काठमाडौंमा निषेधित क्षेत्रको अवधि फेरि दुई महिना थपियो
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा लगाइएको निषेधित क्षेत्रको अवधि फेरि दुुई महिना थप भएको छ। काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोकेको तेस्रो पटक हो।
प्रशासनले माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह,प्रधानमन्त्री निवास,संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो।
यसअघि मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न नपाइने भन्दै निषेधित क्षेत्र तोकिएको थियो।
मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रमका कारण प्रशासनले निषेधित क्षेत्र तोकेको थियो। त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो।
कार्यपालिका, व्यवस्थापिका,न्यायपालिका,अतिविशिष्ट पदाधिकारी बसोबास गर्ने तथा कार्यालयलगायत आसपासका क्षेत्र रहेकाले निषेधित क्षेत्र तोक्नुपरेको जिल्ला प्रशासनको भनाइ छ। तर निषेधित क्षेत्र नहटाउँदा सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै विरोध भैरहेको छ।