मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुङ्गिन्छ: प्रधानमन्त्री प्रचण्ड

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन्।

मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए। अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो।

उनको विषयमा अब के हुने भन्नेबारे अन्यौलता रहेकै बेला प्रधानमन्त्रीले आजै यो विषय टुङ्गो लगाउने बताएका हुन्।

बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन्। तर, हालसम्म न उनको राजीनामा आएको छ न त प्रधानमन्त्रीले नै बर्खास्त गरेका छन्।