सरकार ! विदेश पठाउने नाममा सर्वसाधारणलाई दुःख दिने र लुटतन्त्र मच्चाउने म्यानपावर र कन्सल्टेन्सीलाई कहिले कारबाही गर्ने ?
अनुसा थापा
पछिल्लो समय नेपाल बेरोजगारप्रधान देश बन्दै गएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ। देशमा रोजगारी नहुँदा विदेश पलायन हुनेको संख्या निरन्तर उकालो लागिरहेको छ। बेरोजगारहरु बाध्य भएर खाडी जान लागेका छन्। यहाँ काम नपाएपछि र काम भएकाले पनि तलब नपाएपछि उनीहरुले म्यानपावरको खोजी गर्न थालेका छन्।
यता, माध्यमिक शिक्षा पूरा गरेकाहरुलाई विदेश जाने रहर लागेको छ। उनीहरु लाखौं रुपैयाँ खर्चिएर अमेरिका, अष्ट्रेलिया, युरोप, क्यानडा पुगिरहेका छन्। जापान र दक्षिण कोरिया पनि नेपालीको प्रमुख गन्तव्य बनेको छ। आर्थिक अवस्था कमजोर भएकालाई विदेश जानु रहर नभई बाध्यता हो।
तर, म्यानपावरहरुले दुःख दिने क्रम जारी छ । राम्रो देश पठाउनका लागि खुलेका कन्सल्टेन्सीबाट पनि धेरै पीडित भएका छन् । म्यानपावर र कन्सल्टेन्सीले पैसा लिएर विदेश नपठाएको गुनासो पछिल्लो समय व्यापक सुनिन थालेको छ । पहिले नै पैसा लिने अनि चलाउने, पठाउँछु भनेर वर्षौंसम्म पनि विदेश नपठाउने।
विदेश जानका लागि कतिपयले मँहगो व्याजमा कर्जा लिएका हुन्छन् । उनीहरुले उता व्याज तिर्नुपरेको छ, तर म्यानपावर र कन्सल्टेन्सीले विदेश पठाउँदैन्। वर्षौं निःब्याजी रुपमा पैसा चलाएपछि म्यानपावर र कन्सल्टेन्सी सञ्चालकले विदेश पठाउन सकिनँ भनेर पैसा फिर्ता दिएको उदाहरण पनि छन् ।
एउटा राम्रो देश जानका लागि आठ लाखदेखि ३० लाखसम्म खर्चिनुपर्छ । आधा पैसा सुरुमै कन्सल्टेन्सीलाई बुझाउनुपर्ने हुन्छ । सरकारले खाडी जानेलाई ‘फ्री टिकट र फ्री भिसा’ को व्यवस्था गरेको छ । तर, यो कार्यान्वयनमा आउन सकेको छैन् । खाडी जानका लागि कामदारले लाखौं रुपैयाँ खर्चिएका छन् ।
देश हेरेर तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म लिइन्छ । पासपोर्ट लिने बेलामा चाँहि १५ दिनदेखि एक महिनाभित्र उडाउँछु भन्छन् तर वर्षदिनसम्म पनि उड्न पाइँदैन् । म्यानपावरहरुले झुल्याएर राखिदिन्छन् । विदेशिएर आफ्नो परिवार पाल्छु, केही गर्छु भन्नेहरुको सपनामा कालो बादल मडारिएको छ ।
उता व्याज तिर्दातिर्दै हत्तु भइ सकिन्छ यता विदेश जाने कहिले हो टुंगो हुँदैन् । देशमा आर्थिक मन्दी देखिएको छ । व्यापार व्यवसाय ठप्प भइसकेका छन् । निजी संघसंस्थामा काम गर्नेहरुको रोजगारी गुमेको छ । अहिले दिनहुँ झण्डै दुई हजार नेपालीले नेपाल छोडिरहेका छन् ।
यहाँ काम नपाएपछि विदेश जानैपर्ने अवस्था सिर्जना भएको छ । नेपालमै केही गर्छु भन्नेहरुले पनि विदेश जाने सुर कसेका छन् । जसको फाइदा म्यानपावर र कन्सल्टेन्सीलाई भएको छ । विदेश पठाउने नाममा दुःख दिने काम भइरहेको छ । यद्यपि, सरोकारवाला निकाय टुलुटुलु रमिता हेरेर बसेका छन् ।
सरकार रोजगारी पनि दिन नसक्ने अनि विदेश जानेलाई सहजीकरण पनि गर्न नसक्ने । म्यानपावर र कन्सल्टेन्सीमा व्यापक बेतिथि देखिएको छ, श्रममन्त्री शरतसिंह भण्डारी र सचिव केशव भण्डारी के हेरेर बसेका छन् ? वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे किन म्यानपावर र कन्सल्टेन्सीको अनुगमन गर्दैनन् ?
विदेश पठाउने दलालहरुको केही समययता समाजमा बिगबिगी छ । तर, सरकार के हेरेर बसेको छ ? कम नपाएर तनावमा परेकाहरुलाई थप पीडित बनाइँदै छ । यसले सरोकारवाला निकायका पदाधिकारीहरुको म्यानपावर र कन्सल्टेन्सीहरुसँग आर्थिक हिमचिम रहेको संकेत गरेको छ ।
देशमा सरकारले रोजगारीको व्यवस्था गर्न सकेको भए, आम सर्वसाधारण किन विदेश जान्थें ? सरकारले रोजगारी दिन नसकेपछि विदेश जानेको लहर लागेको हो । विदेश जानका लागि अधिकांंशले ऋण लिएका छन् । तर, श्रममन्त्री भण्डारी यो देख्दैनन् । उनीहरु सहज वातावरण सिर्जना गर्नुको साटो म्यानपावर र कन्सल्टेन्सीको पक्षमा निर्णय गर्छन् ।
मन्त्री भण्डारीले विदेश जानेले तिर्नुपर्ने शुल्कहरु दोब्बर बनाउने प्रस्ताव अघि सारेका छन् जुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोकेर राखेका छन् । श्रमिकलाई मर्का पार्न र दुःख दिन मन्त्री नै लागेका छन् । म्यानपावरको पक्षमा निर्णय गर्नुपछाडि उनको पनि स्वार्थ जोडिएको होला ।
म्यानपावरहरु यतिसम्म ‘फटाहा’ भए कि बयान गरिसाध्य छैन् । एउटा काम भनेर यहाँबाट पठाउने तर उता अर्कै काम लगाउने । तलब पनि यति भनेर तोकेर पठाएको हुन्छ तर निकै न्यून तलब पाउँछन् । धेरै नेपालीको विदेशमा बिल्लीबाठ भएको छ । एउटै कोठामा थुनेर राखिएको छ ।
खान पाएका छैनन् । नेपाल फर्काइदिन उनीहरुले हारगुहार गरिरहेका छन् । म्यानपावरहरु पैसा कमाउनतर्फ मात्र लाग्दा नेपालीहरु विदेशमा ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेका छन् । विदेश पठाउनुअगाडि म्यानपावरहरुले त्यहाँको भाषा, काम, कानुनबारे कामदारलाई अभिमुखीकरण गराउनुपर्छ ।
यद्यपि, म्यानपावरहरुले यत्तिकै पठाइदिन्छन् । त्यहाँको भाषा नबुझ्दा नेपालीहरु फसेको धेरै घटना छ । बिना गल्ती नेपाली जेलजीवन काट्न बाध्य छन् । यता, तिनको परिवारको बिजोग हुन्छ । १८ वर्ष कटेपछि विदेश जान पाइन्छ । पुरुष मात्रै होइन्, विदेश जाने महिलाको संख्या पनि ह्वात्तै बढेको छ ।
विदेश गएका अधिकांश महिला यौन शोषणमा परिरहेका छन् । यहाँबाट कम्पनीको काम भनेर पठाइएका उनीहरु घरेलु कामदारका रुपमा काम गर्न बाध्य हुन्छन् । त्यही घरको साहुले उनीहरुलाई यौन शोषण गर्छन् । पछिल्लो समय गर्भ बोकेर आउने महिलाको संख्या बढेको छ ।
विदेश महिलाको लागि असुरक्षित बन्दै गएको छ । म्यानपावरहरुको कारण नेपाली दिदीबहिनी त्यस्तो दलदलमा फसेका छन् । महिलाको जिन्दगी तहसनहस बनेको छ । नेपाल सरकारले आमाको नामबाट पनि नागरिकता बनाउन मिल्ने व्यवस्था गरेको छ । बाबु नभएपनि आमाले आफ्नो सन्तानलाई नागरिकता दिलाउन सक्छन् ।
तर, समाजले त्यस्ता आमालाई स्वीकार्दैनन् । बुढापाकाले भन्छन्,‘बलेको आगो सबैले ताप्छन्, निभेको कसले ताप्छ ?’ विदेश गएर कमाएर ल्यायो भने परिवारले माया गर्छन् । अघि र पछि लाग्छन् । कुनै महिलाले गर्भ बोकेर आयो भने परिवारले पनि हेर्दैन्, समाजले पनि बाँच्न दिँदैन् ।
जोकोही पनि परिवारको सहमतिमा विदेश गएको हुन्छ । परिवारले कमाएर ल्याउँछ भनेर त विदेश पठाएको हो । सरकारले पनि विदेश जान श्रमस्वीकृति दिएको हो । उसले कमाउन सकेन्, गर्भ बोकेर आयो भनेर अपहेलना गर्न मिल्दैन् । त्यसको जिम्मा त राज्यले पनि लिनुपर्यो ।
केही महिनाअघिको घटना हो, विदेशबाट आएकी एउटा युवतीले विमानमै बच्चा जन्माएर ‘कमोड’ मा फ्याकिदिइन् । बच्चाको ज्यान गयो । तर, त्यो बच्चाको त कुनै दोष थिएन् । नेपाली भएर म्यानपावर ‘दलाल’ हरुले नेपालीकै बिचल्ली बनाइरहेका छन् । पैसा कमाउनका लागि मान्छे यतिसम्म गिर्नु हुँदैन् ।
विदेश पठाउने नाममा खुलेआम ठगीधन्दा भइरहेको तर सरकारले देख्दैन् । पढे–नपढेका सबैले ‘नेपालमा केही छैन्, यहाँ बसेर केही हुँदैन्’ भन्न थालेका छन् । म्यानपावर र कन्सल्टेन्सीले गाउँदेखि शहरसम्म यो छाप छोडेको छ । पहिलेपहिले यसरी विदेश जाने चलन थिएन् ।
तैपनि चलिरहेको थियो । तर, अहिले त जोकोही विदेश जाने । नेपालमा पढेर के गर्ने ? यहाँ लगानीको वातावरण छैन् भन्दै भ्रम फैलाइयो । अहिले हरेक घरका सदस्य विदेश पुगेका छन् । नागरिकता बनाउनेबित्तिकै राहदानी बनाउने अनि म्यानपावर र कन्सल्टेन्सी दौडिने । देशमै केही गर्नुपर्छ भन्ने सोच कसैमा पनि छैन् ।
पढ्न जाने नाममा नेपाली विद्यार्थीहरुले अर्बौं रुपैयाँ विदेश लगेका छन् । तर, देशले उनीहरुबाट केही पाएको छैन्, उल्टै गुमाएको छ । राम्रो देश पुगेकाहरु फर्किएर आउँदैनन् । यहाँ भएको सम्पत्ति पनि बेचेर लैजान्छन् । देशलाई आवश्यक पर्ने युवा जनशक्ति सबै विदेशमा अनि देश कसरी बन्छ ?
नेपालमै कुनै व्यवसाय गर्छु भन्यो भने वित्तिय संस्थाले ऋण दिँदैन् । विदेश जान्छु भन्नेबित्तिकै व्यक्तिले पनि ऋण दिन्छ, वित्तिय संस्थाले पनि । यसले त गलत छाप परेको छ । अबको केही वर्षमै नेपाल खाली हुन्छ । गाउँ रित्तिसकेको छ अब शहरको पालो । राज्यले नेपालीलाई नेपालमै रोक्ने नीति ल्याउनुपर्यो । राज्य रेमिट्यान्सको लोभमा फसेको छ म्यानपावर र कन्सल्टेन्सीलाई पैसा कमाउनुपरेको छ ।