क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ २ विकेटले विजयी

काठमाडौं। क्यानडा-११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ।

मुलपानी क्रिकेट मैदानमा क्यानडा-११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतक प्रहार गरे।

तल्लोक्रममा राशीद खानसँग महत्त्वपूर्ण साझेदारी गरेका उनले विजयी रन प्रहार गरेका थिए। बसिरले ७३ बलमा ५२ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे।

नेपालको जितसँगै ३ खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ। पहिलो खेलमा क्यानडा-११ ले ४ विकेटको जित दर्ता गरेको थियो । अन्तिम तथा निर्णायक खेल विहीबार मुलपानी मैदानमै हुनेछ।

नेपालले इनिङको पहिलो बलमा मयन यादवलाई गुमाएको थियो। नेपालमा पहिलो खेल खेलिरहेका अमर खालिदले उनलाई एलबीडब्लू धरापमा पारेका थिए।

तेस्रो ओभरमा शेर मल्ल पनि आउट भए। उनी ११ बलमा १ चौकासहित ७ रन जोड्दै खालिदकै बलमा कट बिहाइन्ड भए। त्यसबेला नेपाल १३-२ को स्थितिमा थियो।

त्यसपछि कप्तान सन्दीप जोरा र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए। अर्जुन २५ औं ओभरको पाँचौ बलमा क्याच आउट भएपछि साझेदारी तोडियो। उनले ६४ बलमा ३ चौकासहित ४० रन जोडे।

अर्जुन आउट भएको २ बलपछि नै सन्दीप पनि पेभेलियन फर्किए। साद बिन जफरको बलमा अम्पायर कट बिहाइन्ड आउट दिएपछि उनी असन्तुष्ट व्यक्त गर्दै बाहिरिएका थिए। ७४ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गरे । उनि आउट हुँदा नेपाल ११७(४ को स्थितिमा पुग्यो।

किरण ठगुन्ना १७ बलमा १३ रन जोड्दै हर्ष ठाकरको बलमा बोल्ड भए । त्यसपछि छैटौं विकेटका लागि राशीद खान र बसिर अहमदले ७७ रनको साझेदारी निर्माण गरे।

राशीद ४६ औं ओभरमा आउट हुँदै लगातार दोस्रो खेलमा अर्धशतक बनाउनबाट चुके। साहिद अहमदजाईको बलमा क्याच आउट हुनुअघि उनले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए। यसअघि पहिलो खेलमा उनले ४० रन बनाएका थिए।

अर्को ओभरमा चोट बोकेका विवेक यादव १ रनमै आउट भए। त्यसको २ बलपछि साहब आलम पनि गोल्डेन डक आउट हुँदा नेपाल संकटमा परेको थियो।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा(११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो। राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो।

श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे। ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए।

मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे। नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २९२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए।

पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए। उनी सागर ढकालको एलबीडब्लु धरापमा परे।

जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे। १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए।

विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए। सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन्। उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे। उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए।

हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए। त्यसबेला क्यानडा १०४.४ को स्थितिमा थियो। पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे। धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके।

कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने। निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए।

नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए। नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरे।

नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गर्दा विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका थिए।