडौं। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको फाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दैछ। मलेसियासँगको खेलमा जित निकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ।

बुधवार भएको खेलमा जापानलाई १६ रनले पराजित गर्दै मलेसिया सेमिफाइनलमा पुगेको हो। यसअघि बुधबार नै कुवेतविरुद्धको खेलमा नेपाल डकवर्थ लेविस पद्धति (डीएलएस) अनुसार आठ विकेटले विजयी भएको थियो।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको थियो। त्यसपछि वर्षाका कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ६.५ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो।

नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो।

नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो। एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलोपटक आयोजना गरेको हो।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छन्। एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन्।