नेदरल्यान्ड्सले दियो नेपाललाई १ सय ३७ रनको सामान्य लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो। नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए। उनले ४९ बलमा १ चौका प्रहार गरे। त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए।

नोआ क्रोएसले १२ रन बनाउँदा कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे। म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए। नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। सोमपाल कामीले तेस्रो बलमा माइकल लेभिटलाई शून्य रनमा आउट गर्दै नेपालले राम्रो सुरुवात दिलाए।

छैटौँ ओभरमा म्याक्स ओ’डाओड १० रन बनाएर रन आउट भए। साइब्रान्ड र बास डे लिडेले पाली सम्हाल्ने प्रयास गर्दै गर्दा १६ औँ ओभरमा साइब्रान्ड ललित राजवंशीको शिकार बने। लगतै लिडेलाई पनि उनले आफ्नो दोस्रो शिकार बनाए।

२६ औँ ओभरमा नोआ क्रोएस १२ रन बनाएर रनआउट हुन पुगे। लगत्तै शून्य रन बनाएका वेस्ले बरेसी भुर्तेल बलमा आउट भए । शरिज अहमद पनि लामो समय टिक्न सकेनन्। उनी कप्तान रोहित पौडेलको बलमा १ रन बनाएर आउट भए।

आठौँ विकेटका रुपमा आर्यन दत्त १ सय २२ को स्कोरमा आउट भए। लगत्तै कप्तान एडवर्ड पनि ३३ रन बनाएर भुर्तेलको शिकार बने। भिभियन किंग्मालाई भुर्तेलले आफ्नो चौथो शिकार बनाए।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३।१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।